दश हजार दिएर छोरीको हत्या

राजविराज, २० जेठ । सप्तरीको बथनाहा ७ निवासी चन्द्रेश्वर राउतले आफनै १७ वर्षीया छोरी रुबीको गुण्डा लगाएर हत्या गरेको खुलेको छ । भाडाका हत्यारा ल्याई छोरीलाई घाँटि रेटेर मार्ने राउतलाई गिरफ्तार गरेको १० दिनपछि हत्याको रहस्य खुलेको हो ।
चन्द्रेश्वरले १० हजार दिएर कोईलाडी वरसाईन निवासी मोहन साहुद्वारा छोरीको हत्या गराएको प्रहरीले जनाएको छ । उनले छोरीलाई भारत विहारको दरभङ्गा स्थित फुपूको घरबाट सप्तरीको रम्पुरा मल्हनिया स्थित मामाघर ल्याएर राखेका थिए । त्यसको दुई दिन पछि अपरिचितको साथ लगाएर घर पठाएका थिए ।
उनीहरुले रम्पुरा मल्हनियामा रहेको मामाघरबाट लिएर हिडेको केही घण्टापछि नै रुबीको घाटी रेटी हत्या गरेको र कोइलाडी–९ स्थित नहरछेउ ल्याएर आगोले जलाएर फालेको प्रहरीले जनाएको छ । शरिरको अधिकांश भाग जलेको अवस्थामा जेठ ८ गते बिहान ९ बजे उनको शव फेला परेको थियो । छोरी तल्लो जातको केटासग भागेपछि आफुले हत्या गर्न लगाएको राउतले प्रहरीलाई वयान दिएका छन् । स्थानीय बजरङ्गी निमाविमा कक्षा आठमा अध्ययनरत रुबी गत चैतमा छिमेकी सत्यनारायण साहका छोरा अरुणकुमारसग भागेकी थिइन् ।
बाबुले नै हत्या गरेको शङ्काका प्रहरीले चन्द्रेश्वरलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया