उग्रवामपन्थीका कारण लोकतन्त्र संस्थागत भएन : पौडेल

काठमाडौं, ११ जेठ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले उग्रवामपन्थी र उग्रदक्षिणपन्थीका कारण लोकतन्त्रको संस्थागत विकास हुन नसकेको बताएका छन् । उग्रवामपन्थीका कारण आन्दोलनले ल्याएको परिवर्तन संस्थागत हुन नसकेको पौडेलको भनाइ छ ।
राजधानीमा शुक्रबार नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ वाल्मीकि विद्यापीठ एकाइले गरेको कार्यक्रममा उपसभापति पौडेलले यस्तो बताएका हुन् । ‘जनता संकटको समाधान चाहन्छन् र देशमा विकास चाहन्छन् तर देशमा राजनेताको अभावमा शब्द प्रपञ्च रचेर जनता झुक्याउने तथा यथार्थलाई ढाकछोप गर्ने काम भएको छ,’ उनले भने । उनले नेताहरूमा एउटा बोल्ने र अर्को काम गर्ने परिपार्टी मुलुकको प्रगतिको बाधक बनेको बताए ।
उनले राजनीतिक दलहरू मिल्न नसकेका कारण प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपरेको उल्लेख गरे । उनले भने, ‘जे हुनु भइसक्यो, अबको निकास भनेको संविधानसभा चुनावबाहेक अर्को विकल्प छैन ।’ मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘कुनै पनि बहाना निकालेर चुनाव टार्न हुँदैन ।’

प्रतिक्रिया