प्रहरी र स्थानीयबीच झडप

विराटनगर, १३  जेठ । झन्डै एक महिनाअघि सुनसरीको दुहबीमा हत्या गरिएकी राधा मण्डलको हत्यारालाई प्रहरीले पक्राउ  नगरेको विरोधमा उत्रिएका दुहबीवासी र प्रहरीबीच आइतबार पटक–पटक झडप भएको छ ।
झडप दुई जना प्रदर्शनकारी प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुहबीका जलिल अन्सारी र विजय चौधरी रहेका छन् । घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरी र प्रदर्शनकारीबीच बिहान ११ बजेदेखि २ बजेसम्म पटक–पटक झडप भएको थियो । झडपका क्रममा प्रहरीले अश्रृल ग्याससमेत प्रहार गरेको थियो । झडपका कारण आइतबार दुहबी बजार दिनभर तनावपूर्ण बन्यो । लगातारको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन लागि सशस्त्र तथा नेपाल प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । स्थानीयले भने प्रहरीले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै आन्दोलन नरोकिने चतावनी दिएका छन् ।
बन्द गर्ने क्रममा प्रदर्शनकारीले केही बस, भ्यान, ट्रकका साथै अक्सिजन बोकेको गाडी तोडफोड गरेका थिए । प्रदर्शनकारीले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । झडपका कारण कोसी राजमार्ग भएर आउजाउ गर्ने यातायातका साधन चल्न सकेको छैन । वैशाख १४ गते स्थानीय बुढीखोलामा हत्या गरी फालिएको अवस्थामा मण्डलको शव फेला परेको थियो ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् सुन्दरपुरले जिल्ला प्रशासन कार्यलय मोरङले आफूहरूको भवन निर्माणमा प्रयोग गरिएका स्काइभेटर र डोजर नियन्त्रणमा लिएको भन्दै आइतबार दुई घन्टा चक्काजाम गरेका छन् । उनीहरूले पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरपुर खण्ड बिहान ८ बजेदेखि १० बजेसम्म  अवरुद्ध पारेका हुन् । परिषद्को भवन निर्माणमा प्रयोग भइरहेको स्काइभेटर र डोजर जिल्ला प्रशासन कार्यलयले नियन्त्रणमा लिएपछि उनीहरू आन्दोलित भएका हुन । भवन निर्माणमा प्रयोग गरिएको स्काइभेटर र डोजर प्रशासनले पूर्वाग्रही भएर नियन्त्रणमा लिएको उनीहरूको आरोप छ । यद्यपी जिल्ला प्रशासन कार्यालयले भने अनुमति विना गछिया खोलामा बालुवा र गिट्टी निकाल्न ती स्काभेटर र डोजर प्रयोग गरिएकाले नियन्त्रणमा लिएको जनाएको छ । परिषद्ले तत्काल निर्माण सामाग्री नछाडे थपआन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया