दुर्घटना तीन जनाको मृत्यू/३२ यात्र घाईते

okhaldhungaकाठमाडौं, ११ जेठ । संखुवासभा, ओखलढुङगा र सिराहामा भएका अलग/अलग सवारी दुर्घटनामा तीन जनाको मृत्यू भएको छ ।
दुर्घटनामा ३२ यात्रु घाईते भएका छन् । घाईते मध्ये केही यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
संखुवासभाको खादवारी नगरपालिका–१३ मा आज (शनिबार) विहान यात्रु बोकेको ट्याक्सी दुर्घटना हुँदा तीन वर्षीया बालिकाको मृत्यू भएको छ ।
सेवाबेसीबाट धनकुटा हिलेतर्फ जादै गरेको को.१ ज १५९६ नम्वरको ट्याक्सी दुर्घटनामा भोजपुर जिल्ला कुदाकाउले–६ बस्ने माया बास्तोलाकी ३ बर्षीया छोरी नम्रता बास्तोलको घटनास्थलमै मृत्यू भएको हो ।
दुर्घटनामा चालकसहित १६ यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि तुम्लिङटार क्लिनिक र घोपा अस्पताल धरानमा लगिएको छ ।
यता, ओखलढुंगाको केतुके–३ मा बस दुर्घटना हुँदा झापा चन्द्रगडी घर भएका ६३ वर्षीय दीनानाथ घिमिरेको मृत्यू भएको छ । काटारीतर्फ जाँदै गरेको ना.२ ख ४९९७ नम्वरको बस आज (शनिबार) विहान पौने सात बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि मिसन अस्पतालमा लगिएको छ ।
त्यसै गरी, सिराहा जिल्लामा ट्याक्टर दुर्घटना हुँदा ममहरीया–८ निवासी २५ वर्षीय गन्नु यादवको मृत्यू भएको छ । यादवले सोही ट्याक्टरमा मजदुरी गर्दै आएका थिए ।
सिराहा नगरपालिका–५ स्थित मनाफा चोकमा बालुवा लोड गरेको स.१ त १०७७ नम्वरको ट्याक्टर आज (शनिबार) मध्यान्ह अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया