जिन्दगीको आवरणमा मुखियाका बिम्बहरू

souryadaily‘जंगे मास्टर हातमा लामो लठ्ठी लिएर अगाडि बसिरहेका छन् । उनको डरले अरू साथीहरू किताबमा ध्यान लगाउन थाले । मचाहिँ पढ्नमा सबैभन्दा लद्दु विद्यार्थी । के गरुँ के गरुँ भयो । जंगे सरलाई नियालेर हेरिरहेको थिएँ । आइडिया फुर्‍यो, सरकै चित्र बनाउने । भर्खरै १ कक्षाको विद्यार्थी थिएँ त्यतिबेला । हातमा भएको सिसाकलमले जंगे मास्टरलाई हेर्दै उनले हातमा लठ्ठी लिएको चित्र बनाउन पो थालेछु । कसोकसो मेरो हर्कत मास्टरले थाहा पाइहाले । ‘ओइ के गरेको ? अगाडि आइज π’ उसै त लद्दू विद्यार्थी, त्यसमाथि नचाहिने काम । साथीहरू खुच्चिङ लगाउँदै थिए, आज मुखियाले राम्ररी धुलाइ खाने भयो । अगाडि गएँ, कापीमा कोरेको चित्र देखाएँ । एक कक्षाको विद्यार्थीले कस्तो न चित्र बनाएँ होला र π चित्र देखाउनभन्दा बढी कुटाइ खाने डर थियो मलाई । अचम्म π चित्र देखेर जंगे मास्टरको लाठी मेरो ढाडमाथि बर्सिएन, बरु चुपचाप आफ्नो सिटमा पठाइदिए ।’
करिब ७० वर्षको अन्तरालपछि नेपालका स्थापित अनि परिचित चित्रकार टेकवीर मुखिया स्मृतिको मानचित्रमा ओइलाउँदै गएका ती दिनहरूलाई पुनर्ताजगी गराउँदै छन् । दार्जिलिङमा पढ्न सुरु गरेका थिए उनले तिनताका । कक्षा आठभन्दा माथि त उनले पढाइलाई बढाउनै सकेनन् । तर, बाल्यकालदेखिको चित्रकलाप्रतिको मोहले भने जीवनको ७५औँ वसन्तसम्म पनि छोडेको छैन ।
‘जीवन विभिन्नथरी रंग भरिएको चित्र नै हो ।’ आफ्नै जीवनमा पनि रंगले पोतिएका चित्रकला पाउँछन् उनी । दु:खले भरिएका हरेक जीवनमा कालो बिम्ब आउँछ, अनि आक्रोशसहितको पीडा प्रतिबिम्बित हुन्छ चित्रमा । ती बिम्बझैँ उनको जीवनको यथार्थमा पनि धेरै दु:ख छन् । स्कुल छोडेपछि उनले बिनाकाम लामो समय कलकत्तामा बिताए । एक्लै कोठामा बसेर गितार बजाइरहँदा वा कुची लिएर चित्र कोरिरहँदा छोराले कहिल्यै यसैलाई पेसा बनाएर जीवन धान्ने कमाइ गर्ला भन्ने सोचेका थिएनन् उनका बाबुआमाले । कलकत्तामा एक–दुई चलचित्रका पोस्टर बनाएका टेकवीर  २०२२ सालमा नेपाल आएका थिए । ‘छोराले हल्लिएरै दिन बिताउन थाल्यो भनेर बुबाआमाले बिहे गरिदिन केटी देखाउन थाले । आफूलाई भने बिहेप्रति मोह नै थिएन । सोचेँ, बरु भागेर नेपाल जान्छु । मामा नेपालमै हुनुहुन्थ्यो । हातमा बाँधेको घडी बेचेर नेपाल आउने पैसा जुटाएँ । साथीको घर जान्छु भनेर सुटुक्क हिँडेँ ।’ भगवान्ले पनि ‘तँ आँट म पुर्‍याउँछु’ भन्छन् भनेको सायद यस्तै होला । आजभन्दा ४८ वर्षअघि नेपालतिर चालेको पाइला नै टेकवीरका लागि उद्देश्यप्राप्तिको दीर्घकालीन बाटो बन्यो ।
०००
हिजोआज दिनभर भैँसेपाटीस्थित घरमै भेटिन्छन्, चित्रकार मुखिया । एक वर्षयता चित्र कोर्न हात लागेकै छैनन् । ७५ वर्ष पुगेकाले चित्रकलाबाट विश्रान्ति पो लिन खोजेका हुन् कि ? ‘२०२२ सालमा पशुपतिमा बाँदरको चित्र बनाएर मनको सन्तुष्टि मात्रै लिन खोज्दा कलाकार शंकरराज सुवालका दाजु कृष्णमानले देखेछन् उनले जोरगणेश प्रेसका सञ्चालक ऋद्धिबहादुर मल्लसँग परिचय गराइदिएपछि जागिरे रूपमा चित्रकारिता सुरु भएको थियो । ३०० रुपियाँ तलब थियो । त्यही जागिरबाट नै मैले नाम कमाएँ, जीवन गुजाराको आधार जुटाएँ । अझ त्योभन्दा बढी चित्रकारिताप्रतिको मोह पेसामा परिणत गर्न सकेँ ।’ प्रश्न बीचैमा काटेर विगतसँग वर्तमान जोड्दै उनले थपे, ‘मेरो जीवन भनेको नै चित्र हो । जीवनको हरेक मोडमा चित्रकारिताको बिम्ब खुलिरहेको हुन्छ । त्यसैले अहिले पनि मैले बारम्बार सपनामा देख्दै आएको एउटा बिम्बलाई चित्रकारितामा उतार्ने योजना बननाइरहेको छु । मेरो विश्रान्तिअघि चित्रकारिताले विश्रान्ति लिँदैन । अझै मैले बनाएको चित्रमा म मरेपछि पनि युग बोलिरहन्छ होइन र ?’ मन्द मुस्कानसहित उनले चित्रकारिताले बोकेको अमरत्वको महिमा बोले ।
०००
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गर्नुभएको मुनामदन महाकाव्य, जसको आवरणमा एउटी युवती विह्वल हुँदै पतिको आलिंगनमा बाँधिएकी छ । मदन भोट जानुअघिको भावलाई आफ्नै जीवनको वियोगव्यथामा गाँसेका थिए, मुखियाले । सिर्जनाको मूल फुट्नुअघि आफूभित्र वियोग या मिलन वा हर्ष, दु:ख सबै रंग लतपत्याउनुपर्छ । रंगहरूलाई हृदयमा घुलाउनुपर्छ । त्यसपछि मात्रै यथार्थलाई अनुभूत गर्न सकिन्छ । अनि, जन्मिन्छ एउटा अमर सिर्जना ।  हजारौँको संख्यामा पुस्तकको आवरण बनाए मुखियाले । हरेक आवरण निर्माण गर्नुअघि हरफ नछुटाई पढ्थे उनी । नेपाली साहित्यिक फाँटमा पुस्तकाकार पाएर चर्चित बनेका कृतिमध्ये अधिकांशले टेकवीर मुखियाको आवरण पाएका छन् । पारिजातले रचना गरेको ‘शिरीषको फूल’ उपन्यासमा नीलो फुलिरहेको शिरीषको बोटमुनि मुडुलो टाउको भएकी शकमबरीको बिम्ब पनि उनले नै कोरे । ‘२०२३ सालदेखि साझा प्रकाशनमा काम थालेँ । त्यतिबेला आवरण बनाउने पुस्तकको पाण्डुलिपि लिएर आउँथे । दिनभर प्रेसमा काम गरेपछि घर आएर पुस्तकका पाण्डुलिपि पढेर सक्थेँ । पढ्दै जाँदा आफूभित्र बिझेको हरफलाई बिम्ब बनाएर मैले थुप्रै आवरण बनाएँ ।’
अधिकांश आवरण प्रकाशकको अनुरोधमा पुस्तक ल्याएर बनाए उनले । बिपीका अधिकांश पुस्तकका आवरण भने तारिणीप्रसाद कोइरालामार्फत बनाएको बताए । बिपीको ‘सुम्निमा’ को आवरण बनाउँदा भने मनमा धेरै त्रास उत्पन्न भएको स्मरण गरे । ‘त्यतिबेला बिपी जेलमा हुनुहुन्थ्यो । उहाँको लेखका लागि सहयोग गरेको थाहा दिन पाइँदैनथ्यो । रत्न पुस्तक भण्डारले ‘सुम्निमा’ पुस्तक छाप्न खोजेको रहेछ । मलाई तारिणीले पाटन बोलाउनुभयो । उहाँकहाँ जाँदैमा जासुस पछि लागेको थाहा पाएँ । मलाई निकै डर लाग्न थालिसकेको थियो, आवरण मैले बनाएको थाहा पाए ज्यान जोखिममा हुन्थ्यो । तारिणीकोमा गएर छिटोछिटो सुम्निमा लिएर घर फर्किएँ । जासुस पछि लागेको थाहा पाएपछि कति बेतोडसँग कुदेछु भने घरको कोठामा पुग्दा पो झसंग भएछु, अझै सुरक्षित नै रहेछु भनेर । ‘सुम्निमा’ उपन्यासको आवरण बनाउँदा आवरणकलामा आफ्नो नाम पनि लेखिनँ मैले ।’ युवावस्थादेखि नै साहित्यिक कृतिका गहिरा भावयुक्त आवरण बनाएका उनी अहिले विगत सम्झँदै भन्छन्, ‘त्यो अल्लारे बेलामा मैले कति अमर साहित्यिक कृतिका आवरण बनाएँ † अहिले भएको भए कति परिपक्व चित्रकारिता प्रस्फुटित हुँदो हो ।’ ‘मुनामदन,’ ‘शिरीषको फूल’ लगायत कृतिका पटकपटक फेरिएका आवरण पनि उनैले बनाए ।
जीवनको ऊर्जाशील समय चित्रकारितामा नै खर्चिएका मुखियाले नेपालका अधिकांश साहित्यकारको लेखनी पनि जाँचेका छन् । साहित्यकारका शब्दलाई कुची र रंगको सहयोगमा अभिव्यक्त गरिदिएका पनि छन् । चित्रकारिताबाट तौलिरहँदा साहित्यकारका शब्दबारे उनी खासै टिप्पणी गर्न चाहँदैनन् । तर, हिजोआजका अधिकांश साहित्यिक कृतिको भावले नै उनी आवरण बनाइदिने आइडिया पाउँछन् रे । पछिल्लो समय साहित्यकारहरूको लेखनीको गहिराई खस्किएको त होइन ? कि उनको चित्रकारितामा आएको परिपक्वताले यस्तो गराएको हो ? ‘लेखनीलाई जाँच गर्ने समीक्षक होइन म,’ उनले भने, ‘मलाई यस्तो खालको आवरण बनाउनुस् भनेको चित्त बुझ्दैन, कुन हरफले आफूलाई छुन्छ, त्यसैलाई आधार बनाएर आवरण तयार गर्छु ।’
०००
उमेरको परिपक्वताले होला, वरिपरिबाट चाउरिएको छालाले घेरेर चिम्सा बनाइदिइसकेको छ, मुखियाको आँखा । तर, तिनमा चमक भने उस्तै छ, जस्तो कुची र रंग लिएर गाउँगाउँका बिम्ब सेतो क्यानभासमा उतार्न व्यस्त जवानीका दिनमा हुन्थ्यो । तागत पनि युवावयकै जस्तो रहेको सान देखाउँछन् । भुइँतलामा चित्रकारिता गर्ने व्यवस्था मिलाइएका तीनवटा जोडिएका कोठामा अधिकांश समय बिताउँछन् मुखिया । जीवनको करिब पाँच दशकसम्म कोरिएका चित्रकलाका खात अझै पनि एकप्रति उनका फाइलमा सुरक्षित भेटिन्छन् । तेजिलो आँखा तन्काउँदै त्यो खातबाट एउटा स्केचट निकालेर भने, ‘यहाँ चारैतिरबाट थिचिएकी महिलाको बिम्ब छ । महिला एकातिर आफ्नै व्यक्तिबाट थिचिइरहेकी छिन्, अर्कोतिर बाहिरी संसार पनि उनलाई जतिसक्दो कुँजो बनाएर राख्न चाहन्छ ।’ यस्ता पीडाको बिम्ब त उनका चित्रकारितामा कति आए, लेखाजोखा गरेका छैनन् । भोगाइमा केन्द्रित अनुभूतिलाई चित्रकलाको बिम्बमा उतार्न पाए जीवन बोलेको महसुस हुँदो रहेछ उनलाई ।
टेकवीर मुखिया, अनुभवले सिद्धहस्त चित्रकारिताको जिउँदो इतिहास हुन् । उनले आजसम्म सिद्धान्तको चित्रकारिता सिकेनन् । आधुनिक वादहरू खुलाउँदै चित्रकारिताको व्याख्या गर्न जान्दैनन् । तर, पनि सिम्बोलसहितको एब्स्ट्य्राक्टदेखि यथार्थ झल्किने चित्रकारिता उनका हातले कोरेका छन् । मानवले सीप जन्मसिद्ध ल्याएको हुँदैन । आफ्नो चाहनाप्रति लगाव र मेहनत भए स्थापित र सफल व्यक्ति बन्न सक्छ । अमूल्य जीवन दिएको भगवान्प्रति धन्यवाद दिँदै मुखियाले आफ्नो जीवनको संक्षिप्त वर्णन पनि चित्रकारिताकै भाषामा दोहोर्‍याए, ‘एउटा पेन्टिङ जस्तै हो जीवन । आफ्नो जीवनमा जस्तो रंग भर्न सक्यो त्यस्तै बिम्ब झल्किन्छ । त्यसैले दु:खमा पनि जीवनलाई खुसी अनि उन्माद झल्किने रंगको बिम्बमा झल्काउन सक्ने व्यक्तिले असलमा जीवनलाई भोगेको हुन्छ ।’

प्रतिक्रिया