नक्कली बीउ आयातमा वृद्धि

वीरगन्ज : सीमावर्ती गाउँमा नक्कली बीउ आयात बढेको छ । उत्पादन र उत्पादकत्व बढी दिने ‘हाइब्रिड बीउ’का नाममा विनापरीक्षण भारतबाट अवैध रूपमा आयात भएका त्यस्ता बीउबिजनको प्रयोगले कृषि उत्पादनमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ ।
खाद्यान्न उत्पादन बढाउन ‘हाइब्रिड बीउ’को नाममा विनापरीक्षण नक्कली बीउ नेपाल भित्रिन थालेपछि त्यसलाई तत्काल नियन्त्रण गर्न कृषि वैज्ञानिकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।
खुला सिमानाबाट अवैध रूपमा आयात भएका त्यस्ता बीउ सहरी तथा ग्रामीण भेगका बजारमा छ्यापछ्याप्ती बिक्री भइरहे पनि त्यसको नियन्त्रणको प्रयास कहीँ–कतैबाट हुन नसकेको गुनासो किसानको छ । कृषि विकास कार्यालय र सरोकारवाला अन्य निकायले  बजार अनुगमन तथा किसानलाई सचेत र जागरुक पार्नेलगायत कार्यक्रम नगर्दा यस्ता अवैध बीउको आयात नियन्त्रण हुन नसकेको दाबी अगुवा किसानको छ ।
भारतसँग सीमा जोडिएका बारा, पर्सा र रौतहटका ग्रामीण भेगका बजारमा मात्र होइन, सिमरा, जितपुर, निजगढ, परिवानीपुर, पोखरिया र चन्द्रनिगाहपुरलगायत सहरोन्मुख बजार तथा कलैया, वीरगन्ज र गौरलगायत सहरी बजार क्षेत्रमा छ्यापछ्याप्ती हाइब्रिड जातको बीउ बिक्रीमा राखिएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका वरिष्ठ कृषि वैज्ञानिक तुफैल अख्तरले बताए । उनका अनुसार कतिपय किसानले आफैँ पनि सीमावर्ती भारतीय बजारबाट त्यस्ता बीउ खरिद गरेर ल्याउने गरेका छन् । खुला सिमानाका कारण उनीहरू त्यस्ता बीउ लुकाइछिपाइ नेपाल भित्र्याउने गर्छन् । ‘सरकार र राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस तथा सूचित बाली र जातका बीउबीजनको मात्र उत्पादन र प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘प्याकिङ र ब्याचिङ नगरिएका त्यस्ता बीउ लगाउँदा उत्पादन र उत्पादकत्व घट्ने तथा उर्वराशक्तिमा समेत ह्रास आउने निश्चित छ ।’
बीउबिजन आयात गर्दा प्लान्ट क्वारेन्टाइन कार्यालयले परीक्षण गरी गुणस्तरीय छ भनेर प्रमाणित गरेको कागज देखाएमा मात्र भन्सार कार्यालयले स्वीकृति दिने प्रावधान छ । तर, खुला सिमाना भएका कारण चोरी–तस्करीबाट र कतिपय अवस्थामा भन्सार कार्यालयको लापरबाहीले पनि प्लान्ट क्वारेन्टाइन कार्यालयको गुणस्तरीयताको प्रमाणपत्र विना नै भन्सारबाट भित्र्याइने गरिन्छ ।
एक बीउ व्यवसायीका अनुसार खुला सिमाना भएका कारण अवैध आयात गर्न त्यति अप्ठयारो छैन । बीउलाई १० प्रतिशत बोकेको ज्याला दिँदा भारतीय बजारबाट भनेको ठाउँमा पुर्‍याइदिने गर्छन् । त्यसो गर्दा पक्राउ परेको खण्डमा आयातकर्ताले नै व्यहोर्नुपर्ने हुन्छ । सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले बर्सेनि करोडौँ रुपियाँ मूल्यबराबरको बीउ अवैध रूपमा नेपाल भित्र्याउने गरेका पनि छन् । अवैध रूपमा भित्रिएको त्यस्ता बीउ यहाँबाट मुलुकका विभिन्न बजारमा पुग्ने गर्छन् ।

प्रतिक्रिया