एमाओवादीले कार्यकर्ता अपहरण गरेको काँग्रेसको आरोप

काठमाडौं, १४ जेठ । रुकुममा भएको शान्तिपूर्ण आमसभामा एकीकृत माओवादीका कार्यकर्ताले ढुंगामुडा गरेको भन्दै नेपाली कांग्रेसले त्यस्ता गलत घटना नदोहोर्‍याउन चेतावनी दिएको छ ।
केन्द्रीय सदस्य गगन थापा सहभागी आमसभामा ढुंगामुढा गरी कार्यक्रममा अवरोध पुर्‍याएको आरोप  सोमबार कांग्रेसले जारी गरेको विज्ञप्तिमा लगाइएको छ । ‘शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको आमसभामा एमाओवादी पार्टीका कार्यकर्ताबाट भएको यस प्रकारको उद्दण्ड, उच्छृंखल  र हिंसात्मक गतिविधि र अपहरणजस्तो जघन्य अपराधको कांग्रेस भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
आइतबार थापा सहभागी आमसभामा एमाओवादीका कार्यकर्ताले सुनियोजित रूपमा आक्रमण गरेको आरोप कांग्रेसको छ । एमाओवादीका पूर्वलडाकुसहित केही कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रममा एमाओवादीका कार्यकर्ताले ढुंगामुढा गरी कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।
माओवादी कार्यकर्ताले हानेको ढुंगाबाट केही कार्यकर्ता घाइते भएका थिए भने कार्यक्रम सकेर फर्कन लागेका नेता थापा चढेको गाडीमा समेत माओवादी कार्यकर्ताले ढुंगामुडा गरेका थिए । कांग्रेसले आमसभामा ढुंगामुडा र उद्दण्ड कार्य गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।
त्यस्तै, आइतबार मात्रै कांग्रेस प्रवेश गरेका जीवन केसीलाई एमाओवादीका कार्यकर्ताले अपहरण गरेको भन्दै तत्काल रिहा गर्न र अपहरणमा संलग्नलाई कडा कारबाही गर्नसमेत कांग्रेसले माग गरेको छ ।

प्रतिक्रिया