रेग्मीको राजीनामाबारे कांग्रेसमा विवाद

काठमाडौं, १४ जेठ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने विषयमा कांग्रेसमा विवाद देखिएको छ । उक्त पार्टीका शीर्षनेताले अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने विषयमा दिन थालेको फरक–फरक अभिव्यक्तिले विवाद रहेको देखाएको छ ।
पार्टी उपसभापति रामचन्द्र पौडेलले रेग्मीको प्रधानन्यायाधीश पदबाट राजीनामा माग्नुलाई औचित्यहीन भनेका छन् । पार्टी सभापति सुशील कोइरालाले रेग्मीले प्रधानन्यायाधीश पद त्याग्नुपर्ने अभिव्यक्ति दिइरहेका बेला पौडेलले भने यसलाई औचित्यहीन भन्दै टिप्पणी गरेका हुन् । डा. राजेन्द्र केसीद्वारा लिखित ‘जीवनको पाठशाला (विचार : विकास र व्यवस्थापन)’ पुस्तक विमोचन कार्यक्रममा सोमबार नेता पौडेलले रेग्मीको राजीनामाको कुतर्कमा रुमल्लिनुभन्दा मंसिरमा चुनाव सम्पन्न गर्नेतर्फ लाग्न सबैलाई सुझाव दिए ।
उनले भने, ‘सहमतिअनुसार नै बहालवाला प्रधानन्यायाधीशलाई चुनाव गर्ने जिम्मा दिएकाले सहमतिअनुसार दलहरू चल्नुपर्छ ।’
उनले उच्चस्तरीय राजनीतिक समिति विघटनको माग गर्नु पनि जायज नभएको तर्क गरे । देशलाई निकास दिन उच्चस्तरीय समिति गठन गरिएको उल्लेख गर्दै उनले यसको विरोध गर्नुको कुनै तुक नरहेको जिकिर गरे । कोइरालाले भने चार दलीय सिन्डिकेट तोड्ने उल्लेख गर्दै उच्चस्तरीय समितिमा नेकपा–माओवादी र फोरमलाई पनि समेट्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया