होटल सांग्रिलामा आगलागी

काठमाडौं : लाजिम्पाटस्थित होटल सांग्रिलामा लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको छ । होटलस्थित सांग्रिला क्यासिनोमा रहेको ‘पावर रुम’मा विद्युत् सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो सवा चार बजे आगो लागेको हो । आगो फैलिनासाथ होटलका कर्मचारीले सुरक्षाकर्मीलाई खबर गरेका थिए । नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र होटल कर्मचारी खटिएका थिए । घटनास्थलमा सुरक्षाकर्मी चाँडो पुगेकाले आगो अन्यत्र फैलन सकेन ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले आगो निभाउन सुरु गरेको थियो । आगो फैलिँदै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी जीवन श्रेष्ठले बताए ।
क्यासिनोमा रहेका एक सय ३८ जना पर्यटकलाई सामानसहित सुरक्षित स्थानमा लगिएको उनले बताए । मानवीय क्षति नभए पनि आगलागीबाट क्यासिनोमा कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उनले बताए ।
आगलागी भएपछि होटल आसपासका क्षेत्रमा तनाव भएको थियो । आगो नियन्त्रणमा लिन जुद्ध वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेनाको दमकल परिचालन गरिएको थियो । आगलागी भएका समयमा लाजिम्पाट आसपासको आकाश कालो धुवाँको मुस्लोले भरिएको थियो । (सौस)

प्रतिक्रिया