आत्मालोचनामा टुंगियो एमाओवादी–कांग्रेस विवाद

दोलखा, २१ जेठ । कुटपिटको विषयमा एकीकृत माओवादी र कांग्रेस कार्यकर्ताबीच सदरमुकाम चरिकोटमा उत्पन्न विवाद आत्मा आलोचनालगायत पाँच बँुदे सहमति गर्दै टुंगिएको छ । सिडिओ कालीप्रसाद पराजुलीको पहलमा सोमबार भएको वार्तामा दुई पक्षबीच कुटपिटको विषयमा कुनै दुस्मनी नराख्नेलगायत सहमति भएको छ ।
दुवै दलका प्रतिनिधिबीच आइतबार भएको घटनाको विषयमा कहीँकतै उजुर नगर्ने, झडपमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, विवादको विषयमा प्रेस विज्ञप्तिमार्फत आरोपको आत्मा आलोचना गर्दै त्यसलाई फिर्ता लिने र आगामी दिनमा कुनै पनि गैरकानुनी कामलाई दुवै पक्षले संरक्षण नगर्ने सहमति भएको छ । वाइसिएल कार्यकर्ताले आफ्ना जिल्ला नेता सानु शेर्पालाई आइतबार प्रहरी भ्यानभित्रै कुटपिट गरेपछि त्यसको विरोधमा सोमबार तरुण दलले जिल्ला बन्द गराएको थियो ।
बन्दको कारण यातायात सञ्चालन हुन नसकी जनजीवन प्रभावित भएपछि नेपाल नागरिक समाज दोलखा, पत्रकार महासंघ, मानवअधिकारकर्मी र दोलखा उद्योग वाणिज्य संघले बन्द फिर्ता लिई आपसी सहमतिमा समस्याको निकास निकाल्न दुवै पक्षलाई आग्रह गरेका थिए ।
दुई दलबीचको सहमतिलगत्तै बन्द फिर्ता भएको थियो । सोमबार अपराह्न कांग्रेस भातृसंगठनले मौखिक सहमतिमै बन्द फिर्ताको घोषणा गरेका थिए ।  सहमतिलाई औपचारिकता दिन एमाओवादीका नेताहरू शंकर लामा, कुलबहादुर बुढाथोकी, गोपाल पाण्डे र रवीन्द्र कार्की तथा कांग्रेसबाट जिल्ला सभापति ताराबहादुर कोइराला, सचिव केशव चौलागार्इं, नेता ईश्वर मानन्धर, राजु उप्रेती, बाबुकाजी बस्नेत, तरुण दल अध्यक्ष जयराम श्रेष्ठ वार्तामा सहभागी थिए ।
दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमाल, दोलखाका प्रहरी प्रमुख प्रनाउ ओमप्रसाद अधिकारी र सशस्त्रका प्रहरी नायब उपरीक्षक गंगाराम श्रेष्ठको सहभागिता थियो ।
रामेछापको नामाडीबाट द्वन्द्वकालमा क्षति भएको डोजरको कबाडी सामानलाई आइतबार वाइसिएल कार्यकर्ताले चरिकोटमा रोकेर पैसा मागेपछि शेर्पा नेतृत्वको समूहसँग विवाद भएको थियो ।
विवादका क्रममा शेर्पाले वाइसिएल दोलखाका अध्यक्ष नवीन जिरेललाई हातपात गरेको आरोप वाइसिएल पक्षले लगाएको थियो । विवादपछि शेर्पालाई प्रहरीले भ्यानमा राखेर ल्याउँदै गर्दा एमाओवादी पार्टी कार्यालयअगाडि वाइसिएल कार्यकर्ताले भ्यान रोकेर उनीमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया