सहर पसेको मान्छे

Hempravashसबैले भनेकै छन्– साहित्यको जुनसुकै विधामा पनि कविता व्याप्त छ । वा भनौँ, कविताभित्र आख्यान छ, नाटक छ, निबन्ध छ, सबथोक छ । सुख र दु:खको साझा सम्मिश्रण हो जीवन † कवितामा त्यही जीवन छ । लेखिनुभन्दा पहिले अझ बढी सुन्दर हुने हुनाले यसलाई निराकार सत्य मान्नेहरू पनि छन् ।
लहरै उभिएका सल्ला, सिसौ र खयरका रूखहरूको संरचना र बान्की फरकफरक भएजस्तै स्थान, संस्कृति र सम्प्रदायपिच्छे कविताले लिने आकार पनि फरकफरक नै हुँदोरहे छ । तर, रूखहरूजस्तै भूगोलमै उभिएर बाँच्ने हुँदा कविता समग्र जीवन र जगत्कै प्रतिच्छायाँ रहेछ ।
बिर्सनै लागेको सपनाजस्तो मलाई अलिअलि सम्झना छ– देश छोडेर सानैमा प्रवासतिर हिँडेको । त्यतिखेर यतै छुटेको थियो– पहेँलपुर तोरीबारी, पहिलोपटक टेकेको माटो, चराहरूको संगीत, एकाबिहानै घरको धुरीमा पोखिने घामका किरणको श्रीपेच, साँझमा आँगनडिलको फूल छोएर जाने हावाको लहर, निरन्तर गीत गाउने झरनाहरू, यस्तै केके अरू….†
तीन वर्ष पूरा हुन अझै केही दिन बाँकी थियो होला † म पुगेको रहेछु बिरानो ठाउँमा । मैले कापीमा ‘क’ लेख्न सिकेको उतै  हो । स्टेसनमा सपना छोडी विरक्तिएर कुदिरहने रेल, जट्टीहरूमा पदचाप छोडेर नदीमाथि चिप्लँदै क्षितिजको पल्लो गोलाद्र्धसम्म पुग्ने पानीजहाज, नीलो पानीको विशाल आयतन, आफैँ हराइएलाजस्तो चिडियाखाना, माछा पसल, फोटो स्टुडियो, सर्कस, सिनेमा हल, हवाइजहाज, किसिमकिसिमका खेलौना, नरिवलका बोट र इमिलीका झाङहरूलाई मैले उतै चिनेको हँु । उतै बनेको हो– मेरो प्रिय साथी– एकान्त †
सानो छँदा बाबाको अनुहारमा मनमनै धर्सा कोरेर आमाको आकृति बनाउथेँ, मेरा बाबा–आमा भनेको एउटै मान्छे हो सोच्थेँ, होइन रहेछ । यता आएपछि मैले राम्ररी चिनेँ– आमा । बाल्यकालको बाँकी अध्यायमा उनी मेरो सबभन्दा नजिकको साथी बनिन् ।
गुराँसे पहाडको थोरै रङ, बेँसीखोलाको थोरै आवाज, सल्लाघारीको थोरै सुसेली, खेतालाहरूको थोरै पदचाप, थप अक्षरहरू सिकेको पाठशालाको स्नेह सापटी लिएर मैले केही शब्दहरू बनाएँ र लामो समयसम्म हराइरहेँ– आफैँले बनाएको शब्दैशब्दको जंगलमा ।
अझै पनि उस्तै छ– मैले अक्षरहरू सिकेको पाठशाला † भलै, डेस्कबेन्चहरू फेरिए, युद्धले छेडेका भित्ताहरू फेरिए, समयले रङ बदल्यो, बाटाहरू फराकिला भए । तर, स्कुले नानीहरूले प्रत्येक दिन काठेपुल तरेर जाने चिसोखोला र चरङगेखोलाहरू उस्तै छन् । उस्तै छ– कलिला पैतालाहरूले कुल्चने दूबोमाथिको शीत । प्रकृति र स्मृतिका यिनै झझल्काहरूले हृदयमा विस्तारै कविताका रेखाहरू खिच्न थालेछन् ।
म हरक्षण सम्झन्छु– हिउँ पग्लेर बग्ने आँखुखोला † आँखुखोलासँग मेरो गहिरो र दोहोरो सम्बन्ध छ । २०६० सालको उत्तराद्र्धतिर उच्च मा. वि. पढ्ने विद्यार्थीहरूको सक्रिय सहभागितामा हामीले द्वैमासिक साहित्यिक पत्रिका ‘आँखुखोला’ को प्रकाशन कार्य प्रारम्भ गर्‍यौँ । चार–पाँच घन्टा हिँडेर सदरमुकाम पुग्ने, चार–पाँच दिन त्यहीँ बसेर पत्रिका तयार पार्ने, पत्रिकाको भारी बोकेर गाउँ झर्ने …† यो क्रम लामै समयसम्म चल्यो । नाकाबन्दीको बेला तीनदिन हिँडेर काठमाडौँ आई पत्रिका छापेर लगेको अतीत पनि मसँगै
यात्रा गरिरहन्छ ।
आफन्तजनले मलाई भेट्दा सधैँ प्रसन्न मुद्रामा देख्छन् । म त दिनभरि हाँसेर रातभरि रुने मान्छे † मसँग पनि छन्– दु:खका गीतहरू, नमीठा याद र नपुरिने घाउहरू, जो छन्– ती मसँगै छन् ।
जीवनका विविध खुड्किलाहरूमा साथ दिने प्रिय साथी रहेछ– आँसु † २०६१ सालमा संग्रहको रूपमा पहिलोपटक ‘ओइलिएका कुसुमहरू’ गजलसंग्रह प्रकाशित हुँदा म खुब रोएको थिएँ । २०६५ सालमा ‘धादिङका कविप्रतिभा’ संयुक्त कवितासंग्रह प्रकाशित भयो । यस संग्रह र यसैसँग गाँसिएर आउने पृथक् अभियान नेपालको पृष्ठभूमि पनि कम चुनौतीपूर्ण थिएन । २०६६ सालमा कवितासंग्रह प्रकाशनको तयारीमा जुटिरहेका बेला एक रात अनौठो सपना देखेँ † सपनामा म गहु्रंगो झोला बोकेर पहाड उक्लँदै थिएँ, पसिनाले निथ्रुक्क भिजेको थियो शरीर । तल बेँसीबाट आमाले हातको सियाल पारेर मलाई हेरिरहनुभएको देखेँ । ‘आमा † म गएँ है’ भन्दै म अझै उकालो चढ्दै थिएँ, झल्याँस्स ब्युँझँदा रातको दुई बजेको रहेछ । मैले तुरुन्त त्यही बिम्बमा कविता लेखेँ—
हेर त आमा
कति गहु्रँगो छ मेरो झोला
म झोलाभरि पहाड बोकेर
पहाड चढिरहेछु….
शीर्षक राखेँ– ‘पहाड बोकेर पहाडतिर’ † यही नामबाट २०६६ को भानु जयन्तीमा कवितासंग्रह बजारमा आयो ।
२०६६ सालको आधा वर्षजति विराटनगर बस्दा आँसुको मसीले लेखेको लामो कवितालाई टुक्राटुक्रा बनाएर विभिन्न पत्रपत्रिकामा पठाएँ, छापिए पनि । त्यसैको सिँगो रूप ‘सहर पसेको मान्छे’ अहिले पाठकको हातमा छ । यो कृति लेखन र प्रकाशनको क्षण पनि कम्ती नाटकीय छैन । त्यतिखेर अक्षरहरूमा चुहाएको आँसुको तातो बाफ अहिले चार वर्षपछि हेर्दा पनि उस्तै पाएँ । मलाई लाग्छ– मेरा कविताहरू मेरै आँसुका केही हिस्सा हुन् ।
टेलिफोन, मोबाइल फोन, इमेल र फेसबुकको विस्तार भएको धेरै भएकै छैन । १०–१५ वर्षअघिको दिनचर्या र जीवनपद्धति अर्कै थियो । पत्राचारको माध्यमले जोड््थ्यो धेरैलाई । मेरा पनि १८३ जना पत्रमित्र साथी थिए । उनीहरूको पत्रबाट म देशका विभिन्न भागको धरातलीय स्वरूप, सांस्कृतिक, सामाजिक र साम्प्रदायिक गतिविधिका बारेमा थप सूचना संकलन गर्ने गर्थेँ । ती आदरणीय पत्रमित्र साथीले बडो प्रेमले पठाएका दुई हजारभन्दा बढी पत्र मसँग अझै सुरक्षित छन् । तिनै पत्रमा लिपिबद्ध अक्षरहरूले हृदयमा कविताको संक्रमण हुन थप टेवा पुर्‍याएको पक्कै हो । चिठीजस्तै जिन्दगी पनि कोमल र हार्दिक हुँदो हो त मान्छेले संसारकै सबभन्दा सुखी प्राणीको बिल्ला भिथ्र्यो होला †
जब सिरसिर बतास चल्छ, पातहरूमा देखिन्छ नौलो उत्साह, म त्यहीँ अडिन्छु एकछिन् । सडक किनारमा छरपस्ट विगतहरू सम्झँदै हिँडिरहँदा जब ठोकिन्छ साइरनको आवाज मस्तिष्कमा, म त्यहाँ पनि अडिन्छु । कहिलेकाहीँ म सपनामा सानो बालक भएको पाउँछु आफूलाई । फूलको थुँगा च्यातेर ढुंगाको पूजा गरिरहेको हुन्छु– बालसखाहरूसँगै । त्यतिखेर पनि म सपनाबाट ब्युँझनुभन्दा पहिले एकपटक फेरि अडिन्छु । यात्रा त जसैतसै चलिरहँदोरहे छ । अडिँदैअडिँदै यहाँसम्म आइपुगेको छु ।
मलाई फूल खुब मन पर्छ । फूलभन्दा अझ बढी बोट मन पर्छ । बोटभन्दा पनि अलिक बढी माटो मन पर्छ किनकि माटोमै मेरा पैताला अडिएका छन् र म उभिन सकेको छु । उभिन सक्ने भएदेखि नै मलाई मान्छेको गीत औधी मन पर्छ । म मान्छेको गीतमा जीवनको लय निरन्तर बगिरहेको पाउँछु ।
मैले आफैँलाई नदेखे पनि धेरैपल्ट झरिरहेका पातहरू देखेँ । फुलिरहेका फूलहरू देखेँ । हामी उभिएको बखत एउटै सपना भएको वसन्त र नीलो नदीको छालमा सूर्यले नुहाइरहँदा मेरो हत्केलाभरि पोखिएको उनको आधा चेहरा पनि देखेँ । जेजे देखेँ, ती सबै कविताको आन्तरिक लय रहेछन् । अनेकथरी सपनाको रुमाल बुन्दै गल्ली, गोरेटा वा राजमार्गहरूमा हिँडिरहँदा कविताको स्वर संगीत बनेर बाटैभरि गुन्जिरहँदोरहे छ । म उसैको लयमा हिँडिरहँदोरहे छु ।
साँझपछिको रातको पहिलो प्रहरमा आकाशतिर हेर्छु । शान्त मुद्रामा फैलिएको आकाशले जून पर्खिरहेझैँ लाग्छ । बोलूँ, कुन लयमा बोलूँ ? हिँडूँ, कुन बाटोलाई टाँसेर हिँडूँ पैतालामा ? म स्वयं पनि आकाशझैँ चुपचाप/मौन रहन्छु । भविष्यका भीरहरूको सम्मेलन सम्झँदै जसरी पटकपटक भत्कन्छ पहाड– आफैँभित्रको करुणाको भूकम्पले, हो त्यसरी नै मैले मध्यरातमा चिहानघारीको फूल टिप्न जाँदा थरथराएका हातहरू देखेको छु । अलि पर पहिरो नजिकै फुलिरहेको गुलाब पनि देखेको छु, जो एकैछिनमा तल खस्ने निश्चित छ …। एकान्तसँग पनि धेरै कुरा हुँदारहे छन् । यिनैले जगाएका हुन् हृदयमा संवेदना । र, त्यही संवेदनामा संक्रमण भएको हो कविताको ।
कहिलेकाहीँ म पातहरूको चञ्चलता र ऋतुहरूको गायक खोज्दै हिँड्दोरहे छु । नदीकिनारमा छुटेको बालापन होस् या गहिरो तलाउमा डुबेको प्रेमको निशानी † वनहरूको आदिम एकान्त वा निरन्तर चलिरहेको भ्रमको सिलसिला † यी सबैलाई सम्झेर आँसु खसिरहने आँखाको ढकनी बन्द गर्दै म कैयौँपटक अँधेरी रातमा जंगलैजंगल एक्लै हिँड्दोरहे छु । त्यतिखेर मसँगै हुँदोरहे छ– कविताको आँखामा सपना बनेर लतपतिने रङ, कवितैले छोडेर गएको एक स्पर्श र हामीले सपनामा फुलाएको लालीगुराँसको सिँगै जंगल † यी सब संक्रमणका सहयात्री रहेछन् ।

प्रतिक्रिया