भाडाका गुन्डा खोजेर छोरीको हत्या

hatya 4राजविराज, २१ जेठ । सप्तरीको बथनाहा–७ निवासी चन्द्रेश्वर राउतले भाडाका गुन्डा लगाएर आफ्नै १७ वर्षीया छोरी रूबीको हत्या गरेको खुलेको छ । उनले गुन्डालाई १० हजार दिएर छोरीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
रूबीको हत्या भएपछि प्रहरीले बाबु राउतलाई गिरफ्तार गरेको थियो । त्यसको १० दिनपछि प्रहरीले राउतले नै छोरीको हत्या गरेको जनाएको हो । छोरीको हत्या गर्न कोइलाडी वरसाइन निवासी मोहन साहुलाई १० हजार दिएका थिए ।
राउतले छोरी रूबीलाई भारत विहारको दरभंगास्थित फुपूको घरबाट सप्तरीको रम्पुरा मल्हनियास्थित मामाघर ल्याएर दुई दिन राखेका थिए । त्यसको दुई दिनपछि अपरिचितको साथ लगाएर उनले छोरीलाई घर पठाएका थिए । मामा घरबाट हिँडेको केही घन्टापछि नै रूबीको घाँटी रेटी हत्या गरेको थियो ।
हत्यापछि रूबीलाई कोइलाडी–९ स्थित नहरछेउ ल्याएर आगोले जलाएर फालेको प्रहरीले जनाएको छ । शरीरको अधिकांश भाग जलेको अवस्थामा गत ८ जेठमा फेला परेको थियो । छोरी तल्लो जातको केटासँग भागेपछि आफूले हत्या गर्न लगाएको राउतले प्रहरीलाई बयान दिएका छन् । स्थानीय बजरंगी निमाविमा कक्षा आठमा अध्ययनरत रूबी गत चैतमा छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसँग भागेकी थिइन् ।
बाबुले नै हत्या गरेको शंकाका प्रहरीले रावतलाई पक्राउ गरेको थियो । त्यसको लगत्तै घटनामा संलग्न भएको आरोपमा प्रहरीले वरसाइनका मोहन साहलाई समेत पक्राउ गरेको छ । त्यस्तै, अर्का एक आरोपी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया