रोल्पामा सरकारविरुद्ध जनमोर्चा

रोल्पा, जेठ १६ । छैटौँ गणतन्त्र दिवसको अवसर पारेर रोल्पामा राष्ट्रिय जनमोर्चाले खिलराज रेग्मी नेतृत्वको सरकार तथा चार दलीय सिन्डिकेटको विरोध गरेको छ । ‘निर्दलीय सरकारको विरोध गरौँ, संविधानसभाको निर्वाचन सुनिश्चित गर्न संघर्ष गरौँ, चारदलीय एकाधिकारवादको भण्डाफोर गरौँ, संघीयताको विरोध गरौँ, राष्ट्रियताको रक्षा गरौँलगायतका नारासहितको र्‍यालीले सदरमुकाम लिवाङ बजार परिक्रमा गरेको थियो । र्‍यालीपछि कोणसभालाई सम्बोधन गर्दै जनमोर्चाका केन्द्रीय सदस्य भरत भण्डारीले मुलुक अहिले चार दलीय सिन्डिकेटको दलदलमा फसेको बताए ।
‘चार दलको अकर्मण्यताका कारण मुलुक अहिले संक्रमणकालमा फसिरहेको छ, हिजो जातीय तथा संघीयताको विषयमा कुरा नमिल्दा संविधानसभा विघटन भएको हो,’ नेता भण्डारीले भने, ‘अहिले उनीहरू असफल भएर बहालवाला प्रधानन्यायाधीशलाई बुई चढाएर कार्यपालिकाको नेतृत्व दिएका छन्, यसले आगामी संविधानसभाको निर्वाचनलाई झनै अन्योल पारेको छ ।’
अधिकांश समय चार दलका शीर्ष नेता तथा वर्तमान सरकारको आलोचना गर्नमै खर्चेका भण्डारीले संघीयताले देशलाई बर्बाद पार्ने ठोकुवा गर्दै राष्ट्रियता बचाउन विगतदेखि आफ्नो पार्टी एक्लै लागि परेको बताए । ‘निर्दलीय सरकारको विरोध गरौँ, संविधानसभाको निर्वाचन सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ देशभर भइरहेका विरोधका कार्यक्रमअन्तर्गत रोल्पामा पनि आयोजना गरिएको राष्ट्रिय जनमोर्चा जिल्ला समिति रोल्पाले जनाएको छ ।

प्रतिक्रिया