रेग्मी चुनाव गराएर अदालत फर्कन्छन् : पौडेल

Ramchandra-Poudelदेउखुरी/प्यूठान, २१ जेठ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी संविधानसभा चुनाव गराएर अदालत फर्कने बताएका छन् । पार्टी सभापति सुशील कोइरालाले अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताइरहेको बेला उपसभापति पौडेलले भने रेग्मी अदालत नै फर्कने अभिव्यक्ति दिएका हुन् ।
‘संविधानसभा चुनाव गराउँछन् अनि रेग्मी सर्वाेच्च अदालतमा फर्कन्छन्,’ पौडेलले भने, ‘यसमा कुनै दुविधा छैन् ।’ रेग्मीको राजीनाका विषयमा पार्टी सभापति कोइरालाले उठाएको विषय सामान्य जिज्ञासा मात्र रहेको उनले जिकिर गरे । सबै राजनीतिक दल चुनावका लागि एकै थलोमा आउँछन् भने रेग्मीले एउटा पद छाडे के हुन्छ भनेर कोइरालाले सामान्य जिज्ञासा मात्र राखेको उनले बताए । ‘यस विषयमा बालुवाटारमा कुरा उठ्यो । अध्यक्षलाई मैले पनि सोधेँ उहाँले सामान्य जिज्ञासा मात्र राखेको बताउनुभयो,’ उनले भने, ‘त्यस विषयलाई मिडियाले बढाइचढाइ गरे ।’
भालुवाङमा कांग्रेस दाङ क्षेत्र नम्बर २ ले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रेग्मीले चुनाव गराउने र त्यसपछि स्वत: अदालत फर्किने दाबी गरेका हुन् । उनले चुनावको विकल्प नभएको दोहोर्‍याउँदै रेग्मी नेतृत्वको मन्त्रिपरिषद्लाई दलहरूले सहयोग गर्नुपर्ने धारणा राखे । रेग्मी नेतृत्वमा सरकार गठन भए पनि त्यसको नेतृत्व दलहरूले नै गरिरहेको उनले दाबी गरे । ‘रेग्मीलाई हामीले मन्त्रिपरिषद् अध्यक्ष बनाएका हौँ,’ उनले भने, ‘चुनावका लागि रेग्मी नेतृत्वको सरकारलाई हामीले सहयोग गर्ने हो ।’
रेग्मीलाई चिढाउनु बुद्धिमानी नहुने उल्ल्ेख गर्दै उनले रेग्मी सरकार संविधानसभा चुनाव गराउन मात्र गठन भएको स्पष्ट पारे । उनले मंसिर पहिलो साता संविधानसभा चुनाव र चैत्र महिनाभित्र स्थानीय चुनाव हुने बताए । ‘हामीले मंसिर पहिलो साता संविधानसभा चुनाव गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘संविधानसभा चुनावपछि चैतमा स्थानीय निकायको चुनाव हुन्छ ।’ उनले चारदलीय संयन्त्रका कारण देशले निकास पाउँदै गएको दाबी गर्दै यही संयन्त्रले नै सफल रूपमा चुनाव गराउने जिकिर पनि गरे ।
उनले चुनाव कांग्रेसले तालमेल गरी जाने सम्भावना कम रहेको बताए । ‘तालमेलका विषयमा अझै केही भएको छैन्,’ उनले भने, ‘कांग्रेस एक्लै चुनावमा जान सक्षम छ ।’ चुनाव मुखमै आएको उल्लेख गर्दै उनले चुनावको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएका थिए ।
स्थानीयवासीले पौडेलसमक्ष विभिन्न मागसमेत गरेका छन् । लालमटीया–९ मा रहेको दोलई खोलामा पुल निर्माण, मुक्त कमैया समस्या समाधान, ऐरावती बहमुखी क्याम्पसको दिगो व्यवस्थापन, साइन क्याम्पसको स्थापना र सञ्चालन, भालुवाङमा दिगो र भरपर्दाे खानेपानीको व्यवस्थापन, द्वन्द्वकालमा भत्किएको गाविस कार्यालय भवन निर्माण, बसपार्क व्यवस्थापनलगायतका माग समेटिएको पत्र स्थानीयले पौडेललाई दिएका हुन् । राष्ट्रिय भूमि अधिकार मञ्चले मुक्त कमैया तथा भूमिहीनको समस्या समाधानका लागि आयोग गठनको माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।
यसैबीच, पौडेलले समस्या निकाल्न सक्ने कम्युनिष्टले समाधान दिन नसक्ने आरोपसमेत लगाएका छन् । ‘६२ प्रतिशत कम्युनिष्ट छौँ भनेर घमण्ड गर्ने कम्युनिष्टले समस्याको समाधान दिन नसक्दा देशले निकास पाउन सकेको छैन,’ उनले भने ।
कांग्रेस प्युठानले सोमबार स्वर्गद्धारी क्याम्पसमा गरेको सभालाई सम्बोधन गर्दै उनले जसरी पनि मंसिरमा चुनाव हुनुपर्ने धारणासमेत व्यक्त गरे । प्रधानन्यायाधीश नेतृत्वको सरकार चुनावको साक्षी मात्र भएको उल्लेख गर्दै चुनावको वातावरण राजनीतिक दलहरूले नै तयार गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचन ऐनको प्रसंगमा उनले एक प्रतिशत मतको थ्रेसहोल्ड लागु नहुँदा राष्ट्रियता र समावेशी खतरामा पर्ने जिकिर गरे ।

प्रतिक्रिया