रेग्मीले एक पद छाड्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ, १५ जेठ । अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष वा प्रधानन्यायाधीश दुई पदमा खिलराज रेग्मी बहाल रहन सक्ने या नसक्ने विषयमा कानुन व्यवसायी र राजनीतिक दल दुई ध्रुवमा बाँडिएका छन् । ‘रेग्मीका पद’ विषयमा दलका कार्यालय र कानुन व्यवसायीबीच मात्र नभई अब सर्वोच्च अदालतको इजलासमा पनि बहस हुने भएको छ ।
अन्तरित संविधानमा बाधा–अड्काउ फुकाउबाट राज्यका प्रमुख अंगका प्रमुख बनेका रेग्मीले एक पद छाड्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर भएपछि यो विषयको बहसले अदालतमा पनि स्थान पाउने भएको छ । एउटै व्यक्ति राज्यका प्रमुख दुई निकायको प्रमुख बन्न नसक्ने दाबी गर्दै भरतमणि जंगमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले दायर गरेको रिटमा प्रधानन्यायाधीश पद यथावत राखी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बन्न गएका रेग्मीले प्रधानन्यायाधीशको आचारसंहिता र अन्तरिम संविधानको धारा १०६ उल्लंघन गरेको जिकिर गरिएको छ ।
रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष भएपछि उनीविरुद्ध करिब दर्जन रिट सर्वोच्च अदालतमा परिसकेका छन् । दायर भएका रिटले प्राथमिकता नपाए पनि उनीविरुद्ध रिट दर्ता हुन छाडेका छैनन् ।
जंगमले प्रधानन्यायाधीश या मन्त्रिपरिषद्को अध्यक्षमध्ये एक पदमा मात्र बहाल हुने गरी आदेश दिन सर्वोच्च अदालतसँग माग गरेका छन् । उनले दुई मुख्य पदमा रहँदा राज्यको शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भई देश एक दलीयतातिर जाने संकेत रिटमा गरेका छन् ।

प्रतिक्रिया