असन्तुष्ट दलहरू नरम हुँदै छन् : मन्त्री पन्त

काभ्रे, १२ जेठ । स्थानीय विकास मन्त्री छविराज पन्तले सरकारले आन्दोलनरत दलहरूसँगको वार्तालाई निष्कर्षमा पुर्‍याउन लागेको बताएका छन् । असन्तुष्ट दलहरू केही दिनको वार्ता पछि नरम हुँदै गएको उनले बताए ।
‘दलहरूसँगको वार्ता टुंगिने बित्तिकै निर्वाचनको मिति घोषणा हुन्छ’, मन्त्री पन्तले भने । नेपाली कांग्रेस निकट लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालको प्रथम क्षेत्रीय सम्मेलनको बनेपामा शनिबार उद्घाटन गर्दै मन्त्री पन्तले आन्दोलनरत दलहरू सहमतिको नजिक आइसकेको बताए । राजनीतिक दलहरूको विश्वासलाई गुम्न नदिने बताउँदै मन्त्री पन्तले पूर्वकर्मचारीहरूलाई विश्वास गरेकोमा धन्यवादसमेत दिए ।
केही दिन यता प्रमुख गरी नेपाली कांग्रेस र एमालेका नेताहरूले सरकार लरबराउन थालेको भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै मन्त्री पन्तले सरकारले चाँडै दलहरूको सहमतिमै निर्वाचनको मिति घोषणा गरी दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउने बताए । राज्यसँगको सम्बन्ध कम हुँदै गएको बेला देशभरका गैरसरकारी संस्थाहरूले राज्यको काम गरेको प्रसंग उक्काउँदै मन्त्री पन्तले नेपालमा दर्ता भएका ३० हजार सामाजिक संस्थाको संख्या घटाउन र गुणस्तरमा ध्यान दिन सुझाव दिए । सामाजिक तथा गैरसरकारी संस्थाहरूको दर्तामा नभई त्यसले गर्ने काम र क्षेत्रलाई फराकिलो बनाउँदै जाने हो भने नेपालमा यति धेरै संस्था आवश्यक नभएको उनको भनाइ थियो ।
आइतबारसम्म चल्ने सम्मेलनको उद्घाटन कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव रविन्द्रमान यादव, लोकतान्त्रिक गैरसरकार संस्था महासंघका अध्यक्ष रमेश धमला, क्षेत्रीय संयोजक निशान ढुंगेल, संस्थापक डेकेन्द्र पुडासैनी,  प्रचण्ड प्रधानलगायतले मन्तव्य राखेका थिए । गैरसरकारी संस्था महासंघमा नेपाली कांग्रेसका उम्मेदवारहरू पराजित भएपछि कांग्रस निकट गैरसरकारी संस्थाहरूले छुट्टै महासंघ गठन गरेका हुन् ।

प्रतिक्रिया