११ वर्षीयाले छोरा जन्माइन्

rape-children-sketchविराटनगर, १६ जेठ । बलात्कारबाट गर्भवती बनेकी झापा खुदुनाबारीकी ११ वर्षिया एक बालिकाले बच्चा जन्माएकी छन् । कोसी अञ्चल अस्पताल विराटनगरमा बुधबार बिहान पौने ५ बजे ती बालिकाले एक किलो दुई सय ग्राम तौल भएको छोरा जन्माएकी हुन् । नातामा भिनाजु पर्ने झापाकै खुदुनाबारी–१ सिस्नेका ४० वर्षे सुरेन विकले बलात्कार गरेपछि उनी ११ वर्षको कलिलो उमेरमै गर्भवती भएकी थिइन् । उनै बालिकाले बुधबार साढे सात महिनाको बच्चालाई जन्म दिएकी हुन् ।
एक महिनादेखि विराटगरस्थित एबिसी नेपाल नामक संस्थाको संरक्षणमा रहेकी ती बालिकाले सामान्य तरिकाले बच्चा जन्माएको चिकित्सकहरूलाई उद्धृत गर्दै एबिसी नेपालकी विष्णु शर्माले जानकारी दिइन् । ‘उनलाई व्यथा लागेपछि मंगलबार बिहान ८ बजेतिर अस्पताल पुर्‍याएका थियौँ,’ एबिसी नेपालकी होस्टेल इन्चार्ज शारदा शाहले भनिन्, ‘अस्पताल पुर्‍याएपछि व्यथाले च्याप्न थाल्यो र बुधबार बिहान उनले बच्चा जन्माइन् ।’
आमाको स्वास्थ्य अवस्था राम्रो रहे पनि बच्चाको पूर्णविकास नभइसकेकाले अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकका अनुसार बच्चाको पूर्णतया विकास हुनका लागि नौ महिनाको समय चाहिने भए पनि उनले साढे सात महिनामै बच्चा जन्माएकी हुन् । बच्चालाई चिकित्सकले एनआइसियुमा राखेर उपचार गराइरहेका छन् । तौल कम भएका कारण बच्चालाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि अस्पतालमा भेन्टिलेटर नभएको र पूर्वका अन्य अस्पतालमा समेत खाली ठाउँ नभएका कारण बच्चालाई बचाउन मुस्किल भइरहेको शाहले बताइन् । आमालाई भने बुधबार दिउँसो ३ बजेतिर डिस्र्चाज गरिएको छ । ‘आमाको अवस्था राम्रो छ, अन्य प्रसूतिलाई दिने जति मात्रै औषधि दिइएको छ,’ शाहले भनिन् ।
करिब एक महिनाअघि स्वास्थ्य परीक्षणका क्रममा उनी गर्भवती रहेको थाहा भए पनि गर्भवती भएको सात महिना पुग्न लागेकाले गर्भपतन गराउन सकिएको थिएन । चिकित्सकले गर्भपतन गराउन नसकिने बताएपछि ती बालिकालाई एबिसी नेपालले नै संरक्षण गरेर राखेको थियो ।
पीडित बालिकाका अभिभावकले खोलामा गिट्टी कुटेर गुजारा गर्दै आएका छन् । छोरीले खुट्टा दुख्यो भन्ने गरेको र खुट्टा मिचिदिँदै जाँदा पेटमा सारो डल्लो भेटेपछि स्वास्थ्य संस्थामा परीक्षणका क्रममा ४ वैशाखमा मात्र उनको पेटमा गर्भ रहेको खुलासा भएको थियो । मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल अनारमनीमा उनको परीक्षण गर्दा सात महिनाको गर्भ रहेको जानकारी अस्पतालले दिएको थियो ।
स्थानीय बोडिर्ङ स्कुलका बसचालक विकले सात महिनाअघि ती बालिकालाई १० रुपियाँको नोट दिएर आफ्नै घरमा लगी बलात्कार गरेको ती बालिकाले बताएकी छन् । विक फरार छन् । घटनाबारे थाहा पाएपछि पीडित बालिकाका अभिभावकले अभियुक्तलाई कारबाही माग्दै प्रहरीमा जाहेरी दिएका छन् । विपन्न पीडित पक्षलाई कानुनी उपचारका लागि स्थानीय सहनशील महिला सहकारी संस्थाले सहयोग गरेपछि मात्र वैशाख १० गते इलाका प्रहरी कार्यालय अनारमनीमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया