खोजखबर

पण्डित हुन गएको कम्युनिस्ट भएर फर्किएँ

सौर्य अनलाइन २०७० जेठ २१ गते ४:५० मा प्रकाशित

aनेपालमा राणाशासन थियो । त्यसविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्‍यो । म ००६ सालमा कम्युनिस्ट भएँ । त्यति बेला कम्युनिस्टको नीति सशस्त्र आन्दोलन थिएन । हतियार र तिनलाई चलाउने तालिम पनि त थिएन । पार्टीमा मान्छे थोरै भए पनि सबैतिर सम्पर्क भने थियो । कम्युनिस्टतिर जनताको समर्थन बढ्दै थियो ।
म बनारसमा थिएँ । पटना पुगेर कांग्रेसलाई भनेँ, ‘हामीलाई पनि आन्दोलनको मोर्चामा सहभागी गराउनुस् ।’ कांग्रेसका हर्ताकर्ता मातृकाप्रसाद कोइराला थिए । भने, ‘तपाईंहरू पनि कांग्रेसको झन्डामुनि बसेर राजनीति गर्ने भए हाम्रो मोर्चामा सहभागी गराउँछौँ । कम्युनिस्टकै झन्डा उचाल्ने हो भने त्यो गर्न सकिँदैन ।’ हामीले स्विकारेनौँ, आफ्नो अस्तित्व गुमाएर कांग्रेसको झन्डामुनि बस्न । फर्कियौँ ।
पटनाबाट रक्सौल आयौँ । वीरगन्जमा राणाविरोधी अभियान सुरु गर्‍यौँ । क्याम्प रक्सौलमा थियो, गोठजस्तो टहरो थियो एउटा । पुष्पलाल, तुलसीलाललगायत त्यहीँ थिए । इन्चार्ज तुलसीलाल । क्याम्पमै पकाउने/खाने गथ्र्यौं । भन्टाको तरकारी र भात खाँदै राणाविरुद्ध आन्दोलन गर्‍यौँ । तर, हामीले हेदाहेर्दै वीरगन्ज कांग्रेसको हातमा गयो ।
त्यहाँ असफल भएपछि मलाई काठमाडौं जान भनियो । म पहिले काठमाडौंमा विद्यार्थीको जयतु संस्कृतम् आन्दोलनमा सहभागी भइसकेको थिएँ । त्यही सम्पर्कका आधारमा राजधानीमा सम्पर्क विस्तार गर्ने निर्देशन मलाई थियो । तर, वीरगन्जबाट आफूखुसी काठमाडौं आउन नपाइने, सरकारी अनुमति चाहिने । अनुमति लिन जाँदा शंकास्पद व्यवहार देखाए । पक्राउ गर्लान् जस्तो लाग्यो । प्रहरीले थाहा नपाउने गरी बिस्तारै त्यहाँबाट निस्केँ अनि रिक्सा चढेर बनारस पुगेँ, पार्टी सम्पर्कमा ।
त्यहाँ त्यत्तिकै बस्नुपर्दा आफैँलाई कस्तो–कस्तो लाग्न थाल्यो । सोचेँ– ‘बरु पाल्पा पुगेर पार्टी अभियान विस्तार गनुपर्‍यो ।’ पाल्पाबाट मान्छे बोलाएँ । लालेजोकर नामका एक सहयागी मलाई लिन नौतनवा आए । उनैका साथमा पाल्पा आएर शान्तिपूर्ण आन्दोलन सुरु गरेँ । पाल्पा आउनुअघि डिल्लीरमण रेग्मीले भनेका थिए– ‘पाल्पामा निकै गाह्रो छ, तिमीले सक्दैनौँ । राणाहरूले मार्न वा जेल हाल्न सक्छन्, त्यसैले सोचविचार गर ।’ तर, मैले पछि नहट्ने अडान लिएपछि केही खर्च दिएर पाल्पा पठाए ।
सुरुमा कम्युनिस्ट पार्टीका तीनवटा कमिटी बनेका थिए– कोसी, गण्डक र कर्णाली । पाल्पा कर्णाली कमिटीमा पथ्र्यो । स्याङ्जादेखि यता गण्डक अनि पूर्वमा कोसी । म कर्णालीको इन्चार्ज थिए । पाल्पा आएको दुई दिनमै शान्तिपूर्ण जुलुस निकाल्यौँ । अघिल्लो साँझ बैठक बसेर तत्काल निर्णय गरिएको थियो । सुरुमा सत्र जनाको सहभागिता थियो, जुलुसमा । तेह्र पुरुष, चार महिला । जुलुस अगाडि बढ्दै जाँदा सहभागी थपिँदै गए । उति बेला पाल्पामा भाषण गर्न जान्ने कोही थिएनन् । मैले भारतमा नेहरूलगायत नेताको भाषण सुनेको थिएँ । बैठकहरूमा सहभागी हुँदा बोल्ने बानी परेको थियो । त्यसैले पाल्पाका सबै ठाउँमा मैले नै भाषण गरेँ उति बेला ।
पाल्पाका हाकिम रुद्रशमशेरलाई सत्तासीन राणाहरूले आफ्नो समूहबाट अलग गराए । दरबारबाट निकालिएका राणा थिए उनी । यही अन्यायका कारण उनी पनि विद्रोही बनेका थिए । त्यही मौकामा बिपी त्रिभुवनलाई पाल्पा लगेर राज्य गराउने पक्षमा थिए । तर, भारत त्रिभुवनलाई आफ्नो नियन्त्रणमा लिन चाहन्थ्यो । त्यसैले उतै लग्यो । भारतसँग त्रिभुवनले राष्ट्रहितविपरीतको सम्झौता गरे । हामीले त्यसको विरोध गर्‍यौँ । दिल्ली सम्झौता धोका हो भन्दै नारा लगायौँ, जुलुस निकाल्यौँ । राणाविरुद्ध आवाज बुलन्द पारिरह्यौँ ।
पाल्पामा दिनहुँ कफ्र्यु लाग्थ्यो । थुप्रै मान्छे गिरफ्तार भए, म पनि । मेरो गिरफ्तारीपछि जुलुसको संख्या बढ्दै गयो । मलाई सेनाको ब्यारेकमा पुर्‍याए । काठमाडौंमा राणाकोमा रिपोर्ट गएछ । मोहनशमशेरले भनेछन्– ‘तिनीहरूलाई केही नगरी घर पठाइदिनू ।’ सेनाले जाऊ भन्यो । तर, मैले मानिनँ । अड्डी कसेँ, ‘कफ्र्यु हटाएर अरूलाई पनि रिहा गर अनि मात्र जान्छु ।’ सेनाका अधिकृतले भने, ‘म पनि राजाको मान्छे हुँ, राणाको होइन । तपाईं पनि राजाको पक्षमा हो भने त्रिभुवनकी जय भन्नुस् ।’ मैले अहिले भन्न मिल्दैन भन्दै पन्छिएँ । त्यो पुसको महिना थियो । हामी नाराजुलुस गर्दै अगाडि बढिरह्यौँ ।
पुस १८ जस्तो लाग्छ, एकै दिन १९ स्थानमा भाषण गरेछु । जता पनि मलाई नै बोल्न लगाउँथे । रातिसम्मै चल्थ्यो राणाविरोधी भाषणको शृंखला । कफ्र्यु तोडेर अगाडि बढ्यौँ । रुद्रशमशेरका र काठमाडौँबाट गएका दुइटा सेना थिए । काठमाडौंबाट गएका सेनालाई ब्यारेकबाहिर ननिस्कन चेतावनी दियौँ । उनीहरूको हतियार ब्यारेकमा थन्किसकेको थियो । पछि रुद्रशमशेरको अधीनमा गयो । रुद्रशमशेरको दरबार हुँदै जुलुस अघि बढ्थ्यो । उनी बार्दलीमा निस्केर ‘जय नेपाल’ भन्दै हात हल्लाउँथे । हामी ‘लालसलाम’ भन्थ्यौँ । क्रमश: पाल्पामा कम्युनिस्ट पार्टी विस्तार हुँदै गयो ।
त्यहीबीच डिल्लीरमण रेग्मीले बनारसबाट मलाई लिन मान्छे पठाएछन् । त्यो मान्छेले नौतनवामा सुनेछ, ‘कमलराजलाई रुद्रशमशेरका छोराहरूले मारिदिए ।’ त्यो खबर भारतीय सञ्चारसंस्था पिटिआईलाई दिएछन् । त्यहाँका पत्रिकामा छ्यापछ्याप्ती भएछ– ‘कमलराज सहिद हो गया, नेपालमे कमलराजको मार दिया †’ मकहाँ पनि आइपुग्यो त्यो पत्रिका । पढेर विज्ञप्ति पठाएँ । पछि ‘कमल जिन्दा है’ भनेर खण्डन छापे ।
०७ सालको परिवर्तनपछि पाल्पामा गठित सरकारलाई कांग्रेसले कब्जा गर्‍यो । रुद्रशमशेर कांग्रेस थिए । पत्तै नदिई सरकार गठन गरेछन् । विरोधमा हामी उनको दरबार घेर्न गयौँ । विरोध चर्केपछि उनले माफी मागे– ‘तपाईंहरूले भनेको मान्छु, भन्नुस् के गरौँ ?’ हामीले भन्यौँ, ‘उपमुख्यमन्त्री पदसहित हाम्रा छ साथीलाई सरकारमा सहभागी गर्नुस् ।’ उनी मिलिटरी गभर्नर थिए । सरकारमा मलाई पनि सहभागी गराइयो तर बस्नै मन लागेन । त्योभन्दा किसानहरूलाई संगठित गराउनरित लाग्नु उचित लाग्यो । एक महिनामै छोडिदिएँ । धेरै किसानलाई संगठित गरेँ । त्यसैको परिणाम– पन्ध्र सालमा कम्युनिस्टले चार सिट जित्दा म पनि परेँ । मान्छेहरू त्यति बेला भन्न थालेका थिए, ‘चीनमा बोल्न पाइँदैन खान पाइन्छ । नेपालमा बोल्न पाइन्छ खान पाइँदैन ।’ यो उखानै बनेको थियो । सरकार त्यतिमै सीमित भयो, केही गर्न सकेन ।
त्यति बेला जताततै कांग्रेस व्याप्त थियो । हामीले जति गरे पनि नदेखिने । एक त हाम्रो पार्टी नयाँ थियो, अर्को कुरा नेताहरू आर्थिक रूपमा कमजोर । कांग्रेसमा धनीहरूको वर्चस्व थियो । भारतका नेहरूलगायत नेताको समर्थन उनीहरूलाई नै थियो । भारतीय कम्युनिस्ट हाम्रो समर्थनमा भए पनि सहयोग गर्ने पक्षमा थिएनन् । त्यसै बेला दोस्रो विश्वयुद्ध भयो । रूस, अमेरिकालगायत एकैतिर लागेकाले भारतीय कम्युनिस्टले अमेरिकाको विरोध गर्न सकेनन् । उनीहरूलाई ‘दलाल’ भनेर आरोप लगाइयो । त्यही मौकामा भारतीय कांग्रेसले कम्युनिस्टमाथि दमन गर्‍यो । कांग्रेसको हैकम बढ्यो ।
०८ सालमा मातृका सरकारले कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगायो । स्थानीय सरकारले मलाई पनि बेलाबखत दु:ख दिन्थ्यो । कर्णाली क्षेत्रमा पार्टी गठन गर्ने क्रममा हुम्लाको मान्छे भेट भयो । उनीहरूलाई राजनीतिक रूपमा प्रशिक्षण गराएको थिएँ । उनीहरूले हुम्लामा गएर जुलुस निकालेछन् । हुम्लाको काम पनि जुम्लाको प्रशासनले हेथ्र्यो । जुलुस देखेर बडाहाकिमलाई लागेछ– सत्ताकब्जा गर्न आए । सबैलाई पक्राउ गरेर सोधपुछ गरेछन् । उनीहरूले भनेछन्, ‘हाम्रो कम्युनिस्ट पार्टीको कर्णाली अञ्चलका नेता कमलराज रेग्मी हुन् । उनैले हामीलाई संगठित गराए ।’ सहभागीमध्ये धनबहादुर भन्नेको साथबाट मेरो ठेगाना भेटिएछ । जुम्लाको बडाहाकिमले पाल्पाको बडाहाकिमलाई मेरो चालचलन बुझ्न पत्राचार गरेछ । राजनीतिक रूपमा ऊसँग मेरो रिसइबी थियो । मौका यही हो भन्दै मलाई पक्रिएर जुम्ला पठायो ।
जुम्ला पुगेपछि बडाहाकिमलाई सोधेँ, ‘मैले के गल्ती गरेँ, किन ल्याएको यहाँ ?’ उनले छक्कै पर्दै भने, ‘मैले तपाईंका बारेमा बुझ्न मात्र भनेको थिएँ, यहीँ पो पठाएछ । मैले पक्राउ गर्नू भनेकै थिइनँ ।’ चलानीको कपी देखाउँदै भने– ‘बौलाहा नै रहेछ पाल्पाको बडाहाकिम ।’ त्यो दिन शुक्रबार थियो । एक हप्ता हिँडाएर जुम्ला पुर्‍याएका थिए । उनले भने, ‘अब आइतबारसम्म तपाईं मेरो पाहुना भएर बस्नुस् है †’ आइतबार छोडिदियो । फर्कन खर्च थिएन । सोच्दै थिएँ– अब के गर्ने । तर, मैले चिनेका एक जना त्यहीँ वनअधिकृत रहेछन्, उनैले राखे । सात दिनपछि बडाहाकिमको सवारीसँगै दैलेख हुँदै फर्किएँ । स्थानीय कर्मचारी र पार्टीको सहयोगमा पाल्पा आएँ ।
मेरा बुबा–हजुरबुबा पाल्पाका कहलिएका पुरेत हुनुहुन्थ्यो । सबैको सल्लाहमा मलाई पण्डित बनाउने उद्देश्यले बनारस पठाएका थिए, पढ्न । तर, म त माक्र्सवादी पो भएर फर्किएँ । म कम्युनिस्ट भएकोमा रिसाएकाहरूले बुबालाई धम्की दिएछन्, ‘छोरालाई कम्युनिस्ट हुन नदिनुस्, सुधार्नुस् । नत्र तपाईंलाई पण्डितै मान्दैनौँ ।’ बुबाले मसँग दु:खेसो गर्नुभयो । मैले उहाँलाई सम्झाएँ । पछि विस्तारै उहाँ पनि कम्युनिस्ट हुनुभयो ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय