माओवादीद्वारा फेरि जग्गा कब्जा

धनगढी, १४ जेठ । नेकपा–माओवादीका कार्यकर्ताले कैलालीमा फेरि जग्गा कब्जा गरेका छन् । माओवादीले शान्तिप्रक्रियापछि यसरी कैलालीमा जग्गा कब्जा गरेको यो तेस्रोपटक हो ।
माओवादी कार्यक्रकर्ताले सोमबार जिल्लाको थापापुर गाविसका दुई स्थानीयको जग्गा कब्जा गरेका हुन् । माओवादीका स्थानीय नेताहरूले थापापुर गाविस खोदाउपुरका प्रचण्ड शाहको पाँच र सोही गाविस महादेउली गाउँका भरत शाहको साढे ११ बिघा गरी साढे १६ बिघा जग्गा कब्जा गरेका हुन् । एरिया नम्बर १० का इन्चार्ज शेरबहादुर देउवा शिखरको नेतृत्वमा गएको टोलीले जग्गा कब्जा गरेको प्रत्यक्षदर्शीले बताए । सो जग्गा माओवादीले पहिले पनि कब्जा गरेको थियो । तर, जग्गाधनीले माओवादीले जग्गा कब्जा नगरेको हल्ला फैलाएपछि पुन: जग्गा कब्जा गरिएको नेकपा–माओवादी जिल्ला सक्रेटरी महेश बडुवालले बताए ।
नेकपा–माओवादीले यसअघि लालबोझी गाविस स्थानीय तथा पूर्वराजा ज्ञानेन्द्र शाहका सम्धी नवराजबहादुर सिंहको २२ बिघा र कोटातुलसीपुर गाविसका देवबहादुर मल्लको ३० बिघा जग्गा कब्जा गरेको थियो । नेकपा–माओवादी जिल्ला सक्रेटरी महेश बडुवालले ‘सामन्ती’ को जग्गा कब्जामा लिने नीतिअनुरूप सो जग्गा कब्जा गरिएको बताए ।

प्रतिक्रिया