ठाकुरद्वारा रेग्मी सरकारको जोडदार बचाउँ

Mahantha-Thakurराजविराज, १७ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वर्तमान सरकारले मंसिर अगाडि राजीनामा दिनुपर्ने कुनै कारण नरहेको दोहोर्‍याएका छन् ।
राजविराजमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रयोजनका लागि गठन भएको सरकारको राजीनामा तत्काल आवश्यक नरहेको बताए । ‘मंसिरमा निर्वाचनका लागि आवस्यक तयारी हुँदैछ,’ उनले भने, ‘त्यस अघि सरकारको राजीनामा माग्नुको कुनै औचित्य छैन ।’
संघीय लोकतान्त्रिक संविधान निर्माण गरी संक्रमणकालको अन्त्य गर्न दलहरु प्रयासरत रहेको उनको भनाई थियो ।
उनले साना दलहरु समेतलाई निर्वाचनमा सहभागी गराउने दोहरार्‍याए । सानादलहरुको भावना अनुसार संविधान सभाको निर्वाचनमा न्यूनतम मत (थ्रेसहोल्ड)को ब्यवस्था आवस्यक नरहेको अध्यक्ष ठाकुरले बताए । ‘न्यूनतम मत ल्याउनु पर्ने व्यवस्थाको पक्षमा हामीहरु छैनौं,’ उनले भने, ‘संविधान सभाको निर्वाचनमा कही पनि ‘थ्रेसहोल्ड’ राखिएको छैन ।’
अध्यक्ष ठाकुरले आगामी संविधानसभाको निर्वाचनमा सम्पूर्ण मधेसवादी दलहरुलाई एकजुट गरी चुनावमा सहभागी गराउन प्रयास जारी रहेको उल्लेख समेत गरे ।
फौजदारी अभियोग लागेका सबैलाई चुनावमा भाग लिन बन्देज लगाउनु शान्तिसम्झौता विपरीत हुने बताएका अध्यक्ष ठाकुरले भने, ‘विभिन्न आन्दोलनका क्रममा आरोप लागेका नेताहरुलाई निर्वाचनवाट अलग्याउन मिल्दैन ।’

प्रतिक्रिया