मिलापत्र गर्न गएकाहरूबीच अदालतमै हानाहान

काठमाडौं, १८ जेठ । मिलापत्रको सहमतिपछि अदालत पुगेका दुई सौताबीच शुक्रबार अदालत परिसरमै भुत्लाभुत्ली चल्यो । भोजपुरका देवराज राई शुक्रबार मिलापत्रका लागि दुई पत्नीलाई लिएर काठमाडौं जिल्ला अदालत पुगेका थिए । तर, मिलापत्र गर्नु त परै जाओस् पत्नीहरू भुत्लाभुत्लीमा उत्रिएपछि राई त्यत्तिकै फर्किए ।
सार्वजनिक स्थानमा अश्लील शब्दको वर्षा गर्दै पत्नीहरू हातपातमै उत्रेपछि उनको मन कस्तो भयो होला ? उनका दुई पत्नी अदालत परिसरमै चुल्ठो समाती हानाहान गर्न थालेपछि राई खिन्न मात्र भएनन्, आँसु टिलपिलाउँदै टुलुटुलु हेरिरहे मात्र । दुई पत्नीलाई मिलाउन शुक्रबार कानुन व्यवसायीसहित उनी जिल्ला अदालत पुगेका थिए । उनीहरूको बहुविवाह मुद्दा मिलापत्र प्रक्रियामा जानुअघि दुई पत्नीबीच रक्ताम्य हुने गरी कुटाकुट भएपछि मिलापत्र गराउने राईको योजना असफल मात्र भएन, उनका लागि ‘दुई जोईको पोइ कुना पसी रोई’ उखान चरितार्थ भयो ।
घटनाक्रमअनुसार उनले पाँच वर्षअघि भोजपुरबाट सगुन राईलाई पहिली पत्नीका रूपमा भित्र्याएका थिए । उनीहरूको सम्बन्ध राम्रैसँग चलिरहेको थियो । सगुनबाट सन्तान जन्मन सकेनन् भन्दै राईले एक वर्षअघि ताप्लेजुङकी विष्णुकुमारी राईलाई दोस्री पत्नीका रूपमा भित्र्याए । दोस्री पत्नी भित्र्याएपछि देवराज र सगुनको सम्बन्ध कारागारदेखि अदालतसम्म पुग्यो ।
देवराजले विष्णुकुमारीलाई दोस्री पत्नीका रूपमा भित्र्याउनासाथ सगुनले बहुविवाह मुद्दा हालिन् । बहुविवाह मुद्दामा देवराज र विष्णुकुमारीलाई प्रहरीले पक्राउ गरी कारागार पुर्‍यायो । ६ महिना कारागार बसेपछि उनीहरू दुवै जना २५/२५ हजार धरौटीमा रिहा भएका थिए । धरौटीमा रिहा भए पनि उनीहरूको मुद्दा जिल्ला अदालतमा चलिरहेको थियो । मुद्दाको किनारा लगाउन कानुन व्यवसायीको रोहबरमा दुवै पक्ष सहमत भएपछि शुक्रबार जिल्ला अदालत पुगेका थिए । ‘जेठी पत्नी सगुनलाई २० लाख रुपियाँ दिने सहमति भएपछि मिलापत्रका लागि जिल्ला अदालत पुगेका थियौँ’ देवराजका कानुन व्यवसायीले भने, ‘मिलापत्रका लागि जेठी सगुनले मुद्दा फिर्ता लिनुपर्ने थियो, मुद्दा फिर्ताको निवेदन दिनुअघि नै दुई पत्नीबीच हानाहान सुरु भयो, मिलपत्र हुन सकेन ।’
दुवै पक्षका कानुन व्यवसायी र उनीहरूबीच २० लाख दिने सहमतिपछि देवराजले दोस्री पत्नी विवाह गरेको होइन भन्ने व्यहोराको निवेदन दिन अदालत पुगेकी थिइन् । अदालत परिसरमा विष्णुकुमारीलाई देखेपछि सगुन जाई लागिन् । उनीहरूलाई छुट्टयाउन खोज्दा कानुन व्यवसायीलाई पनि चोट लागेको थियो । कानुन व्यवसायीले छुट्टयाउन नसकेपछि अदालतमा खटिएका प्रहरीले उनीहरूलाई छुट्टयाएका थिए ।

प्रतिक्रिया