प्रहरीले उठायो महतोलाई

rajendraकाठमाडौं, ११ जेठ । चार दिनदेखि आमरण अनशनमा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई शुक्रबार प्रहरीले अनशनस्थलबाट उठाएर अस्पतालमा पुर्‍याएको छ ।
संविधानसभा चुनावको मिति घोषणालगायतका माग राखी रत्नपार्कस्थित शान्तिवाटिकामा अनसन बसेका महतोको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि प्रहरीले उठाएर उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएको हो । महतोको अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ । डायबिटिज र उच्च रक्तचापका बिरामी महतो अनशनका कारण रगतमा नुनको मात्रामा कमी आई पिसाबमा एसिटोन देखिन थालेको थियो ।
महतोलाई उठाउन खोज्दा उनका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडमा सद्भावना महासचिव मनीषकुमार सुमन, केन्द्रीय सदस्यहरू अर्जुन उप्रेती र उपेन्द्र महतोलगायत केही कार्यकर्ता घाइते भएका छन् । शान्तिपूर्ण रूपमा अनशनमा बसेका महतोलाई सरकारले माग सम्बोधन गर्नुको साटो जवर्जस्ती हटाएको महासचिव सुमनले बताए । शान्तिपूर्ण आन्दोलन गर्न पाउने हकलाई सरकारले कुण्ठित गरेको उनले आरोप लगाए ।
बिहीबार साँझ सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले महतोलाई भेटेर अनशन तोड्न आग्रह गरेका थिए । सरकारसँग पटकपटक छलफल भए पनि सहमति हुन नसकेपछि मंगलबारदेखि महतो अनशनमा बसेका थिए ।
महतोको रगतमा नुनको मात्रामा कम भएको  र पिसाबमा एसिटोन पोजिटिभ देखिएपछि चिकित्सकले अनसन तोड्न सुझाव दिएका थिए । सद्भावनाले चुनावको मिति घोषणा, निर्वाचन क्षेत्र पुन:निर्धारण आयोग गठन, शान्तिवार्तामा आएका तराईका सशस्त्र समूहलाई चुनावी प्रक्रियाबाट मूलधारमा ल्याउनुपर्ने, नेपाल भारत सीमामा भारतीय रुपियाँ सटही काउन्टर स्थापना, मल खादका लागि राहत दिनुपर्ने, सवैधानिक निकायमा समानुपातिक समावेशी नियुक्ती गर्नुपर्नेलगायत १० बँुदे माग राखेका थिए ।

प्रतिक्रिया