सगरमाथाको हिउँ घट्यो अब चढ्दिनँ

him२००९ को डिसेम्बर अन्तिम हप्ता, अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेट्ने मौका मिलेको थियो । विश्वका ठूला राष्ट्रले उत्पादन गरेको हरितगृह ग्यासले नेपालका हिमालमा पारेको असरका विषयमा कुरा गर्न मैले ओबामासँग समय मागेको थिएँ । ११औँ पटकसम्म सगरमाथाको आरोहण गर्दा सगरमाथामा घट्दै गएको हिउँको मात्राले नेपाललाई ठूला राष्ट्रले कति असर गरेका छन् भन्ने सुझाउन बाराक ओबामासँग समय लिएको थिएँ मैले ।
मैले समय लिएभन्दा १५ दिनअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहितको जम्बो नेपाली टोलीले ओबामासँग भेटेको थियो । मलाई लागेको थियो– त्यति ठूला ओहोदाका नेपालीले आफ्नो देशको समस्याबारे ओबामासँग बिन्ती बिसाइसकेका छन् । म त एक सामान्य आरोही न परेँ ।  यत्ति हो, सन् २००३ मा सबैभन्दा छिटो अर्थात् १२ घन्टा ४५ मिनेटमा सगरमाथा शिखर छोएर विश्व कीर्तिमान राखेको थिएँ । त्यो कीर्तिमान सम्झिँदा अनि सगरमाथामा बढ्दै गएको ढुंगाको तह देख्दा म पटकपटक कुँडिएको थिएँ । लाग्न थाल्यो– सगरमाथामा हिउँको तह नै नभएर चट्टानको सतह मात्रै बाँकी रहे मेरो कीर्तिमानको के उचाइ ?
हिउँको तह घट्दै गएर सगरमाथाको अस्तित्व नै खतरामा पर्ने आशंका पलाएको छ । त्यसैले हरितगृह ग्यास उत्सर्जनको प्रभाव देखाउन नौ वर्षको अवधिमा आफूले देखेको परिवर्तनका प्रमाणसहित ओबामासँग भेट्न गएको थिएँ । मनमनै एक किसिमको डर थियो, अमेरिकी  राष्ट्रपतिले मलाई राम्रो रेस्पोन्स गरेनन् भने । वा मैले भनेका कुरामा चासो नदिए उनको अगाडि उभिनुको अर्थ के ? यस्तो सोचेर अमेरिकाको वासिङटन डिसीस्थित ह्वाइट हाउस पुगेको थिएँ । औपचारिक पोसाकमा रहेका ओबामाले आफ्नै निवासमा मलाई भेटे । मेरो अगाडि आएर सन्चो–बिसन्चो सोध्दै कुरा सुरु गरे । आधा घन्टा लामो भेटमा मैले उनीसँग भनेको थिएँ, ‘विकसित देशहरूले उत्पादन गरेको हरितगृह ग्यासका कारण नेपालका हिमालमा हिउँको स्तर नै घटिसक्यो । कुनै दिन सगरमाथाको अस्तित्व नै विलीन भयो भने π’ आफूले प्रत्येकपटक आरोहण गर्दा  देखेको सगरमाथाको फेरिएको अवस्था सुनाउँदै मैले भनेँ, ‘ग्रिन हाउस ग्यासको उत्पादन कम गरौँ । यसको असर हामीजस्ता गरिब देशलाई पर्छ ।’
ओबामाले आफू पनि यस विषयमा चिन्तित रहेको बताए । उनले ग्लोबल वार्मिङ इन्टरनेसनल इस्यु भएकाले आफ्नो देशले सकेसम्म घटाउने प्रयास गर्ने आश्वासन पनि दिए । ओबामाको मिलनसारिता, भद्रपनले म अझ प्रभावित भएँ । उनलाई भेट्दा यस्तो लागेको थियो, ‘म अमेरिकी राष्ट्रपतिलाई नभेटेर मेरो एउटा अमेरिकी मित्रलाई भेटिरहेको छु ।’
०००
म सन् २००० देखि सगरमाथा चढ्न थालेको हुँ । दोलखामा जन्मिएँ । शेर्पा परिवार । बाबुको पालादेखि नै हिमाल चढ्ने, आरोहीहरूको भारी बोक्ने गरेर जीविकोपार्जन हुन्थ्यो । १३ वर्षको उमेरदेखि मेरो पनि त्यही पेसा बन्यो । दुई कक्षासम्म मात्रै औपचारिक शिक्षा लिएको मैले आफ्नो जीवनमा संघर्षका अध्ययन शेर्पा बनेरै गरे । कुल्ली पनि बनेँ । जीवन र मृत्युसँग संघर्ष गर्दै पटकपटक सगरमाथाको चुचुरोसम्म पुगेँ । सुरुआती समयमा काम गर्दा हिँड्न ढिलो भए भोकै हिँड्नुपथ्र्यो । कुकले खाना नदिएर भोकै भारी बोकेर हिउँको चिसोमा हिँडेका क्षण स्मृतिमा ताजै छन् ।
नेपालका अधिकांश हिमालमा छ हजारभन्दा बढी पर्यटकलाई सफल आरोहण गराइसकेको छु । पछिल्लोचोटि गत मे २० तारिख साँझ ९:२५ बजे सगरमाथा शिखर पुगेको थिएँ, खाङ्ग्री मिडियाको समूहसहित । यसपालि १२औँ पटक चुचुरोमा पुगेपछि मैले सगरमाथा आरोहणको यो यात्रालाई विश्राम लिने सोच बनाएको छु ।
सगरमाथा अहिले फोहोरले ढाकिएको अवस्थामा छ । सन् २००० मा पहिलोपटक सगरमाथा पुग्दा हिउँ नै हिउँको लोभलाग्दो तह देखिन्यो । मैले बल्लबल्ल पाइला चालेको ठाउँमा हिउँको मात्र थोरै देखिन्छ अहिले । एकतिहाइ मात्रै हिउँ छ । त्यतिबेला सगरमाथा चढ्दा विदेशीहरू भन्थे, ‘हिउँ हेर्नकै लागि पनि सगरमाथाको यात्रामा आउनुपर्छ ।’ तर, अहिले हिमालको कुनै अनुभव नभएका व्यक्ति पनि सगरमाथा सफल आरोहण गर्न सक्ने अवस्था आएको छ । काला पत्थरका थुप्रो मात्रै हेरेर विदेशीहरू भन्न थालेका छन्, ‘यो भन्दा निकै राम्रा हिमशिखर हामै्र देशमा पाइन्छन्  ।’
हामी सगरमाथा चढ्दाका सुरुआती समयमा बेसक्याम्पमा हिउँका डल्लालाई तताएर पानी बनाउनुपथ्र्यो । पछिल्लो समय सगरमाथाको बेसक्याम्पमा चार/पाँचवटा पानीका ताल बनिसकेका रहेछन् । अब बेसक्याम्पमा हिउँ होइन, हिमताल बन्न थालेका छन् । तर, सरकारले विश्वस्तरमा यो मुद्दा उठाउन चासो दिएको छैन । मलाई सगरमाथाको दुरवस्था हेर्नभन्दा सगरमाथा आरोहणको यात्रा नै टुंग्याउन मन लागेको हो । त्यसैले १२औँ पटकको सगरमाथा आरोहणसँगै अब मेरा थप कीर्तिमानका सम्भावना पनि स्थगित हुँदै छन् ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया