आधा मिनेटमा मोबाइल फुल चार्ज

Chargके तपाईं मोबाइल फुल चार्ज हुन घन्टौं कुनुपर्ने समस्याबाट दिक्क हुनुहुन्छ ? कतिपय अवस्थामा तपाईंको व्यस्त दैनिकी यसका लागि बाधक बनिरहेको हुन सक्छ । कतिपयलाई चाहिँ मोबाइलमा आउने अधिक कलका कारण दिनभरि चार्ज पुर्‍याउनै मुस्किल परिरहेको हुन्छ ।
विश्वका धेरै मोबाइल प्रयोगकर्ताको साझा समस्या हो यो । तर, अमेरिकामा अध्ययनरत एक भारतीय विद्यार्थीको दाबीलाई पत्याउने हो भने तपाईं अब यो झन्झटबाट मुक्त हुनुहुनेछ । भारतीय छात्रा ईशा खरेले यस्तो उपकरण बनाएकी छन्, जसले २० देखि ३० सेकेन्डभित्रै ब्याट्री फुल चार्ज गरिदिन्छ । यसका लागि ईशाले मोबाइल ब्याट्री अटाउने सानो तर विशेषखाले उपकरण बनाएको दाबी गरेकी छन् । त्यो उपकरणलाई गाडीको ब्याट्री चार्जमा पनि प्रयोग गर्न सकिनेछ ।
यो उपलब्धिका लागि १८ वर्षीया ईशालाई इन्टेल फाउन्डेसन यङ अवार्डबाट सम्मानित गरिएको छ, साथमा ५० हजार डलरको स्कलरसिप पनि । कम्प्युटर उपकरण उत्पादनमा विश्वको गन्यमान्य कम्पनी इन्टेलले हरेक वर्ष विश्वका अलगअलग स्कुलका करिब ७० लाख विद्यार्थीबीच प्रतियोगिता आयोजना गर्दै आएको छ। सोही प्रतियोगिता दौरान ईशाको उपलब्धि सार्वजनिक भएको हो ।
अवार्ड घोषणापछि ईशाले भनिन्, ‘मोबाइल फोनको ब्याट्री चाँडै सकिएर म हैरान भइसकेकी थिएँ, त्यसैले मलाई यो उपकरणमाथि काम गर्न हौस्यायो । अहिले यति उत्साहित छु कि मलाई आफ्नो जितमाथि विश्वास गर्नै मुस्किल परिरहेछ ।’
प्रतियोगितामा विद्यार्थीहरू विज्ञान, प्रविधि, गणितको विभिन्न शोधमा आधारित रहेर बनाइएका उपकरण प्रस्तुत गर्छन् । यसपालिको प्रतियोगितामा क्वान्टम थ्यौरी तथा पर्यावरण संरक्षणका तरिकासहित बिमारीको उपचार र प्राविधिक उपकरण निर्माणसम्मका योजना पेस गरिएका थिए । आफ्नो पालोमा ईशाले सो उपकरणमार्फत एलइडी अर्थात् लाइट एमिटिङ डायोड चलाएर देखाएकी थिइन् । ईशाका अनुसार उनले ननटेक्नोलोजीका मद्दतले आफ्नो यो उपकरणमा अधिक ऊर्जा केन्द्रित गर्ने प्रविधि विकास गरेकी छन्, जसबाट केही सेकेन्डमै चार्जिङ पूरा गर्न सकिन्छ ।
प्रतियोगिताका विजेताहरूलाई अमेरिकी राज्य एरिजोनाको फिनिक्स सहरमा आयोजित कार्यक्रमबीच सम्मानित गरिएको थियो । हाल क्यालिफोर्नियाको एक विद्यालयमा पढ्दै गरेकी ईशा यसै वर्ष हार्वर्ड विश्वविद्यालयमा ननकेमिस्ट्री अध्ययनका लागि जाँदै छिन् ।
प्रतियोगितामा विश्वभरिका लाखौँ विद्यार्थीबाट छाँटिएका १६ सय विद्यार्थीमध्ये सिर्जनात्मक उत्कृष्टताका आधारमा उत्कृष्ट तीन विद्यार्थी पुरस्कृत हुँदै आएका छन् । पहिलो हुनेलाई ७५ हजार डलरको इनाम दिइन्छ भने दोस्रो र तेस्रो हुनेलाई ५०–५० हजार डलर । यसपालि ईशाले दोस्रो पुरस्कार पाइन् । पहिलो पुरस्कारको हकदार भने रोमानियाका १९ वर्षीय विद्यार्थी आयोनेट बुडिस्टिनो भए । उनले एउटा निकै सस्तो स्वचालित कारको मोडल प्रस्तुत गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया