मानवअधिकार आयोग अब ७५ जिल्लामै

काठमाडौं, २० जेठ । जनस्तरमा मानवअधिकारको सचेतना बढाउने, मानवअधिकारको संरक्षण र सम्वद्र्धन गर्ने र  मानवअधिकार हननको सबालमा नागरिकको पहुँच बढाउने उद्देश्यले राष्ट्रिय मानवअधिकार आयोगले देशका ७५ वटै जिल्लामा सम्पर्क कार्यालय खोल्ने भएको छ ।
देशभरका सबै जिल्लामा क्रमिकरूपमा सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा अवधारणापत्रसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार नै आयोगले पत्राचार गरेको छ । आयोगका अनुसार ७५ वटै जिल्लामा आफ्नो कार्यालय खोल्दै जाने सम्बन्धमा आयोगले गत २८ फागुनमा नीतिगत निर्णय भएको थियो ।
केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालय गरी अहिले नौवटा जिल्लामा आयोगका कार्यालय रहेका छन् । विराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज र धनगढीमा आयोगका क्षेत्रीय कार्यालय छन् भने बुटवल, जुम्ला र खोटङमा उपक्षेत्रीय कार्यालय छन् ।
देशका सबै जिल्लामा सम्पर्क कार्यालय खोल्ने कार्यले नेपाल सरकारले लागू गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको भावना र अन्य स्थानीयस्तरमा मानवअधिकार हननको सबाललाई तत्काल सम्बोधन गर्न सहयोग मिल्ने आयोगले विश्वास गरेको छ ।

प्रतिक्रिया