क्याम्पसहरूमा तालामाथि ताला

काठमाडौं, १४ जेठ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूबीच क्याम्पसहरूमा ताला लगाउन होडबाजी नै चलेको छ । एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले सोमबार देशभरका ठूला क्याम्पसको निर्वाचन कार्यालयमा ताला लगाएको छ । अन्य विद्यार्थी संगठनले लगाएको ताला नखोलिएको भन्दै विरोधमा क्रान्तिकारीले सोमबार मुख्य क्याम्पसका निर्वाचन कार्यालयमा ताला लगाएको हो ।
क्रान्तिकारीले यसअघि विभिन्न क्याम्पसमा लगाइएका ताला खोली चुनावी प्रक्रिया अगाडि बढाउन माग गरेको छ । यसअघि लगाइएका ताला सोमबार १२ बजेसम्म खोली चुनावी प्रक्रिया अगाडि नबढाएपछि दिउँसोदेखि क्रान्तिकारीले ताला लगाएको हो ।
क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले पहिले लगाइएका ताला खोल्न दबाबका लागि क्याम्पसका निर्वाचन कार्यालयमा ताला लगाइएको जानकारी गराए । त्रिवि केन्द्रीय क्याम्पसमा चुनाव नभए अन्य क्याम्पसमा हुनुको औचित्य नरहने भएकाले चुनावको एकरूपताका लागि दबाब दिन ताला लगाइएको अध्यक्ष शर्माले बताए । ‘त्रिवि केन्द्रीय क्याम्पसमा ताला लगाएर अन्य क्याम्पसमा चुनाव गर्नुको कुनै औचित्य छैन,’ शर्माले भने, ‘ताला लगाइएका क्याम्पसमा खोल्न दबाबका लागि तालामाथि ताला लगाइएको हो ।’
क्रान्तिकारीले उपत्यकाका नेपाल ल क्याम्पस, नेपाल कमर्स क्याम्पस, पशुपति क्याम्पस, पब्लिक युथ क्याम्पस, भक्तपुर क्याम्पस, थापाथाली क्याम्पस, त्रिचन्द्रलगायत क्याम्पसमा सोमबार चुनावी प्रक्रिया अगाडि नढाउन भन्दै निर्वाचन कार्यालयमा ताला लगाएको छ । शर्माले आफूहरूको तालाबन्दी चुनाव भाड्न नभई यसअघि लगाइएका ताला खुलाएर एकसाथ चुनाव गराउनका लागि भएको बताए ।
अनेरास्ववियु (क्रान्तिकारी)का सचिव मदन अर्यालले मंगलबार अन्य क्याम्पसमा ताला लगाउने जानकारी गराए । १६ गतेभित्र पहिले लगाइएका ताला खोले मात्र आफूहरूले पनि ताला खोज्ने अर्यालको भनाइ छ । ‘१६ गतेसम्म पहिले लगाइएका ताला खोलिनुपर्छ । अनि मात्र हामीले लगाएका ताला खोल्छौँ,’ अर्यालले भने, ‘१६ गतेसम्म पहिले लगाइएका ताला नखोले त्रिवि पदाधिकारीको राजीनामा माग गरिनेछ ।’
क्रान्तिकारीले आइतबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसमक्ष सोमबारसम्म क्याम्पसमा लगाइएका ताला खोलेर चुनावी प्रक्रिया सुरु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । शर्माले आफूहरूले जित्ने क्याम्पसहरूमा नियोजित रूपमा अन्य विद्यार्थी संगठनले ताला लगाएको जिकिर गरे । त्रिविमा प्रक्रियागत ढंगबाट भर्ना भएकाले अन्य क्याम्पसमा फर्जी भर्नाबारे छानबिन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
यसअघि नेकपा–माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी), एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र कांग्रेसनिकट नेपाल विद्यार्थी संघले एकमुष्ट र फर्जी भर्ना खारेजीको माग राख्दै उपत्यकाका ६ वटा क्याम्पसमा तालाबन्दी गरेका थिए । क्रान्तिकारीले एकमुष्ट भर्ना खारेजीको माग गदै त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्यलक्ष्मी (आरआर), महेन्द्ररत्न क्याम्पस, ग्रामीण आदर्श, सानोठिमी र पुल्चोक इन्जिनिरिङ क्याम्पसमा तालाबन्दी गरेको छ । अनेरास्ववियु र नेविसंघले सरस्वती क्याम्पसमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण त्रिवि निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिइसकेका छन् ।
त्रिवि केन्द्रीय क्याम्पसमा ताला खोल्ने क्रममा यसअघि नै एमाओवादीनिकट र नेकपा–माओवादीनिकट विद्यार्थीहरूबीच कुटाकुटसमेत भएको थियो । कुटाइबाट एमाओवादीनिकट क्रान्तिकारी त्रिवि इकाई सदस्य मोहन भण्डारी गम्भीर घाइते भएका थिए ।
विद्यार्थी संगठनहरूबीच एकमुष्ट भर्ना खारेजी र तालाबन्दी खोल्ने विषयमा पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन । अन्य संगठन एकमुष्ट भर्ना खारेज गर्न सहमत देखिए पनि एमाओवादीनिकट क्रान्तिकारी सहमतिमा आएका छैनन् । शर्माले आफ्नो संगठनले प्रक्रिया पुर्‍याएर भर्ना गरेको दाबी गर्दै आएका छन् । उसले सबैभन्दा बढी एकमुष्ट र फर्जी भर्ना गरेको अनुमान गरिएको छ ।
विद्यार्थीलाई प्रभाव पार्न पिकनिक
स्ववियु चुनावलाई लक्षित गरी विद्यार्थी संगठनहरूले विद्यार्थीलाई प्रभावित पार्नका लागि पिकनिकको आयोजना गर्ने गरेका छन् । सोमबार एमाओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले अमृत साइन्स क्याम्पसबाट ६ बस विद्यार्थीलाई पिकनिक लगेको छ । क्रान्तिकारीले करिब ३ सय विद्यार्थीलाई गोदावरी लगेर नि:शुल्क पिकनिक खुवाएको छ । क्रान्तिकारीले अमृत साइन्स क्याम्पसबाट नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई स्ववियु चुनावमा अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।
यसअधि शंकरदेव क्याम्पसबाट अनेरास्ववियुले विद्यार्थीलाई पिकनिक लगेको थियो । अनेरास्ववियुले करिब ७० जना विद्यार्थीलाई पिकनिक लगेको थियो ।

प्रतिक्रिया