‘तीन शक्तिलाई ठेगान लाउनुपर्छ’

नवलपरासी : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले मंसिर पहिलो साताभित्र संविधानसभाको निर्वाचन गर्ने निर्णय एक साताभित्र हुने बताएका छन् । थारू कल्याणकारिणी सभा नवलपरासीको डण्डामा सोमबारबाट सुरु भएको पाँचौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गच्छेदारले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न संविधानसभाको निर्वाचन आवश्यक रहेको बताए ।
माओवादी, एमाले र कांग्रेस तीन शक्तिको अक्षमताले संविधान बन्न नसकेको भन्दै नेता गच्छेदारले आफ्नो नेतृत्वमा चाँैथो शक्ति मुलुकलाई आवश्यक रहेको दाबी गरे । ‘तीन शक्तिको कारण राजनीति बिग्रेको छ त्यसलाई ठेगान लगाउन म सक्छु,’ नेता गच्छेदारले भने, ‘मलाई सहयोग गर्नुहोस्, नेपाललाई १५ वर्षमा सिंगापुर बनाउँछु ।’ तीन ठूला दलले नाम विनाको एघार प्रदेशसहितको संविधान जारी गर्न सहमति हुँदा आफू असहमत भएकोले संविधान जारी नभएको खुलासा गर्दै नेता गच्छेदारले भने, ‘मैले मानेको भए संविधान जारी हुन्थ्यो तर, त्यो संविधानले मधेसी, आदिवासी जनजातिको भावनालाई सम्बोधन गर्न सक्दैन थियो ।’
उनले नेपालको इतिहासमा पहिलोपटक थारूको छोरा आफू गृह मन्त्री हुँदा प्रहरी प्रशासनले अटेर गरेको भन्दै थारू आन्दोलनको क्रममा आफ्नो निर्देशनविपरीत प्रहरीले गोली चलाएकोले दोषीमाथि कारबाही भइसकेको जानकारी दिए । सत्ता मुखी भएर थारू आन्दोलनलाई दबायो भन्ने आरोपलाई मेटाउन नेता गच्छेदारले थारू आन्दोलनमा कावासोतीमा प्रहरीको गोली लागेर मृत्यु भएका सहिद धनबहादुर चौधरीलाई २४ घन्टाभित्र सहिद घोषणा र दश लाख क्षतिपूर्ति दिलाउन सिधै क्याबिनेतमा निर्णय गराएको दाबी गरे ।
जिल्ला अधिवेशनमा विजय गच्छेदारलाई प्रमुख अतिथि बनाउन आयोजकले निर्णय गरेपछि थारू कल्याणकारिणी सभाका केन्द्रीय नेतृत्वले कार्यक्रम बहिस्कार गरेको छ । थाकसको बहिस्कारलाई टिप्पणी गर्दै नेता  गच्छेदारले भने, ‘थाकसका साथीहरूले ठूलो भुल गर्नुभयो, यो अज्ञानता हो, यसमा राजनीतिकरण भयो ।’ नेता गच्छेदारले पटक–पटक आफू थारूको छोरा भएको र मधेसी र थारूबीच विवाद नगरी सहकार्यमा अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया