स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित

TU
काठमाडौं, १६ जेठ । विद्यार्थी संगठनहरुको आ–आफ्ना अडानका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
त्रिभुवन विश्व विद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र चार ठूला विद्यार्थी संगठनका नेताहरुबीच आज (बिहीबार) कीर्तिपुरमा भएको वार्तामा सहमति हुन नसके पछि निर्वाचन स्थगित भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ‘स्ववियु निर्वाचन अर्को सूचना नभए सम्मका लागि स्थगित भएको छ,’ उनले भने, ‘एमाओवादी निकट अखिल क्रान्तिकारीका कारण समस्या समाधान हुन सकेन ।’
नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले निर्वाचन प्रयोजनका लागि भएका नयाँ विद्यार्थी भर्ना खारेजीको माग गरेको थियो । यद्यपि एमाओवादी निकट अखिल अनेरास्ववियुले भने नयाँ भर्नालाई खारेज गर्न नहुँने अडान लिए पछि विवाद उत्कर्षमा पगेको विद्यार्थी नेताहरुले जनाएका छन् ।
नेविसंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले स्ववियु निर्वाचन प्रभावित भएकोमा आक्रोश जनाए । ‘स्ववियु निर्वाचन गराउन नेविसंघले आन्दोलन गर्छ,’ उनले भने, ‘दुई अखिल क्रान्तिकारीका कारण क्याम्पसको निर्वाचन प्रभावित बनाउनु हुँदैन ।’
निर्वाचन नजिकिदै गर्दा एमाले निकट अनेरास्ववियु र एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले एकमुष्ट नयाँ भर्ना गरे पछि विवाद उत्पन्न भएका थिए । सोही विरोधमा नेकपा–माओवादी निकट अखिल (क्रान्तिकारी)ले विभिन्न क्याम्पसका प्रशासनमा तालाबन्दी समेत गरेको थियो ।
स्ववियु निर्वाचन जेठ–२३ गते हुने कार्यक्रम थियो । यस अघि जेठ–१३ गते निर्वाचन गर्ने भनिए पनि विवाद भए पछि पुन: सारिएको थियो ।

प्रतिक्रिया