जीर्ण विद्यालयलाई कोरियाबाट सहयोग

काठमाडौं, २२ जेठ । काभ्रेको महादेवटार गाविसस्थित जोगेश्वर माविको जीर्ण विद्यालय भवनको पुनर्निर्माणका लागि कोरियामा रहेका काभ्रेलीले सहयोग गरेका छन् ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले उक्त विद्यालयको भवन निर्माण लागि सहयोगस्वरूप ५१ हजार रुपियाा प्रदान गरेको हो । उक्त रकम सम्पर्क समितिका तर्फबाट जापानका लागि पूर्वराजदूत गणेश योञ्जनले हालै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंखलाल तामाङलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल तामाङ कलाकार संघ र मोन्दोला फोलेको पहलमा सम्पर्क समितिले सहयोग रकम उपलब्ध गराएको विद्यालय व्यवस्थापनले जनाएको छ । बौद्धमा आयोजित कार्यक्रममा पूर्वराजदूत योञ्जनले ५१ हजार, हङकङमा रहेकी सरस्वती लामाले ८३ हजार, नेपालजित लामाले ५१ हजार, दुबई तामाङ समाजले १ लाख, समाजसेवी कुन्साङ लामाले ५१ हजार सहयोग गरिसकेको र जीर्ण विद्यालयलाई सहयोग गर्ने क्रम जारी रहेको संघका अध्यक्ष चन्द्रकुमार लामाले जानकारी दिए ।

प्रतिक्रिया