सगरमाथा चुचुरोमा पहिलो अपांग महिला

Apang-Mahilaभारतकी अरुणिमा सिन्हा सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने विश्वकै पहिलो विकलांग महिला बनेकी छन् । लामो समयको अथक मेहनतपछि उनले केही दिनअघि मात्रै चुचुरो छुने सफलता पाएकी हुन् ।
दुई वर्षअघिको एउटा घटना । ट्ेरनयात्राका क्रममा एक बदमासले उनको पर्स तानेर भाग्ने प्रयास गर्‍यो । घम्साघम्सीमा अरुणिमालाई ट्रेनबाट बाहिर फालिदियो । यो दुर्घटनामा सख्त घाइते अरुणिमालाई बचाउन डाक्टरले उनको एउटा खुट्टाको घुँडामुनिको भाग काटिदिए । त्यसपछि अरुणिमा कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्न बाध्य भइन् ।
पुख्र्यौली थलो भारतको उत्तर प्रदेश रहेकी अरुणिमा एक जमानामा भलिबलकी राष्ट्रिय खेलाडी थिइन् । उनको आरोहण अभियालाई टाटा स्टिल एडभेन्चर फाउन्डेसनले प्रायोजन गरेको थियो । फाउन्डेसनले अभियानको आयोजना तथा अरुणिमाको मार्गदर्शनका लागि एसियन ट्रेकिङ कम्पनीसँग सम्पर्क बढाएको थियो । कम्पनीका संस्थापक आङछिरिङ शेर्पाले भने, ‘हामीलाई अरुणिमाको घटना थाहा थियो । अनि यो पनि थाहा थियो विगतमा सक्रिय खेलाडी भएकै कारण उनले त्यो कठिन परिस्थितिसँग जुध्ने हिम्मत जुटाएकी थिइन् ।’
कम्पनीले २०१२ को आरोहण सिजनमा उनलाई नेपालमा प्रशिक्षण दिलाएको थियो । शेर्पाका अनुसार सुरुमा अरुणिमाका आरोहण गाइड उनको मन्द रफ्तारप्रति चिन्तित थिए । आखिर उनीहरूको आरोहण दल ८ हजार ७ सय ५० मिटरसम्म पुग्न सफल भयो, जहाँबाट शिखरको यात्रा प्रारम्भ हुन्छ । शेर्पाले सुनाए, ‘त्यहाँसम्म पुगेपछि उनको आत्मविश्वास बढ्यो, फुर्तिली देखिइन्, गति पनि बढ्यो ।’ ५२ दिनको अभियानपछि आखिर गत ७ गते मंगलबार बिहान १० बजेर ५५ मिनेटमा २६ वर्षीया अरुणिमाले चुचुरोमा आफ्नो कृत्रिम पाउ राखेरै छोडिन् ।
सगरमाथा आरोही प्रथम भारतीय महिला बछेन्द्री पालले अरुणिमालाई बधाई दिइन्, ‘अरुणिमाको जोस, इच्छाशक्ति र मानसिक सबलता प्रशिक्षणकै क्रममा देखिइसकेको थियो । त्यसैका सहारामा उनले सारा व्यवधान पार गरिन्, आखिरमा विश्वभरिकै महिला अनि विकलांगहरूका लागि गतिलो प्रेरणास्रोत बनिन् ।’
पर्वतारोहणका लागि मे महिना सबैभन्दा राम्रो मानिन्छ किनकि यस बेला मौसम सबैभन्दा अनुकूल हुन्छ । यस वर्षको यो अवधिसम्ममा मात्रै सयौंले सगरमाथा चुचुरो छोइसके । बेलायती पर्वतारोही टम ह्विटेकरले सन् ११९८ मा सगरमाथामाथि विजय गर्ने पहिलो अपांग व्यक्तिका रूपमा रेकर्ड बनाएका छन् । त्यसको करिब दुई दशक पहिले भएको एक कार दुर्घटनामा उनले आफ्नो खुट्टा गुमाएका थिए ।
ऐतिहासिक सफलतापछि अरुणिमाको प्रतिक्रिया यस्तो थियो–
‘दुर्घटनापछि सबै जना मबारे चिन्तित थिए । म सोचिरहेकी थिएँ– विकलांग हालतमै भए पनि मैले यस्तो केही विशेष गरेर देखाउनुपर्छ, मानिसहरू ममाथि दया देखाउन बन्द गरुन् ।’ (एजेन्सी)

प्रतिक्रिया