युनियनको महाधिवेशन जेठ अन्तिम साता

काठमाडौं ११ जेठ । नेपाल संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो महाधिवेशन जेठको अन्तिम साता काठमाडौंमा गर्न लागेको जनाएको छ ।
युनियनले आज (शनिबार) राजधानीमा पत्रकार सम्मेलन गरेर कीर्तिपुरमा जेठ २५ र २६ गते महाधिवेशन गर्न लागेको जानकारी गराएको हो । अध्यक्ष होमकुमार थापाले विगतमा सरोकार पक्षसँग भएका सहमति कार्यान्वयन नभए महाधिवेशन पछि आन्दोलन गर्ने बताए । उनले सरकारले आफूहरुले अघि सारेका पेशागत मागलाई वेवास्ता गरेको आरोप लगाए ।
शिक्षा क्षेत्रमा भएको वैदेशिक हस्तक्षेप, विदेशी वोर्डहरु सीवीएससी, आईसीएससी तत्काल हटाउनुपर्ने, कम्पनी ऐनको खारेज गर्नुपर्ने द्वैध शिक्षा नीतिको अन्त्य हुनुपर्ने, पेशागत सुनिश्चितता ग्यारेण्टी हुनुपर्ने, राष्ट्रियता विरोधी पाठ्य पुस्तकहरु हटाउनुपर्ने माग युनियनले राखेको छ ।
युनियनमा पूर्व प्राविदेखि उच्च माविसम्म कार्यरत सम्पूर्ण संस्थागत विद्यालयका शिक्षक कर्मचारी आवद्ध छन् । ६३ हजार सदस्य रहेको युनियनमा ४२ जिल्लामा जिल्ला समिति पनि छ । महाधिवेशनमा ३ सय ५० प्रतिनिधि र पर्यव्यक्षकले भाग लिने छन् ।

प्रतिक्रिया