धर्म र नेपालको विगत संविधानसभा

Shiva-datta-Dhakalधर्म के हो ? यस प्रश्नको उत्तरमा श्रवण गर्ने हुनाले श्रुति हो, जान्ने वेद (ज्ञान) हो स्मरण गर्ने स्मृति हो र धर्मशास्त्रको व्याख्या देश काल लोकसम्मत हुन्छ । श्रुतिस्मृति धर्मका दुई आँखा छन् । वेद धर्मको खानी हो, वेदको प्रसंगमा धर्मचर्चा हुन्छ भने वेदद्रष्टा धर्मज्ञ स्मृति, धर्मशास्त्रप्रणीत महर्षि हुन् । वेद अनुकूल स्मृतिधर्म व्याख्या सर्वजनहिताय तथा बहुजनसुखाय छ भने त्यो जन अनुमोदित हुन्छ । लोकतन्त्र, जनतन्त्र, प्रजातन्त्र एवं गणतन्त्र बहुजनहितका पर्यायवाची शब्द हुन् । प्रजा, लोक, दुनियाँ, जन, जनतागण तथा संसार वा विश्वलगायतका शब्दले सरल समष्टि भावको अर्थवाचन गर्छन् । सम्पूर्ण जगत्को समय देश कार्यअनुसारको स्थिति रहन्छ । निर्गुण सगुण जे भए पनि स्वधर्मले कल्याण गर्छ जतिसुकै गरे पनि परधर्म भयकारक नै हुन्छ, सत्त्व, रज, तम त्रिगुणात्मिक धर्म पनि आफूअनुकूल हुन्छ । आध्यात्मिक आधिदैविक आधिभौतिक जगत्् प्रतिकूल अवस्था नै परिपन्थी हो अर्थात् शत्रु हो । धर्म स्वदेश परदेश सर्वत्र मित्र हो परिपन्थी पाप हो, अधर्म हो । धर्माधर्म दुई पाटा छन् । दुष्कृतिको निवृत्ति सत्कर्ममा प्रवृत्ति लोकतन्त्रको पनि आभूषण हो । स्वदेशको मित्र हो,  निराकार साकार दुवै सनातन छन् । धर्म अर्थ काम मोक्ष पुरुषार्थ चतुष्टय सिद्धिसहायक  लोकतन्त्र धर्मछाडा हुँदैन । अत: लोकतन्त्रमा धर्मलाई न्यूनीकरण गरिँदैन धर्मको सम्मानबिना पनि लोकतन्त्र संकटमा पर्छ । धर्मको अभावमा त कसैको पनि भलो हुँदैन, जति पनि अनिष्ट वा इष्टको विगत र वर्तमान छ त्यो मानिसका सजगताको लागि उदाहरण हो, शिक्षा पनि हो । शिक्षाको आधार पनि धर्म नै हो । धर्मात्माहरूबाट नै लोकशिक्षण प्रारम्भ भएको हो धर्मज्ञानका लागि शिक्षा अनिवार्य छ शिक्षाको प्रथमचरण आचार हो र अगाडि सत् थप्दा सदाचार शब्द बन्छ । श्रुतिस्मृति सदाचार त्रिविधो धर्म: भनिएको छ । इति ह अस= इतिहास यस्तो भएको छ भन्ने चेतना जनमानसमा निश्चित भएपछि बल्ल जागरणको प्रारम्भ हुन्छ, अँध्यारो रहेसम्म सूर्य न उदाउन्जेल दिनको उज्यालो कसैले पनि देख्दैन । रातमा रमाउनेहरू किं वा प्रतीक्षकको भनाइ छ रात रहे अग्राख पलाए । धर्म दिनझैँ छल्र्लंग उज्यालो हुन्छ भने रातविपरीत स्थिति हो । इतिवृत्त आफैँ बोल्छ श्रुतिस्मति दृष्टिगोचर हुन्छ धर्माधर्म कार्यफल सबलाई अवगत हुन्छ जस्तै: ०६४–६९ सम्म संविधानसभाको रामछायामा देशवसीलाई घुमाउनसम्म घुमाइयो सोझा नेपालीलाई अँध्यारोमा पारियो अन्ततोगत्वा मृगमरीचिकामै सबैलाई रणभुल्ल पारियो यो पनि अधर्मको पराकाष्ठा नै थियो । प्रायश्चित कसले गराउँछ ? कर्ता स्वयं नैतिक, धार्मिक छैन भने राष्ट्रको कानुन हुन्छ त्यो पनि भएन भने अनेक प्रकारका संकट कसैले पनि रोक्न सक्दैन उदाहरणका लागि अन्त कुनै बाहिरी देश र ती देशका अगुवाको पाठ चाहिँदैन आफ्नै देश नेपालको अवस्था अवलोकन गरे पुग्छ ।
अब लगौँ विगतको पच्चीसवर्ष के थियो ? २५वर्ष भनेको देवताको उमेर हो पञ्चायतले त रजतजयन्ती मनाएको थियो विगत २५वर्ष कसरी बित्यो ? यो समय नेपाल रष्ट्रको अभिभारा वहन गर्ने को कहाँ छ ? बत्ती बालेर खोजी गर्ने कुनै नेपाली जन्म्यो कि जन्मेन ? माओवादीको दशवर्षे सशस्त्रजनयुद्ध निशाचरी कोलाहल थियो । राक्षसी हिंसामा अधर्मको जरो गाडिएको थियो र काँडोलाई काँडोले नै झिक्न धर्म निरपेक्षताको वाण चलाइएको थियो । भस्मासुर उत्पत्ति हुनुपूर्व माओवादी पार्टी फुटेर दुई चिरा पर्‍यो किनभने संविधानसभाको चुनावमा जितुवा भएर सबलाई हरुवा नामकरण गरी लल्कारेपछि नीलो रंगले रंगिएको स्यालमति सकलले चिनिहालेका थिए । काग र कोइलीको भेद बोलीबाटै पहिचान भएपछि आत्मभेद लुकाउन तीव्र मतभिन्नताका कारण अलग्गिए । ंिहंस्रकहरूको चिरस्थायित्व पनि सम्भव हुन्न । भनिन्छ हिंस्रकप्राणी कायर भएर आक्रमण गर्छ सुरो बनेर वनतिर भाग्छ । यौटा भनाइ छ स्यालको काल आयो भने सहरतिर पस्छ कतै प्रचण्डको दशा विग्रेर त होइन चीन र भारत भ्रमण भएको । न राष्ट्रपति न प्रधानमन्त्री न त जनसेनापति न जनमनपति अरे वा स्वयं घोषित राष्ट्रप्रतिनिधि कसले बनायो चीन र भारतको यात्रा प्रचण्डका निमित्त कि हावाहुरीले उडायो । यो एउटा पखँेटा उम्रेका कमिलाको उडान जतिको पनि अर्थ न भएको चित्रणमा विचार– विश्लेषणको ताँती किन लाग्यो ? सम्यक् आचर समाचार कसरी बन्यो ? यो पनि अनुसन्ध्येय भएको छ ।
नेपालमा पछिल्लो समयमा जुन प्रकारको हिंसात्मक गतिविधि चल्यो सत्तासीनले गरेको अत्याचारको दाँजोमा निकै तल्लो स्तरको एवं निकै निकृष्ट काम थियो त्यसले राष्ट्रलाई मार्गनिर्देशन गरेन बल्कि अशिष्टता बढायो । नेपालको इतिहासमा भएका अन्य अप्रिय विगतलाई उछिन्यो र सैयौँ जघन्य कृत्य गर्‍यो हजारौँ राट्रिय संरचना ध्वस्तै पार्‍यो, लाखौँ जनधनको क्षति भयो त्यसको परिपूर्ति सम्भव छैन । ज्ञान, ध्यान, धर्मसंस्कृति सम्मान न्यायनिसाफै धमिलियो भने त्यस्तो रक्ताम्य भलबाढीबाट संविधाननिर्माणको आशा गरेर मतदान भएको थियो भन्ने विश्वास न गरे पनि निर्भीक भएर हैन डर र त्रासले एवं पराभवको मानसिकताले खसेको मतले गर्दा त्यसको हुनसम्म दुरूपयोग भयो । नेपालको इतिहासमा अर्को कलंक थपियो दुई वर्षे संविधानसभा बढेर चारवर्ष कसरी चल्यो । त्यसले केही पनि फल दिएन बरु राजस्वविनाश गर्‍यो,  न्यायनिसाफमै खडेरी पर्‍यो, दुर्भिक्ष अनिकाल अभाव चीत्कारभन्दा अरू राष्ट्रले के पायो ? लोकतन्त्र राष्ट्रवासीलाई आएन जसले राष्ट्रको हालीमुहाली समाते तिनीहरूकै झुटमुट कुरा सुन्दा सुन्दा राष्ट्र नै छक्कियो । लौ आयो ! आयो !! आयो !!! संविधान आयो, आयो भनेर राष्ट्रलाई नै थाङनामा सुताएकाहरूको कालो अनुहार देखिसकेपछि पनि कोही तिनीहरूकै पछि लाग्थ्यो र ! यदि अपराधीहरू नै राष्ट्रका अधिपति बने भने के सज्जनले अवसर पाउने आशा कसैले गर्न सक्ला त !
[email protected]

प्रतिक्रिया