खानेपानी पाइप बगेपछि पानीको समस्या

बर्दिबास, २० जेठ । खानेपानीको पाइप बाढीले बगाएपछि महोत्तरीको खयरमाराका बासिन्दालाई पानीको समस्या भएको छ । मंगलबारदेखि परेको वर्षासँगै बाँके, मरहा र अन्य खोल्सीमा आएको बाढीले खानेपानी आपूर्ति गरिरहेको पाइप बगाएपछि पानीको समस्या आइलागेको हो ।
मंलबारदेखि शनिबार दिउँसोसम्म लगातार परेको पानीसँगै आएको बाढीले पाँच सय मिटर खानेपानीको पाइप बगाएको छ । खयरमारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ओछ्याएको सो पाइप बगाउँदा खयरमारार्को–२, ४ र ८ का करिब दुई सय ५० परिवार अप्ठयारोमा परेका छन् । बाढीले पाइप बगाउँदा खयरमारास्थित सशस्त्र प्रहरी बलको बेसक्याम्पमा पनि खानेपानीको हाहाकार भएको सोही गाउँकी बासिन्दा सञ्चारकर्मी गीता चिमौरियाले बताए ।  बाढीले खानेपानीको पाइप बगाएपछि त्यहाँका बासिन्दा र सशस्त्र प्रहरी बेसक्याम्पका सशस्त्र प्रहरीले खानेपानी लिन एक किलोमिटर छिचोलेर पानीको चाँजो मिलाउनुपरेको छ । बाढीले बस्तीका तीनवटा घरलाई डुबानमा पार्नुकासाथै सशस्त्र प्रहरीको इन्टेक पनि जोखिममा पारेको छ । लगातारको वर्षासँगै आएको बाढीले दमारस्थित दमार कृषि सिंचाइ संस्थाको निर्माणाधीन योजनाको १० वटा ह्युमपाइप र २० थान तारजालीसमेत बगाएको गाविसका पूर्वअध्यक्ष उद्घवप्रसाद आचार्यले जानकारी दिए ।
जिल्ला भू–संरक्षण कार्यालय महोत्तरी र दमार कृषि सिंचाइ संस्थाको साझेदारीमा निर्माण कार्य भइरहेको सो योजनाको ह्युमपाइप र तारजाली बगाएपछि योजना सम्पन्न नहुने चिन्ताले यहाँका बासिन्दा पिरोलिएका छन् ।  बाढीले सो बस्तीको केही विद्युतीय खाँबासमेत ढालेर क्षति पुर्‍याएको खयरमाराकी सामाजिक कार्यकर्ता रञ्जना माझी श्रेष्ठले बताए । यता खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीले स्थानीय खयरमारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले कार्यालयको सहकार्य र समन्वयमा  खानेपानीको पाइप ओछ्याउन थालिसकेको जनाएको छ । आज मोसम सफा भएर आकाश राम्ररी उघ्रेकाले आजै साँझसम्म बस्तीमा खानेपानीको पाइप सुचारु भइसक्ने कार्यालयका लेखा अधिकृत जगदीश दाहालले जानकारी दिए ।

प्रतिक्रिया