वैद्यहरू मूल घरमै फर्कन्छन् : दाहाल

काठमाडौँ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मूल घर छोडेर बाहिरिएकाहरू एक दिन पुन: मूल घरमै फर्कने बताएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी परित्याग गरी पूर्वसभासद् रूपा विक, नवलपरासी जिल्ला इञ्चार्ज मित्रशरण शर्मासहित १८ जना नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको अवसरमा केन्द्रीय कार्यालयमा शनिबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी फुटाएर केही समय बाहिर रहेकाहरू पुन: पार्टीमै फर्कने बताएका हुन् ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसमेत कुरा बुझेपछि एमाओवादीमै फर्कने दाहालको भनाइ थियो । नेपालको कम्युनिस्ट आन्दोलनको केन्द्र एमाओवादी भएको र १० वर्षे जनयुद्ध कालमा नेपालमा एउटा मात्र कम्युनिस्ट केन्द्र बनाउने सपना देखेको र सो सपना केही समयपछि पूरा हुने दाहाले बताए । ‘पूरानै तरिकाले क्रान्ति सम्पन्न गर्ने भन्ने कुरा वस्तुगत र व्यावहारिक पनि हुन सक्दैन,’ एमाओवादी अध्यक्ष प्रचण्डले भने, ‘नेपालको आफ्नै मौलिकतामा क्रान्ति सम्पन्न हुन्छ र पार्टीले युद्धकालिन अवस्थामा सोचेको एउटै कम्युनिस्ट केन्द्र बन्ने सपना समेत पूरा हुन्छ ।’ (सौस)

प्रतिक्रिया