यथास्थितिमा चुनाव गराउन सकिन्न

काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यकामा रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका प्रमुखहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव गराउन नसक्ने बताएका छन् ।
१५ वटा आंगिक क्याम्पसका प्रमुखहरूको मंगलबार बसेको संयुक्त बैठकले विद्यार्थी संगठनहरूले ताला लगाइरहेको अवस्थामा कुनै पनि क्याम्पसमा स्ववियु चुनाव गर्नसक्ने सहज वातारण नभएकाले चुनाव गर्न नसक्ने निष्कर्ष निकालेको हो । बैठकपछि संयुक्त विज्ञप्ति निकाली उनीहरूले अहिले चुनावको वातावरण नरहेको जनाउँदै यही परिस्थितिमा चुनाव गर्न नसक्ने बताएका छन् ।
पाटन संयुक्तका क्याम्पस प्रमुख अमन श्रेष्ठले सबै क्याम्पसमा ताला लगाइरहेको अवस्थामा चुनाव गर्ने वातावरण नभएको बताए । चुनावी प्रक्रिया अगाडि बढेको अवस्थामा असहज परिस्थित सिर्जना भएपछि आफूहरू चुनाव गराउन नसक्ने अवस्थामा पुगेको श्रेष्ठको भनाइ छ । ‘स्ववियु चुनाव विद्यार्थीका लागि हो,’ उनले भने, ‘हामी बीचमा फसेका छाँै । चुनावको नाममा हामीले अनाहकमा दु:ख पाइरहेका छाँै ।’
उपत्यकामा रहेका त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल डा. गोविन्द सुवेदी, त्रिचन्द्र क्याम्पसका प्रमुख प्रा.डा. हरिप्रसाद थपलिया, रत्नराज्यका रुद्र पौडेल, सानोठिमीका नरप्रसाद थापा, महेन्द्ररत्नका भोलानाथ भट्टराई, सरस्वती बहुमुखीका रामहरि शर्मा लम्साल, शंकरदेवका प्रकाशसिंह
प्रधान, पद्मकन्या बहुमुखीका रमेश श्रेष्ठ, विश्वभाषा क्याम्पसका वामदेव अधिकारी, नेपाल लका गोविन्द गौतम, थापाथलीका डा. हरिराम पराजुली, नेपाल कमर्सका ज्योति पाण्डे, भक्तपुर बहुमुखीका डा. शंकरकुमार उपाध्याय, पब्लिक युथ क्याम्पसका शिला प्रधानांगले यथास्थितिमा चुनाव गर्नसक्ने बताएका हुन् । उनीहरूले विद्यार्थी संगठनले चुनाव सम्पन्न गर्न आवश्यक वातावरण सिर्जना गर्नुपर्नेमा उल्टै क्याम्पसम ताला लगाई चुनावी कार्यक्रममा अवरोध सिर्जना गरेको बताएका छन् ।
नेपाल ल क्याम्पसका प्रमुख गौतमले सम्बन्धित संगठनका विद्यार्थी नेताहरूलाई बोलाएर सहमति नगरे आफूहरूले चुनाव गराउन नसक्ने बताए । ‘चुनाव सबैको सहयोगले हुने हो । हामीले मात्र गर्न सकिँदैन,’ गौतमले भने, ‘तर, विद्यार्थी संगठन आफँैले ताला लगाएका छन् । यस्तो अवस्थामा चुनाव गर्न सकिँदैन ।’ उनले एक/दुई दिनभित्र सहमति नगरे तोकिएको समयमा चुनाव गर्न नसकिने जानकारी गराए ।
मंगलबारै क्याम्पस प्रमुखहरूले त्रिविका उपकुलपति, रजिस्ट्रार र रेक्टरलाई भेटी क्याम्पसमा ताला लागेको अवस्थामा चुनाव गर्न नसक्ने जानकारीसमेत गराइसकेका छन् । उनीहरूले चुनाव सम्पन्न गर्न त्रिवि पदाधिकारीलाई वातावरण बनाउनसमेत माग गरेका छन् ।
क्याम्पसमा एकपछि अर्को विद्यार्थी संगठनले ताला लगाइरहेका छन् । एकमुष्ट र फर्जी भर्ना खारेजीको माग गर्दै नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले त्रिवि केन्द्रीय क्याम्पस, आरआर, महेन्द्ररत्न, ग्रामीण आदर्श, सानोठिमी र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी गरेको छ । अनेरास्ववियु र नेविसंघले सरस्वती क्याम्पसमा ताला लगाएका छन् । एमाओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले यसअघि लगाएका ताला खोली चुनाव गर्नका दबाब दिन भन्दै देशभरिका क्याम्पसका निर्वाचन कार्यालयमा ताला लगाएको छ ।
चुनाव गराउन दबाब दिइने
काठमाडांै : ११ विद्यार्थी संगठनले स्ववियु चुनावको मिति घोषणापछिका अनियमित भर्ना खारेज गरी निर्धारित समयमै चुनाव गर्न दबाब दिने भएका छन् ।
अनेरास्ववियु, नेविसंघ, नेकपा–माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैटौँलगायत ११ विद्यार्थी संगठनको संयुक्त बैठकले अनियमित भर्ना खारेज गर्ने सहमति गरी निर्धारित मितिमै चुनाव गर्न दबाब दिने निर्णय गरेको हो । तालाबन्दीका कारण स्ववियु चुनाव अनिश्चित हुने देखिएपछि ११ विद्यार्थी संगठनको बैठक बसी अनियमित भर्ना खारेजी गरी चुनावमा जाने निर्णय गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले चुनावको मिति घोषणा भएपछिका अनियमित भर्ना खारेज गरी चुनाव सुनिश्चितताका लागि दबाब दिने बताए । ‘क्याम्पसमा लगाइएका ताला खोली चुनाव सुनिश्चितताका लागि दबाब दिनेछाँै ।’ (सौस)

प्रतिक्रिया