विदेशी सीप स्वदेशमा

Deukhuriदेउखुरी, १७ जेठ । ओमप्रकाश थापा भारतको नयाँदिल्लीमा १५ बर्ष बसे । उनले त्यहाँ सूर्य, फिलिप्सजस्ता उद्योगमा काम गरे । विदेशमा आर्जित सीप अहिले गाउँघरमा खर्चिरहेका छन् ।
‘भारतमा लामो समयसम्म बसियो, सीप पनि सिकियो तर यसलाई विदेशमा भन्दा स्वदेशमै खर्चिने उद्देश्य राखेर उद्योग खोलेको हुँ,’ थापाले भने, ‘उद्योग खोलिएको छ तर स्थानीय व्यापारीले अझै विश्वासिलो तरिकाले हेर्न सक्नुभएको छैन ।’ विदेशमा सिफएल चिम उत्पादन गर्ने सीप सिकेका थापाले लमहीकी कमला खनालसँग संयुक्त रूपमा मिली बल्ब उत्पादन गर्ने उद्योग नै खोलेका छन् । गत कात्तिकदेखि रातोडाँडामा गौमुखी सिफएल चिम उद्योग सञ्चालनमा आएको हो । तर, अहिले उद्योगले बजारको समस्या भोगिरहेको छ । दैनिकजसो चिम उत्पादन भइरहे पनि बजारमा खपत कम भइरहेको छ । बजारको समस्या भए पनि चिम स्थानीय स्तरमै उत्पादन हुन थालेपछि बाहिरी जिल्ला जानुपर्ने समस्या टरेको छ ।
करिब १२ लाखको लागतमा स्थापित चिम उद्योगमा दैनिक करिब दुई सय चिम उत्पादन गर्ने क्षमता छ । ‘दैनिक दुई सयजति उत्पादन गर्ने क्षमता छ,’ कमला खनालले भनिन्, ‘व्यापारीको मागअनुसार बल्ब बनाउँछौँ ।’ बल्ब बनाउन चाहिने सबै कच्चा पदार्थ भारतबाट ल्याउनुपर्छ । भारतबाट ल्याएका कच्चा पदार्थको प्रयोग गरी नयाँ बल्ब नेपालमा तयार गरिन्छ । ‘कच्चा पदार्थ सबै भारतबाट ल्याउने हो, यहाँ फिट गर्ने र बजारमा पुर्‍याउने काम हुन्छ,’ उनले भनिन्, ‘बल्ब बनाउन मसला, इलेक्ट्रिकल सामान अवाश्यक पर्छ, सबै सामान जोडेर बल्ब बनाइन्छ ।’ लमहीमा बनाइएका बल्ब प्युठान, रोल्पा र स्थानीय बजारमा खपत भइरहेको छ । तर, स्थानीय लमही बजारमा भने व्यापारीले खासै बल्ब नराख्ने गरेको गुनासो उद्योग सञ्चालकको छ । ‘हाम्रो उत्पादनलाई विश्वास गर्नुस्, विदेशको सीप नेपालमा प्रयोग गरी उत्पादन गरिरहेका छौँ,’ खनालले भनिन्, ‘बजारमा सामान लिएर जाँदा खासै वास्ता गरिँदैन ।’ उद्योगबाट कममा पाँचवाटदेखि बीसवाटसम्मका बल्ब उत्पादन हुने गरेको छ । व्यापारीको मागअनुसार वाट थप्दै जान सकिने सञ्चालकको भनाइ छ । एउटा बल्बको कममा एक सय ५० देखि बढीमा दुई सय १० रुपियाँसम्म मूल्य पर्छ ।

प्रतिक्रिया