प्रदर्शनकारी र प्रहरीबीच झडप

CIMG4152[1]दोलखा ,२० जेठ । एनेकपा माओवादीको जिल्लास्थित पार्टी कार्यालय तोडफोड गर्न गएका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई रोक्न खोज्दा आज दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
हिजो प्रहरी भ्यानभित्र रहेका तरुण दलका नेता सानु शेर्पालाई वाईसिएलले प्रहरीलाई नियन्त्रणमा लिएर सांघातिक आक्रमण गरेका थिए । आक्रमणको विरोधमा हिजो देखि नै आन्दोलनरत कांग्रेसले आज देखि अनिश्चितकालिन दोलखा बन्दको आव्हान गरेको छ ।
आक्रोशित कांग्रेस कार्यकर्ताको भीडलाई नियन्त्रण लिन खोज्दा दुई प्रहरी घाईते भएका छन् । प्रहरीका कुमार तामाङ र सशस्त्र प्रहरीका प्रेम लामा घाईत भएका हुन् । घाईते दुबैको सदरमुकाम चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै प्रहरीको लाठी प्रहारबाट आफ्ना कार्यकर्ता पनि घाईते भएको कांग्रेसले जनाएको छ । आन्दोनलको तस्विर खिच्ने क्रममा सौर्य दैनिकका जिल्ला समाचारदाता संजिब कुमार दाहाल घाईते भएका छन् । घाईते दाहालको सदरमुकाम चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भईरहेको छ ।
आज जिल्ला प्रमुख अधिकारीले दुबै पक्षलाई वार्ताका लागि बोलाएपनि माओवादीका तर्फबाट कोहि पनि सहभागि नभएपछि छलफल हुन सकेन । कांग्रेसले आक्रमणकारीलाई कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

प्रतिक्रिया