चन्दा आतंकबाट आक्रान्त व्यबसायी

धनगढी, १३ जेठ । अपरिचित व्यक्तिहरुले मोवाईलबाट फोन गरि चन्दा माग्नु कैलालीमा सामान्यजस्तै भईसकेको छ । अपरिचित नम्बरबाट आएको फोन उठाउदा अधिकांश फोन त चन्दाकै लागि हुने गरेको कैलालीका व्यापारीहरु बताउँछन् ।
चन्दा नदिए जे पनि हुन सक्ने भन्दै धम्क्याउने गरेको कैलाली उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र विष्टले बताए । ‘जिल्लाका ४०/४५ जना जति उद्योगीव्यापारीहरुलाई फोन गरेर पैसा माग्ने गरिएको छ । नदिए मार्ने धम्की दिन्छन्,’ महासचिव विष्टले भने, ‘चन्दा आतंकबारे प्रहरी प्रशासनलाई जानकारी गराउँदा हालसम्म कुनै सुनुवाइ भएको छैन ।’
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई आफुहरुले चन्दाका लागि धम्क्याउन प्रयोग गरेको फोन नम्बर सहित जानकारी गराएपनि अहिलेसम्म प्रशासनाबाट सुनुवाई नभएको व्यापारीहरुको गुनासो छ । प्रहरी–प्रशासनको ढिलासुस्ती र निष्क्रियताका कारण व्यापारीहरु त्रसित बन्दै गएका छन् भने जीउधनको सुरक्षाका लागि भएपनि चन्दा दिन बाध्य भएको उनीहरु स्वीकार गर्छन् ।
केही दिन पहिले व्यवसायीहरुले फोन गरेर भूमिगत संगठनका नाममा चन्दा आतंक मच्याउने कैलाली पहलमानपुर गाविस १ का विष्णु चौधरीलाई समातेर प्रहरीलाई बुझाएका थिए । चौधरीले कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा व्यवसायी शंकर बोगटीलाई फोनबाट धम्की दिई लाखौं चन्दा मागेका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले उद्योगीव्यापारीहरुलाई फोन गरेर चन्दा मागेको बारे प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानविन समिति गठन गरेको बताउदै केही दिनमा सवै कुरा थाहा हुने बताए ।

प्रतिक्रिया