डनहरूलाई म्यादपुर्जी बुझाउन सकिएन

Don-Fiveकाठमाडौ, २२ जेठ । ठेक्कापट्टाको कमिसनदेखि व्यापारीलाई धम्क्याएर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चर्तित पाँच डनविरुद्ध मुद्दा चलाएको मंगलबार १७ दिन बितेको छ । तैपनि, अदालतले उनीहरूलाई अझै म्यादपुर्जी बुझाउन सकेको छैन ।

जिल्ला अदालतका तमिलदारले पाँच जना डनको घर पत्ता लगाउन नसकेका कारण म्यादपुर्जी बुझाउन सकेका छैनन् । सम्पत्ति शुद्धीकरण विभागले मुद्दा चलाउँदा डनहरूको स्थायी र अस्थायी घर ठेगाना बताए पनि उनीहरू फेला पर्न नसकेका कारण म्यादपुर्जी बुझाउन नसकेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । व्यापारी अपहरण गरी उनीहरूबाट लिएको फिरौती रकम, ठेक्कापट्टाबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको जिकिर गर्दै गत ५ जेठमा विभागले डन गणेश लामा र उनकी पत्नी लक्ष्मी, राजीव गुरुङ उर्फ दीपक मनाङे र उनकी पत्नी पासाङ, चक्रे मिलन र उनकी पत्नी इन्द्रा, कृष्ण बस्नेत उर्फ पर्शुराम बस्नेत र उनकी पत्नी अञ्जु, तथा अभिषेक गिरी र उनकी पत्नी अनिषाविरुद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दा चलाउँदा प्रहरीले डनलाई पक्राउ गर्न नसकी फरारी मुद्दा चलाएको थियो । ‘प्रहरीले फेला पार्न नसकेको डनलाई हामीले कसरी सजिलै फेला पार्नु,’ जिल्ला अदालतका तहसिलदार कृष्ण गिरीले भने, ‘मुद्दा चलाउँदा उल्लेख गरेका स्थानमा हामी पुग्यौँ । तर, उनीहरू कोही भेटिएनन् ।’ मुद्दा चलाउँदा अभियोगपत्रसँगै अभियोगीलाई अदालतमा उपस्थित गराउनुपर्ने कानुनी प्रावधान भए पनि प्रहरी डराएका कारण डनहरू पक्राउ हुन सकेका थिएनन् । खुलेआम राजनीतिक दलका कार्यक्रममा हिँडेका पाँच डनलाई नदेख्ने प्रहरीले फरारी मुद्दा चलाएपछि अदालत अप्ठ्यारोमा परेको छ ।
मुद्दा चलाउँदा उनीहरू बस्ने भनिएको सबै स्थानमा म्यादपुर्जी बुझाउन अदालतका कर्मचारी पुगे पनि फेला पर्न सकेनन् । मुद्दामा उल्लेख गरिएको ठेगानासमेत गलत भएका कारण म्यादपुर्जी बुझाउन गाह्रो भएको गिरीले बताए । २७ करोड अवैध सम्पत्ति जम्मा गरेको अभियोग लागेका गणेश लामालाई म्यादपुर्जी बुझाउन तहसिलदार चूडामणि मिश्र पुगेका थिए । तर, मुद्दाको उल्लेख गरेको घर अरू व्यक्तिको भएपछि उनी त्यसै फर्केको बताए । मुद्दामा उनको स्थायी ठेगाना काभ्रे र हाल काठमाडौं महानगरपालिका–३५ मा बसोवास गर्ने उल्लेख गरिएको थियो । त्यसैगरी, अदालतका तहसिलदार दीपक मनाङेको काठमाडौं महानगरपालिका–१६ मा पनि पुगेका थिए । तैपनि, उनी फेला परेनन् ।

प्रतिक्रिया