पीडा लुकाइरहेको एउटा ‘बोल्ड पात्र’

Jayand-Chand-souryadailyहँसिलो अनुहार । तेजिला आँखा । अनुहारको भावभंगी पढ्दा लाग्छ, चलचित्रका  पर्दामा ‘बोल्ड पात्र’ का रूपमा उभिन आतुर छन् उनी । अनि पर्दामा जयनेन्द्र चन्दलाई खोज्नेहरूको जमात पनि सानो छैन । नयाँ पुस्ताले उनलाई कसरी हेर्छ थाहा छैन तर नेपाली चलचित्रको पुरानो समयदेखिका सहयात्री हुन् उनी । अनि पुरानो समयदेखिका थुप्रै दर्शकका प्यारा कलाकार ।
शरीरका अवयवहरू कमजोर भइसकेका छन् तर अनुहारमा रत्तिभर झल्कन दिँदैनन् उनी । जति बेलै फ्रेस देखिने चन्दको मनभित्र असक्तताले जन्माइदिएका व्यथा कति धेरै गुम्सिएका होलान् ? अँह, अगाडि बसेर मुहार हेरेका भरमा पत्तो लाउन सकिन्नँ । मानौँ उनी वास्तविक जीवनमा पनि अभिनय गरिरहेछन् । दु:ख लुकाइरहेछन्, अरूलाई दु:खी नपारौँ भनेर । सुटिङका क्रममा लडेर थला परेका उनको पाँच महिनादेखि बोली पनि रोकिएको छ । हातले इसारा गर्दै मनभित्रको खुल्दुली निकाल्न खोज्छन्, अँह सक्दैनन् । सासले भन्छन्, ‘गाह्रो भयो ।’
‘चलचित्र जस्तै जीवन’, थरथराएको हातले इसारा लगाउँदै उनले आफ्नो अवस्था चित्रित गरे, ‘विश्व चलचित्रको पर्दा हो, जहाँ थुपै्र कलाकार अभिनय गरिरहेका छन् । कोही सुखी अनि खुसी पात्रको अभिनय गरिरहेका छन् त कोही पीडाले व्यथित पात्रको । म पनि एउटा कलाकार हुँ । जिन्दगीको चलचित्रमा अहिले दु:खी पात्रको अभिनय गर्दै छु ।’
जीवनको ८५औँ खुड्किलामा रहेका चन्द आफूलाई मनको खुसी मान्छन् । एकान्तकुनास्थित अरुणिमा बस्तीनजिकैको एउटा पुरानो घरमा भाडाको जीवन गुजारिरहे छन् । जीवनको ऊर्जावान् समयमा चलचित्रका लागि भ्याइनभ्याइ थियो उनलाई । ‘हात जोड्दै घरमै लिन आइपुग्थे’, इसारा गर्दै सासले बोले, ‘अहिले कोही आउँदैनन् ।’
भाडाको घरको तल्लो तलामा चन्दका वृद्ध दम्पती बस्छन् । दिउँसो पनि मधुरो उज्यालो मात्रै भएका तीनवटा कोठा । सहारा वा लठ्ठीबिना चन्दको खुट्टाले भर पाउँदैन । न त स्पष्ट वाक्य फुट्छ । चार वर्षअघिदेखि उनको खुट्टामा समस्या आएको हो । पाँच महिनायता भने बोलीसमेत बस्यो । लगातारको थेरापीपछि बल्लबल्ल दुईचार शब्द बोल्न सक्छन् । तर, पनि प्रस्ट भएको छैन । दिनहुँ औषधिको ट्याब्लेट र थेरापीको सहाराले जिइरहेका छन् ।
२०३६ सालमा ‘जीवनरेखा’मा ट्रक ड्राइभरको भूमिकाबाट चलचित्र दुनियाँमा प्रवेश गरेका जयनेन्द्रले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरे । भारतका सातवटा र पाकिस्तानका चारवटा चलचित्रमा पनि उनको अभिनयकला फैलियो । सायद अरू पेसामा लागेका भए अहिले जस्तो छ, त्योभन्दा सुखी हुन्थ्यो होला उनको बुढ्यौली । अहिले त अँध्यारो कोठा अनि भाडा तिर्नै धौधौ पर्ने अवस्था । चलचित्र विकास बोर्डले दिने मासिक एक हजार पाँच सय रुपियाँले के पुग्छ र अहिलेको महँगीमा । खर्च धान्न आफ्ना थुप्रै आवश्यकता र चाहना खुम्च्याउनुपर्ने स्थितिको कल्पना उनले सायदै गरेका थिए होलान्, उस बेला ।
अलिअलि कमाएको पैसा पनि लगातार उपचार गर्नुपर्दा सकियो । साथमा बुढ्यौली अनि रोग । मान्छेले बलेको आगो मात्रै ताप्छन् । धन हुनेको पुजारी बन्छ समाज । कलाकारको समाज पनि यो तीतो यथार्थबाट बाहिर छैन । विगत सम्झेर आँखा रसिलो बनाए जयनेन्द्रले । कामले भ्याइनभ्याइका ती दिन र हिजोआजका पट्यारिलो एकान्त नितान्त फरक छ । सायद उनी मनमनै भक्कानिन्छन् तर खुलाउँदैनन् ।
०००
१९८५ सालमा पश्चिम नेपालको बैतडीमा जन्मिएका उनले भारतको दिल्ली कलेजबाट स्नातक सम्पन्न गरेका छन् । भारतीय सेनामा सेकेन्ड लेफ्टिनेन्ट भएर पाँच वर्ष काम गरे । त्यहाँ रहँदा नेपालको मायाले तानिएका चन्दले इन्डोनेसियन दूतावासमा पनि पाँच वर्ष काम गरे । २०२३ सालमा इन्डोनियाको राजदूतावास बन्द भएपछि एउटा डिस्टिलरीमा म्यानेजर बने । त्यही समयमा चेतन कार्कीले ‘जीवनरेखा’ मा गरेको अभिनयप्रस्तावले उनको यात्रा चलचित्रतिर मोडिदिएको हो । त्यसमा ड्राइभरको भूमिकामा राम्रै गरी जमेपछि उनलाई चलचित्रक्षेत्रले जान दिएन । जागिर छोडेर कलाकारितामै लागे । अधिकांश चलचित्रमा धनी अनि सम्भ्रान्त व्यक्तिको भूमिका पाए उनले । अनि केहीमा भिलेन पनि बने । आफूलाई ‘भर्सटाइल’ प्रमाणित गरे ।
वास्तविक जीवन र कलाकारिताको जीवनबीच कति फरक हुन्छ ? गतिलो किताब बनेका छन् जयनेन्द्र । चलचित्रमा देखाएको अभिनयकै कारण बाटोमा हिँड्दा पनि दर्शकको वाहवाही बटुल्थे कुनै बेला उनी । अभाव उतिबेला पनि थियो । कोठामा फर्किंदा पर्स रित्तै हुन्थ्यो, अनि खानेकुरा जुटाउनै धौधौ । त्यो अभाव बिर्साइदिन्थ्यो दर्शकको मायाले । तर, आज त्यो वाहवाही सेलाएको छ । निर्देशकको अनुरोध रोकिएको छ । तर, जयनेन्द्रलाई अझै विश्वास छ– ‘पहिलेझैँ सशक्त अभिनय गर्न सक्छु ।’ उमेरका कारण निर्वाह गरिने भूमिका फेरिएला तर कमजोर हुन नदिने दाबी गर्छन् ।
सैयौँ दृश्यमा रोएका छन् जयनेन्द्र । तर, भन्छन्, ‘ग्लिसिरिन कहिल्यै प्रयोग गरिनँ ।’ यसको अर्थ पात्रको पीडालाई मनैदेखि अनुभूत गरेर त्यसमा डुब्न सक्ने खुबी उनमा छ, जुन एउटा कुशल अभिनेतामा मात्र हुन्छ । चलचित्रको दु:खी पात्रसँगै भक्कानिन्थे उनी, उनको त्यही खुबी क्यामेरामा कैद हुन्थ्यो, चलचित्रको सम्पत्ति बन्थ्यो । तर, आज उनको वास्तविक जीवनको पीडा मनमा कैद गरेर सहयोग गर्ने चलचित्रकर्मी नगन्य छन् । चन्द सक्रिय कलाकारितामा रहँदा हात जोड्नेहरूमध्ये अधिकांशले वास्ता गर्दैनन् । आफूले काम लगाउँदा स्क्रिनमा पात्र बनेका बेला आफ्नै जसरी पीडाको अनुभूत गर्ने एक कलाकारको वास्तविक जीवनको पीडा सायद उनीहरूले महसुस गरेका छैनन् ।
चार वर्षअघि ‘भागीभागी नजाऊ’ चलचित्रमा बुबाको भूमिका गरेपछि फाट्टफुट्ट एकदुई सिनबाहेक उनले चलचित्र खेल्न सकेनन् । खुट्टाको समस्याले हिँड्न दिएन । त्यसपछि बोल्न पनि समस्या । शरीरमा अशक्तता थपिएपछि घरभित्रका तीनवटा कोठा नै उनको दुनियाँ बनेको छ । आफूभित्रै दुखिरहेछन् । लामो कलाकारितायात्रामा आफूले कसैको चित्त दुखाएको उनलाई याद छैन । ‘कलाकारिता जीवनमा कसैसँग नराम्रो सम्बन्ध बनेन,’ उनले भने, ‘तर, सम्बन्धहरू शरीरमा तागत रहुन्जेल मात्रै दिगो हुने रहेछन् ।’
कलाकार देशका गहना हुन् । यो एउटा औपचारिक वाक्यभन्दा बढी हुन सकेको छैन, व्यवहारमा । गहनाको उचित संरक्षण गर्न नसके त्यसको के शोभा र ? चलचित्रक्षेत्रमा सहायक भूमिकामा रहेर पनि लामो समय सशक्त अभिनय गरेका जयनेन्द्रलाई सरकारले उचित सम्मान दिन सकेको छैन । उनीसँग नेपाली चलचित्रका आगामी पुस्तालाई हस्तान्तरण गर्न योग्य थुप्रै सीप बाँकी छन् पक्कै । तर, त्यो अवसर छैन । न त उनको क्षमताको संरक्षण छ । कार्यस्थलमै लडेर घाइते भएका उनले जीवनपर्यन्त कलाकारिताबाट आफूलाई वञ्चित बनाउनुपर्ने परिस्थिति निम्तिएको छ । आर्थिक अभाव अनि रोगले खाएको शरीर लिएर पनि जयनेन्द्र भने नेपाली कलाकारिता क्षेत्र फस्टाएको हेर्ने चाहना राख्छन् । भन्छन्, ‘चलचित्रमा अश्लील दृश्य आजको माग होइन, सामाजिक विषयवस्तुलाई सूचना तथा चेतनामूलक अनि कलात्मक ढंगले उठाउनु जरुरी छ ।’
‘नग्न फोटो र अश्लीलता चलचित्रको धर्म होइन,’ उनको अनुभव । बेडअगाडिको टेलिभिजन सेटमा चलचित्रबारेका टिप्पणी हेरिरहँदा उनलाई चलचित्र क्षेत्रले बाटो बिराउन लागेझैँ महसुस हुन्छ । तर, उनको कुरा सुन्ने को छ र ? त्यसैले एउटा कालाकार भएर कलाकारिताको मर्यादा राख्न पनि उनी स्वस्थ भएर अझै चलचित्र खेल्न चाहन्छन् । आफूलाई एउटा मर्यादित कलाकारको रूपमा दर्शकमाझ उभ्याइरहन चाहन्छन् । हरेक पर्दामा गरेको अभिनयले उनलाई सबैभन्दा धेरै सन्तुष्टि दियो । सायद, मनको सन्तुष्टिको तह नाप्ने कसी आजसम्म बनेको छैन । त्यसैले कुनै पनि भूमिकालाई सानो देख्दैनन् उनी । तुलनै गर्दैनन् । सबै भूमिकाबाट उत्तिकै सन्तुष्टि भेट्छन् ।
अभिनयकालको स्मृतिमा फर्केपछि आफ्नो योगदानको कदर गर्दै सरकारका तर्फबाट लाइफटाइम अचिभमेन्ट पाउने अपेक्षा व्यक्त गर्न भुल्दैनन् चन्द । फेरि थर्थराएका दुवै हात विस्तारै उचालेर इसारा गरे, ‘म मृत्युपर्यन्त एउटा राम्रो कलाकार बनिरहन चाहन्छु ।’ यतिबेला पतिको आडैमा बसेर उनका अनुभूति सुनिरहेकी जीवनसंगिनी शान्तिका आँखा रसाइरहेका देखिन्थे ।

प्रतिक्रिया