दैलेख–अछाम जोड्ने पुल बन्दै

Achham-Jodne-Pulदैलेख, १७ जेठ । दैलेख र अछाम जिल्ला जोड्ने दुई बेग्लाबेग्लै स्थानमा पक्की पुल निर्माण भइरहेका छन् । सडक विभाग र मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत ती पुल निर्माण गर्न थालिएका हुन् । कर्णाली नदीमा पुल नहुँदा दुई छिमेकी जिल्लाबीच यातायात सम्पर्क जोडिएको छैन ।
दैलेखको जाक्सी र राकमकर्णालीबाट अछाम कालिकास्थान जोड्ने पुल निर्माण धमाधम सुरु भएको छ । कर्णालीमा पक्की पुल नहुँदा कर्णाली राजमार्गबाट अछाम पुग्न फेरी तर्नुपर्ने बाध्यता थियो । दैलेखको सिंगौडी गाविस–९ जाक्सीका धीरेन्द्र माझीले पुल निर्माण भएपछि कर्णालीपारि पुग्न अनावश्यक सास्ती भोग्नु नपर्ने आशा व्यक्त गरे । ‘छिमेकी जिल्ला भए पनि सिधा यातायात सम्पर्क नहँुदा यो क्षेत्र पिछडिएको थियो,’ उनले भने, अब दुई ठाउँमा पुल बनेपछि बाह्रै महिना छोटो यात्रा गर्न पाइने भो ।’ पुल बन्नुले अछाम र पश्चिम दैलखबासीको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । मध्यपहाडी राजमार्ग विस्तारका कारण गाउँगाउँमा स–साना बजारसमेत विस्तार भएका छन् । सिधा यातायात सम्पर्क नहँुदा दैलेख र सुर्खेतबाट कोहलपुर, धनगढी, डोटी हुँदै अछाम सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
जिविस दैलेखका सामाजिक विकास अधिकृत दिलबहादुर शाहीले अछाम र दैलेखबीच यातायात सम्बन्ध जोडिनु दुवै जिल्लाका लागि सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक हित हुने बताए । वर्षात्मा फेरी अवरुद्ध हुने समस्याले गर्दा यात्रुले अनावश्यक सास्ती भोग्नुपर्ने बाध्यता छ । ‘पुल बनेपछि फेरीको जोखिम हट्यो,’ शाहीले भने, पक्की पुल निर्माणबाट सबैभन्दा बढी लाभ व्यवसायी र यात्रुले पाउनेछन् उनले भने ।’
मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेखको जाक्सीबाट अछाम कालिकास्थान गाविसको टोड्केसाल जोड्ने २ सय मिटर लामो पुल बन्दै छ । सो पुल १ सय २७ मिटर पक्की र ७५ मिटर बेलिब्रिज बन्न लागेको हो । यसको निर्माण जिम्मेवारी सपना एन्ड कालिका कन्ट्रक्सन प्रालिले लिएको छ । १७ करोड लागतको यो पुल आगामी तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । सडक विभागअन्तर्गत राकमकर्णाली–अछाम जोड्ने अर्को पुल निर्माणको जिम्मा कुमार श्रेष्ठ/राजेन्द्र जेभी निर्माण सेवाले लिएको छ ।
कम्पनीका इन्जिनियर भीष्म लिम्बूका अनुसार ६ मिटर चौडा र १ सय २५ मिटर लम्बाई डिजाइन गरिएको उक्त पुल ०७१ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने छ । यसको लागत १३ करोड १३ लाख छ । हाल दुवै पुलको पिलर ढलानको काम भइरहेको छ । वर्षात्को समयमा कर्णालीको बाहाब बढेपछि निर्माण भने प्रभावित हुनेछ । त्यस्तै, मध्यपहाडी राजमार्ग खण्डमा पर्ने कट्टीखोला, लोहोरेखोला, छामगाड, पादुकाखोला, सात्तलामा पक्की पुल निर्माण थालिएको छ । स्थानीयको विवादका कारण सदरमुकाम खण्डबाहेक राजमार्गको ट्रयाक खोल्ने काम पूरा भइसकेको छ ।

प्रतिक्रिया