कति कमजोर छ नेताको चिन्तन

dhakaram-sapkota०६ सालमा मजदुर, किसान र सर्वहरा वर्गको पक्षमा लड्ने भनेर स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी अहिले अनेकाँै चिरामा विभाजन भएका छन् । जति पनि पार्टी छन् ती सबैको झन्डा हँसिया–हथौडा नै छ । हँसिया–हथौडाको झन्डामा विश्वास गर्ने एकतिहाइ जनसंख्या पनि कम्युनिस्ट पार्टीमै छन् । पार्टीका आदर्श व्यक्ति माक्र्स, लेनिन, माओ, पुष्पलाल, मदन भण्डारी, मनमोहन जसलाई माने पनि धेरैवटा पार्टी भएको हुँदा प्रतिस्पर्धा पनि तिनीहरूभित्रै छ । पार्टीहरू नीतिले भन्दा पनि झुट र तडकभडकका भरमा चलेका छन् । गरिब जनता बुझाइका हिसाबले केही कमजोर हुने र तिनैलाई भ्रममा पारेर राजनीति गर्न सजिलो हुने हँदा गरिबका नाममा राजनीति भएको छ । पार्टीका नाम जे भए पनि तिनका नेतालाई हेर्दा कुनै फरक देखिँदैन सबै एउटै प्रकृतिका छन् । वर्ग सिद्धान्त नीति विचारमा केही फरक छैन फरक छ भने जनता झुक्याउन बाँडिने घोषणापत्र र गरिने भाषणमा मात्र छ । भाषण सुनेर ताली पिट्ने तर तिनै नेताले गरेका व्यवहार केही नदेख्ने त्यसको आलोचना गर्न नसक्ने गरी कार्यकर्ता अन्धा भएका छन् । शासन चलाउने शासक जनताको संरक्षक नबनिदिँदा यस्तै फटाहा र लुच्चो राजनीति गर्नेलाई आºनो सहारा सम्झेको छ । त्यसैले हँसिया–हथौडा बोक्ने एउटा पार्टीले अर्को त्यस्तै पार्टीलाई गाली गर्न र अनेक खालका भ्रम सिर्जना गर्नमै प्रतिस्पर्धा चलेको छ ।
कम्युनिस्ट पार्टीमध्ये पनि आफूलाई अब्बल दर्जाको ठान्नेमध्येका कुनैले तराईका मधेसी दलको बैसाखी टेकेका छन्, कुनैले कांग्रेसको । तिनैले जनता झुक्याउन एउटै कम्युनिस्ट पार्टी बनाउने भन्दै भाषण गर्छन् । तर, एउटै कम्युनिस्ट पार्टी किन बनाउनुपर्‍यो भन्न सक्दैनन् । राजनीति वर्गीय हिसाबले होइन, व्यावसायिक हिसाबले चलेको छ । भनिन्छ, कांग्रेस र कम्युनिस्टको राजनीतिक दर्शन मिल्दैन दलीय हिसाबले प्रतिनिधित्व गर्ने वर्ग नै फरक छ । नेपालमा जति पनि दल छन् ती सबै एउटै वर्गको बनेका छन् । तिनमा फरक छुट्याउने आधार हराउँदै जान थालेको छ । यति हुँदाहुँदै पनि कम्युनिस्टको संख्या बढी भएकाले होला, चोक–चोक, चियापसल जताततै कम्युनिस्ट पार्टीबारे चर्चा हुने गरेको छ । पछिल्लो समयमा आएर कम्युनिस्ट पार्टीमध्ये पनि एमालेको अलि बढी नै चर्चा हुने गरेको छ । त्यसो हुनाको कारण पार्टी छाडेर जानेबारे गरेका टिप्पणीले गर्दा पनि हो ।
नीतिगत र सैद्धान्तिक मतभेद रहेको भन्दै अशोक राईसहित केही नेताले पार्टी छाडेर जाँदा पार्टी अध्यक्षले हात्तीको शरीरबाट दुई/चारवटा रौँ झर्दैमा केही फरक पर्दैन भने । पार्टी छाडेर जानेहरू हात्तीको शरीरको धूलो हो धूलो टकटकिएर गएका हुन् भन्ने आशय त्यहाँ झल्किन्थ्यो । त्यतिबेला एमालेका सबै नेताले आ–आºनै किसिमले प्रतिक्रिया जनाएका थिए । तर, चर्चा अध्यक्षको प्रतिक्रियाको थियो । पहिलोपटक रामचन्द्र झा र उर्मिला अर्यालले पार्टी छाडेपछि अध्यक्षको खासै चर्चा गर्नलायकको प्रतिक्रिया आएन । तर, केपी ओलीले दिएको प्रतिक्रियाले भने यसपटक चर्चा पायो । पार्टी छाडेर जानेहरूलाई उनले पहेँला पात अनि ढाडिएका किर्नाको संज्ञा दिएको कुरा पत्रपत्रिकामा आए । पार्टी छाडेर जानेहरूप्रति प्रतिक्रिया दिइरहँदा संजोग नै मान्नुपर्छ अर्को त्यस्तै, प्रतिक्रियाले पनि ठाउँ पायो ।
गुन्डागर्दीबाटै ठूलो परिमाणमा अवैध सम्पत्ति जोडेका पाँच गुन्डा नाइकेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर भयो । मुद्दा चलाउनेमध्येका एकजना ओलीका प्रिय पात्र पर्शुराम बस्नेत थिए । त्यसपछि त उनले देशका होनहार युवालाई गुन्डा भन्ने भनेर आक्रोश पोखे । पार्टी छाडेर जानेहरू पहेँला पात थिए झरेर गए । तर, चिन्ता पर्शुराम बस्नेतलगायतकाको भयो । सामान्य हैसियतका व्यक्तिहरू गुन्डागर्दीका भरमा करोडौँ कमाएको भन्दै सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा चलाएको छ । राजनीतिक हिसाबले ठूलो दल बनेर राज्यसत्ता चलाउने इच्छा राख्ने नेता गुन्डालाई ‘गुन्डा’ भनेकामा चिन्तित नहुनुपर्ने हो । विडम्बना, तिनका नजरमा उनीहरू होनहार युवा भएका छन् । त्यसैले उनलाई गुन्डा नभनी ‘श्रीमान्’ भनिदिए हुन्थ्यो भन्ने चाहना छ । कुनै एउटा पार्टीको टिकट लिँदैमा उसले जे गरे पनि छुट पाउने हो भने एमाओवादीको टिकट लिएर लुट्दै हिँड्नेको विरोध गर्ने नैतिकता रहन्छ र ? गलत जसले गरे पनि गलत हुन्छ । एमाले, कांग्रेस, मधेसी जनअधिकार फोरम वा अरू कसैको टिकट लिए पनि गलत काम गर्नेहरू दोषी हुन् तिनले कानुनले तोकेअनसुारको दण्ड पाउनै पर्छ । पार्टीमा लागेर आºनो लामो समय बिताउनेहरू अवसरवादी बनेर एउटा दलबाट अर्कोमा जानेलाई अघाएका किर्ना, पहेँला पात भन्ने तर राज्य र कानुनका दृष्टिमा दोषी ठहरिएकालाई हरिया पात देख्ने यो कुन सिद्धान्त हो भन्ने प्रश्न र चर्चाको विषय बनेको छ ।
एमालेको आठाँै महाधिवेशनबाट निर्वाचित अध्यक्षले पार्टी हितमा कुनै निर्णय गर्न नसकेको पार्टीमा गुटबन्दीलाई पश्रय दिएकोलगायत आरोप लगाउँदै आएका छन् । कतिपय पत्रपत्रिकाले त किचन क्याबिनेटका रूपमा चिनिएका सदस्यहरूले समेत साथ दिन छाडेको भन्ने खबर प्रकाशित गरेका छन् । पार्टी छाडेर जानेले पनि काम गर्नेलाई भन्दा गुटगत राजनीति गर्नेले ठाउँ पाउने गरेको आरोप लगाएका छन् । गुट भन्ने कुरा पार्टीको शीर्ष ठाउँमा बस्नेले मात्र होइन, कसैले पनि बनाउनु हँुदैन । गुट जसले बनाओस् त्यो गलत हो । एमालेको महिला संघमा भएको गुटबन्दी उर्मिला अर्यालले पार्टी छाड्नुको एउटा कारण बन्यो । उनले पार्टी छाड्दा रिसले जे भने पनि यथार्थमा क्षति त भएकै छ होला नि † एमाले कमजोर हुनु गुटबन्दी गर्ने नेता नै कमजोर बन्नु हो । काम गर्नेले ठाउँ खोज्छ, अवसरवादीले पद खोज्छ । अहिले एमालेभित्र महाधिवेशनको कुरा उठ्दै छ । यो नेतृत्व असफल भएको हँुदा संविधानसभाको चुनाव अघि नै पार्टीमा नयाँ नेतृत्व चयन गर्नुपर्छ भनिँदै छ । पार्टी नेतृत्व साँच्चै असफल भएकै हो त्यसमा कुनै शंका छैन तर नेतृत्व भनेको पार्टी अध्यक्ष मात्र होइन, त्यहाँ रहने वरिष्ठदेखि आफूलाई उच्चतहको नेता ठान्ने सबै असफल हुन् । ती नेताले जबसम्म हामी असफल भयौँ अब नयाँ सोच ऊर्जाशील चिन्तन भएकाहरूले नेतृत्व लिनुपर्‍यो भन्दैनन् तबसम्म अधिवेशनले मात्र केही हुने देखिँदैन ।
अहिले नेतृत्व गरिरहेकै मध्ये कुनै नेता पदीय हिसाबले पहिलो हुनुले केही फरक पर्दैन । अब पार्टी बलियो हुने भनेको नेता फेरेर होइन, व्यवहार फेर्न सके मात्र हुन्छ । नेताले वर्गीय चरित्रअनुसारको व्यवहार नगर्दासम्म केही हुँदैन । नीति सर्वहारा वर्गको लिने, व्यवहार सम्भ्रान्त वर्गको गर्ने । पार्टीभित्रै पनि मन परेकाले जे गरे पनि राम्रो हुने, मन नपरेकाले राम्रो गरे पनि गलत हुने । यो संस्कारको अन्त्य हुनुपर्छ गलत जसले गरे पनि गलत नै हुन्छ । राजनीति भनेको व्यवहार र विचारले चल्ने कुरा हो । व्यक्तिको इच्छाअनुसार होइन भन्ने नीति बन्नुपर्छ ।

प्रतिक्रिया