कोइराला अनुपस्थित भएपछि उच्चस्तरीय बैठक प्रभावित

काठमाडौं, १४ जेठ । कांग्रेस सभापति सुशील कोइराला विनासूचना अनुपस्थित भएपछि सोमबार बस्ने भनिएको प्रमुख दलका शीर्षनेता रहेको उच्चस्तरीय राजनीतिक समितिको बैठक औपचारिक रूपमा बस्न सकेन । १५ जेठमा अर्को बैठक बस्ने भन्दै नेताहरू घर फर्किए ।
आइतबार बिहान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँगको छलफलमा साँझ उच्चस्तरीय समितिको बैठक बसेर निर्वाचन कानुनबारे रहेका मतभेदमा सहमति खोज्ने आश्वासन दिएर शीर्षनेता बालुवाटारबाट बाहिरिएका थिए । तर, कांग्रेस सभापति कोइरालाले नभ्याउने भनेपछि बैठक सोमबार बिहानका लागि सारिएको थियो । तर, सभापति कोइराला सोमबार पनि खबरै नगरी उच्चस्तरीय समितिको बैठकमा अनुपस्थित भए । उनी तनहुँमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन त्यसतर्फ हान्निए । बैठकमा उनलाई कुरिरहेका अन्य दलक ा नेताहरूलाई पछि उपभापति रामचन्द्र पौडेलले कोइराला उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।
कोइराला अनुपस्थित भएपछि बैठक औपचारिक रूपमा अगाडि बढ्न सकेन । केहीबेर अनौपचारिक छलफल गरेका नेताहरू १५ जेठमा बैठक बस्नेगरी बाहिरिए । निर्वाचन आयोगले प्रस्ताव गरेको संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका विवादित विषयमा छलफल गर्ने योजना बैठकको थियो ।
आगामी संविधानसभा चुनावमा थ्रेसहोल्डको व्यवस्था गर्ने/नगर्ने, संविधानसभाको आकार कत्रो बनाउने, फौजदारी अभियोगमा कैदसजाय भोगेकाले चुनावमा उम्मेदवार बन्न पाउने वा नपाउनेलगायत विषयमा दलहरूबीच मतभेद रहेको छ । यी विवादका कारण आगामी चुनावको मिति घोषणा पनि अन्योलमा परेको छ ।
आगामी मंसिरमा चुनाव गर्ने भनिए पनि दलहरूबीचको विवादका कारण १५ जेठभित्र चुनावको मिति घोषणा गर्ने सरकारको योजना पनि प्रभावित हुने सम्भावना बढेको छ ।
उच्चस्तरीय समितिको बैठकपछि एमाओवादीका महासचिव पोस्टबहादुर बोगटीले कांग्रेसका सभापति कोइराला अनुपस्थित रहेको र शीर्षनेताहरूको उपस्थितिविना छलफलको खासै उपलब्धि नहुने भएकाले छलफल अघि नबढाइएको बताए ।
उपसभापति रामचन्द्र पौडेलले अर्को दिन बैठक बस्ने सहमति भएको बताए । ‘आज (सोमबार) केबल अर्को दिन बैठक बस्ने सहमति मात्र भयो,’ उनले भने । चुनावविना मुलुकले राजनीतिक र संवैधानिक निकास नपाउने भएकाले १५  जेठमा बस्ने बैठकमा विवादित विषयको टुंगो लगाउने उनले बताए ।

प्रतिक्रिया