कमलरी आवाजप्रति किन उपेक्षा

केही शताब्दीअघि फ्रान्समा एकजना बहुचर्चित अराजकतावादी नेता थिए, जसको नाम थियो वेलियाँ । उनी भन्ने गर्थे– नसुन्नेहरू अथवा नसुनेको अभिनय गर्नेहरूलाई आफ्ना कुरा सुनाउनुपर्‍यो भने निकै ठूलो विस्फोट गर्नुपर्ने आवश्यकता पर्छ । लाग्छ, अचेल नवलोकतान्त्रिक गणतन्त्र नेपालमा वेलियाँले भनेझैँ अवस्था व्याप्त छ । अर्थात्, यहाँ सत्ता र निर्णायक तहमा बसेकाहरू नसुनेको अभिनय निरन्तर गरिरहेछन्, अनि उनीहरूलाई ‘आफ्ना कुरा’ सुनाउन सरोकारवालाहरूले विरोध, बन्द, जुलस र धर्नाको भाषामा ‘विस्फोट’ गर्नुपर्ने भइरहेको छ । सत्ताको निर्णायक तहमा रहेकाहरू अनुरोध, सहमति, सहकार्य र शान्तिको भाषा त सुन्न र बुझ्नै रुचाउँदैनन् ।
प्रसंग मुक्त भएका पूर्वकमलरीहरूले हाल जारी राखेको आन्दोलनको हो । दाङसमेत तराईका जिल्लाहरूमा स्थानीय प्रशासन कार्यालयअगाडि र राजधानी काठमाडौं केन्द्रित गरी पूर्वकमलरीहरू केही सातादेखि आन्दोलनरत छन् । दाङको देउखुरी लालमटियाकी १२ वर्षीया कमलरी सिर्जना चौधरीको हत्या भएको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर चैत तेस्रो सातादेखि पूर्वकमलरी यसरी आन्दोलनमा सक्रिय भएका हुन् । सिर्जनाको कमलरी बसेकै घर ललितपुरमा चैत १४ गते आगोमा जलेर रहस्यपूर्ण परिस्थितिमा मृत्यु भएको थियो । यो खबर सार्वजनिक भएलगत्तै पूर्वकमलरीहरूमा विरोधको राँको सल्किएको थियो जसलाई ‘कमलरी प्रथा उन्मूलन संघर्ष समिति’ले संयोजन र व्यवस्थापन गरिरहेको छ । कुरा यत्तिमै सीमित रहेन । केही दिनपहिलेदेखि रत्नपार्क शान्तिवाटिकामा धर्ना बस्दै आएका पूर्वकमलरीहरू विरोधकै क्रममा अनामनगर हनुमानथानअगाडि पुगेर धर्ना र नाराबाजी गर्दै रहेका बेला पुरुष प्रहरीले अचानक विनाचेतावनी उनीहरूमाथि लाठीचार्ज गर्नुका साथै व्यापक धरपकड गर्‍यो । दमन गर्ने क्रममा प्रहरीले प्रदर्शनकारी पूर्वकमलरीका संवेदनशील अंग समात्ने वा ती अंगमा पनि प्रहार गर्ने अमानवीय व्यवहार गरेको प्रदर्शनकारीको आरोप छ । यसैगरी, दाङमा पनि सोमबार प्रहरीले प्रदर्शनकारी पूर्वकमलरीमाथि दमन र धरपकडकै नीति अख्तियार गर्‍यो । आखिर किन यस्तो भइरहेको हो ?
आफ्ना मागको सुनुवाइ हुनुको साटो प्रहरी दमन र धरपकड गरिएको विरोधमा मंगलबार पूर्वकमलरीहरूले दाङ, बाँके, बर्दियालगायत तराईका २२ जिल्लामा बन्द आह्वान गरे । बन्द सफल बनाउन पूर्वकमलरी र समर्थकहरू बिहानैदेखि मूलसडकमा निस्किएर नाराबाजीसहित प्रदर्शन गरेका थिए । बन्दका कारण तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित पनि भयो । पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गहरूमा सवारी आवागमन पूर्णरूपमा ठप्प रह्यो भने शिक्षणसंस्था, कलकारखाना र बजार पनि बन्द नै रहे । राजधानीमा केही स्थानमा जुलुस निकाल्नुका अतिरिक्त आन्दोलनकारी पूर्वकमलरीहरू फेरि रत्नपार्क शान्तिवाटिकामा धर्ना बसेर आफ्नो आन्दोलन अगाडि बढाउँदै छन् । आखिर आन्दोलनकारी पूर्वकमलरीहरूको माग के नै पो छ र ? उनीहरूले उठाएकामध्ये क्रमश: ललितपुरमा जलेर मरेको भनिएकी सिर्जना चौधरीको मृत्युसम्बन्धमा यथार्थ छानबिन र दोषीमाथि कारबाही, कमलरी प्रथाको अन्त्य, कमलरी राख्नेमाथि कारबाही, पूर्वकमलरीको उचित व्यवस्थापन र सुरक्षा, बेपत्ता कमलरीको खोजी, मुक्त कमलरी छात्रवृत्तिमा वृद्धि, कमलरीमाथि भइरहेका यौनशोषणको छानबिन आदि प्रमुख माग देखिएका छन् । राज्यले हेर्न नसक्ने वा सम्बोधन गर्न नसक्ने माग यी होइनन् । स्पष्टत: काठमाडौं र दाङमा शान्तिपूर्ण धर्नामा बसेका पूर्वकमलरीमाथि प्रहरीले दमन गरेको विरोधमै उनीहरू थप आक्रोशित भएर आमहडतालमा उत्रिएका हुन् । राज्यले सहानुभूति र दायित्वबोधका साथ यी मागलाई सम्बोधन गर्नुको साटो प्रहरी खटाई दमन र धरपकड गर्नु कुनै लोकतन्त्र होइन, बरु तानाशाही र असहिष्णुताको द्योतक हो । त्यसै पनि, विभिन्न माग राखी तिनको प्राप्तिका लागि शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अन्य आमनागरिकजस्तै पूर्वकमलरीको पनि मौलिक अधिकार हो जसलाई कसैले संकुचित वा हनन गर्न पाउँदैन । समाजका सुकिला अगुवा भनाउनेहरू अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । यसको अर्थ सरकार र राज्य कान भएर पनि नसुन्ने तर केवल विस्फोट मात्र सुन्ने व्यक्ति नबनोस् । एउटा विस्फोटले अरू धेरै विस्फोट निम्त्याउन सक्छ भन्ने हेक्का सबैले राख्नु बेस हुन्छ ।

प्रतिक्रिया