उभौली आजदेखि

काठमाडौं : किरात धर्मावलम्बीले मनाउने गरेको उभौली चाड आज सुरु हुँदै छ । किरात धर्मावलम्बीले उभौली (वैशाख पूर्णिमा) र उधौली (मंसिर पूर्णिमा)लाई विशेष चाडका रूपमा वर्षमा दुईपटक मनाउने गरेका छन् । प्रकृतिपूजक किरातीहरूले उभौली र उधौलीमा प्रकृति र पितृलाई सम्झने गर्छन् । उनीहरू आपसमा भेला भई साकेवा, साकेन्ला नाची शुभकामना आदान–प्रदान गर्ने चलन  छ ।
उभौली चाडका अवसरमा राष्ट्रपति डा. रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका किरात धर्मावलम्बीमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा विविध सांस्कृतिक परम्पराबाट समृद्ध हाम्रो मुलुकमा यसप्रकारका चाडपर्वको संरक्षण र सम्वद्र्धनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्त्वपूर्ण टेवा मिल्ने उल्लेख छ  ।
अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले पनि उभौली चाडका अवसरमा शुभकामना दिएका छन् । रेग्मीले शुभकामना सन्देश दिँदै धार्मिक सहिष्णुता, जातीय सहअस्तित्व र साम्प्रदायिक सु­सम्बन्ध नेपाली समाजमा उदाहरणीय रहेको र नेपालमा मनाइने थुप्रै चाडपर्वको आ–आफ्नै महत्त्व र सांस्कृतिक मान्यता रहिआएको उल्लेख गरेका छन् । (सौस)

प्रतिक्रिया