त्रिशूली–३ ए को क्षमता ९० मेगावाट

Trishuli-3-A-souryadailyकाठमाडौं, १८ जेठ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्माणाधीन त्रिशूली–३ ए जलविद्युत् आयोजनाको क्षमता बढाउने निर्णय गरेको छ ।
लामो समयदेखि आयोजनाको क्षमता बढाउने/नबढाउने विवाद रहँदै आएको थियो । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले क्षमता बढाउने निर्णय गरेको हो । गत पुसमा मन्त्रिपरिषद्ले समेत आयोजनाको क्षमता बढाउनु उपयुक्त भएको भन्दै प्राधिकरण सञ्चालक समितिलाई स्वीकृति दिएको थियो ।
प्राधिकरण सञ्चालक समितिले त्रिशूली–३ एको क्षमता ६० मेगावाटबाट ९० मेगावाट पुर्‍याउने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले बताए । ‘आयोजनाको क्षमता विस्तारबारे अन्योल थियो, सञ्चालक समितिले त्यो अन्योलता अन्त्य गरेर क्षमता बढाएको छ र आयोजनालाई निकास दिएको छ,’ कार्यकारी निर्देशक यादवले भने, ‘अब थप ३५ महिनाभित्र आयोजना सम्पन्न गर्ने कार्यादेश दिइएको छ ।’
कार्यकारी निर्देशक यादवका अनुसार प्राधिकरणले आयोजनाका लागि सरकारका तर्फबाट दिनुपर्ने थप ४२ मिलियन डलरका साथै भ्याटका लागि अर्थ मन्त्रालयलाई पत्र पठाउने र अर्थ मन्त्रालयबाट उक्त रकम दिने प्रतिबद्धतापछि सम्बन्धित ठेकेदार कम्पनीलाई आयोजना क्षमता विस्तार गर्न पत्र पठाइनेछ ।
सिभिल र इलेक्ट्रोमेकानिकलको कामको ठेक्का लिएको चाइना गेजुवा ग्रुप अफ कम्पनीले क्षमता बढाउँदा नेपालले ठूलो फाइदा लिनसक्ने भन्दै क्षमता बढाउनका लागि लबिङ गर्दै आएको थियो । क्षमता विस्तार गर्दा सस्तो दरमा थप बिजुली उपलब्ध हुने भएकाले विस्तार गरिएको कार्यकारी निर्देशक यादवले बताए ।
६ मेगावाटका लागि थप समय मागिएको अवधिभन्दा ३ महिना ढिलो मे २०१६ भित्र आयोजना सम्पन्न गर्ने गरी क्षमता बढाइएको प्राधिकरण सञ्चालक समितिले जनाएको छ । समितिका  अनुसार ६० मेगावाटको ८९ मिलियन डलर लागत रहेकोमा १ सय ३२ मिलियन डलरमा ९० मेगावाट बनाउने गरी आयोजना अघि बढाउने निर्णय भएको हो ।
क्षमता बढाइएको लागतको आधारमा अहिले निर्माणाधीन माथिल्लो तामाकोसी, चमेलिया, कुलेखानी तेस्रो, राहुघाटभन्दा त्रिशूली–३ एको लागत सस्तो पर्नेछ । यहाँ उत्पादन हुने विद्युत् प्रतियुनिट २ रुपियाँ ७० पैसा मात्र पर्नेछ । क्यु ७० मा बनेको आयोजनालाई क्यु ५२ मा गर्दा बनाउन लागिएको र माथिल्लो तामाकोसीसमेत  क्यु  ३२ मात्र गरिएकाले यो आयोजनाको क्षमता बढाउनु प्राविधिक रूपमा समेत उपयुक्त रहेको प्राधिकरणका एक अधिकारीले बताए ।
ठेकेदार गेजुवा कम्पनीले प्राविधिकलगायत सम्पूर्ण रूपले आयोजनाको क्षमता बढाउनु उपयुक्त भएको भन्दै पटक–पटक क्षमता बढाउनका लागि सरकारसँग प्रस्ताव गरेको थियो । ऋण लगानी गर्न चाइनाको एक्जिम बैंक तयार रहेको भन्दै उनीहरूले प्रस्ताव राखेका थिए । ठेकेदार कम्पनीका अनुसार प्राधिकरणले गरेकै अध्ययनका आधारमा पनि ९० मेगावाट बनाउँदा सुख्खा याममा ३६ प्रतिशत दिने उल्लेख छ । त्रिशूली–३ एले भने साढे ६ महिना पूर्णउत्पादन दिने ठेकेदार सम्बद्ध स्रोतको दाबी छ ।
ठेकेदार कम्पनीको स्रोतले भने त्रिशूली–३ ए आयोजनाको क्षमता बढाउँदा त्रिशूली–३ बी आयोजनाको क्षमता पनि ३७ मेगावाटलाई बढाएर ५५ मेगावाट बनाउन सकिने जनाएको छ । क्षमता बढाउँदा हेडबक्र्स र प्रसारण लाइनमा कुनै फेरबदल गर्नुपर्दैन भने इनटेक, सुरुङ, विद्युत्गृह तथा इलेक्ट्रोमेकानिकलका उपकरणको डिजाइनमा सामान्य परिवर्तन गरे पुग्ने कम्पनीले जनाएको छ ।
प्राधिकरणको आग्रहमा आयोजनाको परामर्शदाता नर्थ वेस्ट हाइड्रो कन्सल्टिङ, इन्जिनियर्सले लामो समय लगाएर यसको प्राविधिक, आर्थिक र निर्माणावधिसहित समग्र पक्षको विस्तृत अध्ययनमा क्षमता बढाउँदा पानीको उपयोग ७.४ प्रतिशतले बढ्ने, विद्युत् उत्पादन ३० मेगावाटले बढ्ने, आयोजनाको आन्तरिक प्रतिफल दर झन्डै २० प्रतिशत रहने, आयोजनाका सिभिल संरचनाको  साइटमा परिवर्तन गर्नु नपर्ने  र तिनको आकारमा केही परिवर्तन गरे पुग्ने, कुल निर्माण लागत १ सय ३२ मिलियन डलरमा सीमित गर्न सकिने र ठेकेदारले प्रस्ताव गरेकै समयावधि ४७ महिनामा काम सम्पन्न गर्न सकिनेजस्ता फाइदा औँल्याएको थियो । आयोजनाको निर्माणकार्य हालसम्म २५ प्रतिशत मात्र पूरा भएको छ ।

प्रतिक्रिया