नेपालको परिप्रेक्ष्यमा बुद्धको सन्देश

नेपाली समाज अहिले दुईवटा अतिको विन्दुबाट गुज्रिरहेको छ । ती दुई अति हुन्: परिवर्तनको चाहना र विखण्डनता । नेपालमा कायम रहेको सदियौँ पुरानो सामन्तवादी शासन सत्ता ढलेर जुन रूपले राजनीतिक परिवर्तन भएको छ, त्यसपछि सिर्जित विविध विवादहरूले हामी नेपालीलाई विखण्डित एवं विचलित बनाउँदै लगेको छ । युद्धशास्त्रीहरू परिवर्तनका निमित्त युद्ध अनिवार्य रहेको वकालत गर्छन् । यद्यपि, त्यसपछिको परिणतिले ल्याउने युद्धभन्दा पनि त्रासदीपूर्ण अराजक स्थितिका बारेमा भने उनीहरू मौन रहन्छन् ।
आजभन्दा पच्चीस सय वर्ष पहिले नेपालकै भूमिमा बुद्धको जन्म भएको थियो । आज नेपालीले नेपाल बुद्ध जन्मिएको शान्तिभूमि हो भनेर गर्व गर्ने कुनै ठाउँ छैन किनकि यस शान्तिभूमि रणभूमिमा परिणत भएर थुप्रै रगत बगिसकेको छ । बुद्धले जतिसुकै शान्तिको पाठ पढाएको भए तापनि त्यसको अनुसरण गर्न नसक्दा नेपालीले युद्धको त्रासदी भोग्नु परेको मात्र हैन अपितु त्यसको मूल्य नराम्रोसँग चुकाउनुपर्ने अवस्थाको सिर्जना भएको छ ।
तत्कालीन कपिलवस्तु भन्ने शाक्यहरूको राज्यमा सिद्धार्थ कुमारको रूपमा जन्मिएका बुद्धको समयमा पनि शोषित र शासित जनताको बाहुल्यता कायम थियो । बुद्धकालीन समाजमा पनि जनता उत्पीडित थिए । जातीय, वर्गीय शोषण एवं पुरातन धर्मको आडमा वर्णभेद, लिंगभेद, तथा धार्मिक विभेद चरमोत्कर्षमा पुगेको हुँदा त्यतिबेला धेरै मान्छे विरक्तिएर सन्यासी भएर हिँडेका थिए । शाक्यहरूको छिमेकी राज्य कोलियमा पनि आर्य र अनार्य जनजातिबीच सधैँ मनमुटाव कायम रहन्थ्यो । शासकवर्ग एवं सामन्तहरूको थिचोमिचोबाट उन्मुक्ति खोज्दै आफ्नो पेटमात्र पाल्नका निमित्त भीख माग्दै भौतारिएर हिँड्नेको भीड यत्रतत्र थियो । बुद्धभन्दा पहिल्यैदेखि तत्कालीन समाजमा ‘परिवार जिकास’हरूको भीड लागेको थियो । परिवारजिकास भनेको परिवारविहीन अथवा परिवार छाडेर विरक्तिएर हिँड्ने समूह हो । यी सबै तथ्यलाई गहिरो अध्ययन र मनन गरी बुझेका बुद्धले मान्छेमा रहेको दु:ख निवारणका खातिर आफ्नो राज्यसत्ता र राजमहलको सुख सम्पन्न जीवन परित्याग गर्ने कठोर अठोट गरे । यसो गर्नुको पछाडि मान्छेलाई दु:खबाट मुक्ति दिने उपायको खोजी गर्नु नै उनको प्रमुख लक्ष्य थियो । नेपालपुत्र महामानव बुद्धको यस्तो कार्यको अनुकरण गर्न सक्ने क्षमता आजको नेपाल हाँक्ने राजनीतिक नेताहरूमा विकसित हुनुपर्ने खाँचो टड्कारो देखिन्छ ।
दरबारको सुखसयल र जीवनको मोह छाडेर केश मुण्डन गरी वनवन चाहार्दै दु:ख निवारणको उपाय खोज्दै हिँडेका बुद्धले अन्तत: जीवनका केही सार्थक र अत्यन्त महत्त्वपूर्ण सत्यहरू फेला पारे । प्रत्येक मान्छेको जीवन कष्टपूर्ण छ, उनको जीवनमा दु:खले सधैँ डेरा जमाउँछ । अर्थात्, मान्छेको जीवनको पहिलो सत्य भनेकै संसारमा दु:ख छ । तसर्थ, प्राणीमात्रलाई त्यस्तो दु:खबाट मुक्त गराई जीवन मरणको चक्करमा रुमल्लिनुनपर्ने निर्वाण मार्ग प्राप्त गराउनुनै बुद्ध धर्मको मूल उद्देश्य हो । पञ्चकामगुण विषय तथा भौतिक सुखमा मात्र लीन भएर वा त्यसमा आसक्त रहेर बस्नु एउटा अतिको कुरो हो । त्यसैगरी शरीरलाई अत्यन्त कष्ट दिएर हठचर्या गर्नु अर्को अति हो । त्यसकारण, भगवान् बुद्धले यी दुई अति क्रियाबाट छुट्टिएर मध्यमार्ग अपनाउनुपर्छ भन्ने सन्देश दिनुभएको छ । बुद्धका उपदेशअनुसार यस मध्यमार्ग अपनाउन आष्टांगिक गुणहरू अर्थात् सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति तथा सम्यक् समाधिको बोध गर्न सके हामीले मानव भएर मानवीय दु:खबाट विमुक्त रहने प्रयत्न गर्न सक्छौँ ।
नेपाली जनता अहिले विभिन्न ‘वाद’ र राजनीतिक विचारधारहरूमा विभाजित भएका छन् । त्यसमाथि जातीय र क्षेत्रीय आधारमा राज्य पुन: संरचनाको सवालले सबैलाई विभाजित मनस्थितिमा पुर्‍याइदिएको छ । राजनीतिक उथलपुथलपछि आएको बृहद् परिवर्तनले हरेक व्यक्तिमा परिवर्तनको मोह अतिको उत्कर्षमा पुगेको छ । सबै नेपाली चाहे जुनसुकै तहतप्काको होस, आफ्नो धरातलीय यथार्थ बिर्सिएर केवल आफू र आफ्नो जीवनशैलीमा परिवर्तन त्याउन लालायित् छन् । त्यस्तो परिवर्तनका निमित्त उनीहरू आफैँलाई जस्तोसुकै विचारधारामा सम्माहित गराउन तम्तयार देखिन्छन् । परिवर्तनको चाहनाको यस ‘अति’ले समाजमा विखण्डनको ‘अति’लाई निम्त्याएको प्रस्ट देखिन्छ । राजनीतिक विचारधारामा लाग्नु वैयक्तिक स्वतन्त्रताको कुरो हो । तर ‘नेपाली’ हुनुको अस्तित्वलाई नै बिर्सेर यदि सबै जनता राजनीतिक स्वार्थमा उन्मुख हुने हो भने त्यसले ल्याउने विचलनलाई कसले व्यवस्थापन गर्ने ? यसतर्फ हामी नेपालीले ध्यान पुर्‍याउन नसकेकै कारण परिवर्तनबाट प्राप्त स्वतन्त्रताको दुरूपयोग बढ्दै गएको उदाहरण हत्या, हिंसा, अराजकता, स(साना कुरामा पनि बन्द र हड्ताल गर्ने प्रवृत्तिको विकास, अपहरण आदि दिनहँु देख्न पाइन्छन् । यसतर्फ कुनै एक राजनीतिक दल वा तिनका प्रमुख नेता जिम्मेवार बन्नुपर्छ भन्ने रुग्ण मानसिकता हामीमा कायम छ । तसर्थ, यस्तो गहन सवालमा सबै नेपालीको ध्यान पुग्नु जरुरी छ । बुद्धको उपदेश अनुसरण गर्दै उनले दर्शाएको पथमा हिँड्ने हो भने जस्तोसुकै विवादित विषयलाई पनि मत मतान्तरबाट छुट्टयाएर समाधान पहिल्याउन गाह्रो पर्ने छैन । रिस, राग, द्वेष र ईष्र्याले कलह र द्वन्द मात्र सिर्जना गर्छ । यी अवगुणहरूबाट मुक्त हुनका निमित्त बुद्धको सन्देश पहिल्याउनु नै बुद्ध जयन्ती मनाउनुको सार्थकता रहनेछ । नेपालमा शान्त छाओस् र देशले छिट्टै आर्थिक क्रान्ति र समुन्नतिले बाटो पहिल्याउन सकोस् । अन्त्यमा ‘सव्व भवतु मंगलम्’ अर्थात् सबै प्राणीको कल्याण होस् भन्ने कामना बुद्ध जयन्तीको अवसरमा गरौँ ।

प्रतिक्रिया