घिमिरेको शून्य समय प्रकाशित

Sunya-Samaya-imageकाठमाडौं : पत्रकार युवराज घिमिरे लिखित नेपालमा जारी विद्यमान राजनीतिक अन्योल र तरलताका विविध विषयमाथिको विश्लेषणात्मक कृति शून्य समय प्रकाशन भएको छ । रानधानीमा केही दिनदेखि जारी पुस्तक मेलाको अवसर पारेर सो पुस्तक प्रकाशन गरिएको हो ।
पुस्तकमा ०४६ सालको जनआन्दोलन, माओवादी सशस्त्र आन्दोलन, ०६१ को ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन, बृहत् शान्ति–सम्झौता, संविधानसभाको चुनावलगायत प्रमुख घटनाक्रमका कारण र त्यसको परिणतिलाई वस्तुगत ढंगमा केलाइएको छ ।
पत्रकार घिमिरेले सेनामा देखिएको राजनीतिक प्रभाव र त्यसले जन्माएको विसंगति, प्रहरी प्रशासनमा रहेको भ्रष्टाचार, डार्फर घोटाला, पारस रुबेल झगडा तथा नेपाल–भारत सम्बन्ध, नेपालमा विदेशी नियोगको बढ्दो चलखेललगायत विषयमा खुलासा गरेका छन् । पत्रकारिता क्षेत्रभित्रका विसंगतिका विविध पाटासमेत केलाइएको यस पुस्तकले वर्तमान नेतृत्वको रेग्मी सरकारको औचित्यदेखि लोकमानसिंह कार्की प्रकरणसम्मका दीर्घकालीन महत्वका विषयवस्तुको विश्लेषण गरेको छ । त्यस्तै, पुस्तकमा विविध सामाजिक मुद्दालाई पनि प्राथमिकतासाथ उठान गरिएको छ ।
भारतमा पत्रकारिता पढेर भारतका प्रमुख समाचार पत्रहरूमा संवाददाता रहिसकेका पत्रकार युवराज घिमिरेले इन्डियन एक्सप्रेस, टेलिग्राफ, इन्डिया टुडे, आउटलुकलगायतमा काम गरिसकेका छन् । उनले बिबिसी नेपाली सेवामा काम गरेपछि कान्तिपुर दैनिकका सम्पादकका रूपमा नेपाल आएका हुन् । त्यसअघि उनी हिमाल खबरपत्रिकामा स्तम्भकार थिए । कान्तिपुरबाहेक उनी समय, राजधानीलगायत सम्पादक रहिसकेका छन् । हाल उनी सेतो पार्टीसँग सम्बद्ध छन् ।
घिमिरेको पुस्तकलाई अर्किड बुक्सले प्रकाशन गरेको हो । अर्किडले असअघि स्तम्भकार सौरभको स्तम्भहरूको संग्रह सौरभका २५ वर्ष, किशोर कुँवरको राष्ट्रभक्तिको उदय र उपहास पनि प्रकाशन गरिसकेको छ । (सौस)

प्रतिक्रिया