सिरियालाई रुसको एन्टी मिसाइल

Misayal souryadailyदमस्कस । सिरियाले रुसी एअर डिफेन्स सिस्टमको पहिलो खेप प्राप्त गरेको छ । सिरियाका राष्ट्रपति बशार अल असादले लेबनानको हिज्बुल्लाहसँग नजिक मानिएको अल मानार टेलिभिजनसँग कुरा गर्दै रुसबाट एण्टी एअरक्राफ्ट एस–३०० रकेट प्राप्त गरेको खुलासा गरेका हुन् ।

उनले रुसले दिने थप हतियार पनि चाँडै आइपुग्ने बताए । एस–३०० एण्टी एअरक्राफ्ट जमिनबाट आकाशमा मार हान्न सक्ने र बालिष्टिक मिसाइललाई समेत अवरोध पु¥याउन सक्ने क्षमतायुक्त मिसायल मानिन्छ ।

सिरियाको नजिकको सहयोगी रुसले पश्चिमा मुलुकहरुको चर्को विरोधका बाबजुद गत हप्ता सिरियालाई हतियार दिने जनाएको थियो । अन्तर्वार्ताका क्रममा सिरियाली राष्ट्रपति असादले इजरायलले सिरियाली भूमिमा थप आक्रमण गरे कडा जवाफ दिने उल्लेख गरे ।

उनले आफ्नो मुलुकमा युद्धको वहाव परिवर्तन भैरहेको जिकिर गर्दै आफ्ना सेनाको शक्ति बढेको र विद्रोही विरुद्ध विभिन्न महत्वपूर्ण विजय हासिल भएको दाबी समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यता, इजरायलले भने सिरियामा रुसी हतियार पुगिनसकेको दाबी गरेको छ । यसैबीच केही विश्लेषकहरुले भने आगामी महिना अमेरिका र रुसको पहलमा सिरियाबारे हुने शान्ति सम्मेलनलाई रुसी हतियारको विषयले प्रभाव पार्न सक्ने आशंका गरेका छन् ।

सिरियामा सन् २०११ को मार्चयता राष्ट्रपति असादको शासन विरुद्धको संघर्षका क्रममा ८० हजार भन्दा बढी मानिस मारिईसकेका छन् ।

प्रतिक्रिया