स्वर्गद्वारीमा पूर्णिमा मेला

sworgdwariप्युठान, १२ जेठ । प्युठानको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा लाग्ने मेलामध्ये महत्त्वपूर्ण र ठूलो मेला मानिने वैशाख पूर्णिमा मेला भर्न शुक्रबार बेलुकादेखि हजारौँ भक्तजनले दर्शन गरेका छन् ।
नेपालकै प्रशिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा हेरक वर्ष बुद्धजयन्तीका अवसरमा भव्य रूपमा वैशाख पूर्णिमा मेला लाग्ने गर्छ । यहाँ लाग्ने मेलामध्ये सबैभन्दा महत्त्वपूर्ण र ठूलो पर्वका रूपमा वैशाख पूर्णिमा मेलालाई लिइन्छ ।
पूर्णिमाको दिन यज्ञ आरम्भ भएकाले यस अवसरमा मेला भर्न आउनेहरूको अघिल्लो दिनदेखि नै दर्शन गर्ने तीर्थालुको घुइँचो लाग्ने गर्छ । स्वर्गद्वारी आश्रमका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि धार्मिक पर्यटकको संख्या उत्साहजनक रहेको छ । आश्रमका कोठारी हरि अधिकारी अनुसार शनिबार दिउँसोसम्म सात हजार बढी भक्तजनहरूले दर्शन गरेको र आन्तरिक दर्शनार्थी आउने क्रम जारी छ ।
स्वर्गद्वारीमा विशेष गरी वैशाख पूर्णिमा, गाई तिहारे औँसी, बडादसँै, माघेसंक्रान्ति जस्ता समयमा ठूलो मेला लााग्ने गर्दछ भने अन्य समयमा पनि दिनदिनै पुजापाठ र मेला लागि नै रहन्छ । यहाँ पुजापाठ तथा मठमन्दिरको अवलोकन गरेमा आफूले चाहेको पूरा हुने जनविश्वास छ ।
बुद्ध जयन्तीको अघिल्लो रात आश्रममा रातभर जाग्राम बसी भजनकीर्तन गरिन्छ भने अर्को दिन भव्य मेला गरिन्छ । यहाँ बलिबाहेक नरिवल, धूप, भेटी, अक्षता, कपडा, ध्वजा, जां, तिललगायतका विभिन्न प्रकारका सामानहरू चढाउने गरिन्छ । मन्दिरमा पुजा गर्नका लागि मानिसहरू तीनदिनदेखि दश दिनसम्म हिँडेरै आउने गर्छन् ।
स्वर्गद्वारी आउनेहरूका लागि ऐतिहासिक मनोरम तलाउ, पाँच पाण्डव स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, विसं १९५२ सालदेखि सञ्चालनमा आएको वेद पाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका गाई, विभिन्न मठमन्दिर, आश्रमको यज्ञशालाको दक्षिण भु–भागमा रहेको ठूलो बाँझको वृक्षलगायत पर्यटक तथा दर्शनार्थीहरूका लागि मुख्य आकर्षण मानिन्छन् ।
यस्तै विश्व शान्तिका लागि एक सय १९ वर्षदेखि निरन्तर रूपमा हवन विधिबाट बलिरहेको अखण्ड द्वीप, वेदमन्त्रद्वारा प्रकट गरेको अग्निद्वारा सञ्चालित यज्ञ कुण्ड स्वर्गद्वारीको विशेष आकर्षण हो । वेदमन्त्रद्वारा पूजा गरिने उक्त हवनकुण्डको विभूति प्रसादका रूपमा ग्रहण गरिन्छ । उक्त विभूति ग्रहण गर्दा रोगव्याधी नलाग्ने विश्वास छ ।

प्रतिक्रिया